

झापा- झापाका ६ वटा स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध १४औँ पटक आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ। कन्काई नगरपालिका, अर्जुनधारा नगरपालिका , झापा गाउँपालिका , बाह्रदशी गाउँपालिका , कचनकवल गाउँपालिका, र हल्दिवारी गाउँपालिकामा उक्त अभियान सन्चालन हुने भएको हो। जिल्ला स्वास्थ्य कार्यालय झापाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी दिएको हो।
कार्यालयका अनुसार हात्तीपाइले (लिम्फेटिक फाइलेरियासिस) रोग Wuchereria bancrofti नामक परजीवीका कारण हुने गर्दछ, जसलाई नेपालमा प्रायः Culex जातको लामखुट्टेले सार्ने गर्छ। प्रारम्भिक चरणमा धेरैजसो संक्रमितमा लक्षण नदेखिए पनि समयक्रममा खुट्टा, हात, अण्डकोष, स्तनलगायत शरीरका विभिन्न अंगहरू सुन्निने समस्या देखिने गर्दछ।

जिल्ला स्वास्थ्य कार्यालयले विश्व स्वास्थ्य संगठन(who) को सिफारिसअनुसार सञ्चालन भइरहेको विश्वव्यापी हात्तीपाइले निवारण कार्यक्रम (GPELF) अन्तर्गत समुदायस्तरमा संक्रमण रोक्न आम औषधि सेवन अभियानलाई निरन्तरता दिइएको जनाएको छ। यस अभियानमार्फत औषधि सेवनले संक्रमणको शृङ्खला तोड्न र भविष्यमा हुने अपाङ्गता रोक्न मद्दत पुग्ने विश्वास लिइएको छ।
पत्रकार भेटघाट कार्यक्रममा फेयरमेट सहयोगी संस्थाका प्रतिनिधि रविन्द्र खनियाले अभियान सफल बनाउन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै लक्षित सबै नागरिकलाई औषधि सेवन गर्न आग्रह गरे।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हात्तीपाइले औषधि सेवनबाट रोक्न सकिने रोग भएकाले अभियान अवधिमा स्वास्थ्यकर्मी तथा स्वयंसेवकमार्फत घर–घरमा पुगेर औषधि वितरण गरिनेछ।




