Aamsanchar

झापाको बिर्तामोड र अर्जुनधारामा लाखौं रुपैयाँ बराबरको सुन, चाँदी र नगद चोरी

Author Image
शुक्रवार, माघ १६, २०८२

झापा – झापामा प्रहरी निर्वाचन केन्द्रित अभियानमा जुट्न थालेपछि चोरीका घटना बढ्न थालेको छ । बिहीबार राति झापाको बिर्तामोड र अर्जुनधारामा लाखौं रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

बिर्तामोड नगरपालिका–१, पञ्चकन्या प्लटिङस्थित पुनमदेवी साहको दुई तले घरमा कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले सुत्ने कोठाको ताल्चा फुटाई दराजभित्र राखिएको नगद तथा गरगहना चोरी गरेको जानकारी पाएर प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चोरीमा विभिन्न सुनका गरगहना ६ तोला, चाँदीका गरगहना १२ तोला र नगद २० हजार रुपियाँ गरी अन्दाजी १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी अर्जुनधारा नगरपालिका–९, कालीस्थान सिरानमा पनि चोरीको अर्को घटना भएको जनाइएको छ । स्थानीय नारद पोख्रेलको घरमा पनि चोरी भएको छ । प्रहरीले घटनाको विषयमा बुझ्ने र आवश्यक जानकारी लिने काम गरिरहेको खड्काले बताउनुभएको छ ।

दुई जना अपरिचित व्यक्ति घरभित्र प्रवेश गरी दराज खोली सुनका गरगहना २ तोला, चाँदीका गरगहना ३ तोला, नगद ५५ हजार रुपियाँ र भिभो कम्पनीको एक थान मोबाइल फोन चोरी गरी लगेको पाखरेलले जनाउनुभयो । करिब ८ लाख रुपियाँ बराबर चोरी भएको पोखरेलले जनाउनुभयो ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर