Aamsanchar

उपचारका लागि जुटेको अभूतपूर्व सहयोगप्रति कप्तान सावित्रा भण्डारी (साम्बा) कृतज्ञ, थप सहयोग रोक्न आग्रह

Author Image
मङ्गलवार, फागुन १२, २०८२

झापा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि स्वदेश तथा विदेशबाट प्राप्त भएको अभूतपूर्व सहयोगप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै अब थप आर्थिक सहयोग नगर्न अनुरोध गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत भावुक सन्देश जारी गर्दै भण्डारीले पछिल्लो २४ घण्टामा आफूले पाएको साथ, विश्वास र मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन् । “आर्थिक रूपमा यहाँहरूले उपचार खर्च जुटाइदिनुभयो नै, साथ र वाचाले मलाई अझ बलियो बनाएको छ,” उनले भनिन्, “यही उर्जाले म शल्यक्रिया र पुनस्र्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।”

उनका अनुसार उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भइसकेको छ । विभिन्न संघ–संस्था तथा प्रायोजकहरूले थप नगद र सुविधा सहयोगको प्रतिबद्धता समेत जनाएका छन्, जसले कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात खर्चसमेत धान्ने देखिएको छ ।

भण्डारीले कतारमा रहेका नेपाली समुदाय तथा संस्थाहरूले पनि सहयोग गर्ने वाचा गरेको उल्लेख गर्दै अब दुवै खातामा रकम जम्मा नगर्न अनुरोध गरिन् ।

उनले आफू आबद्ध क्लब वेलिङ्टन फिनिक्सले शल्यक्रिया र पुनस्र्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गर्दै उपचार प्रक्रिया सहज बनाइरहेको जानकारी दिइन् । छिट्टै शल्यक्रियाको मिति तय हुने विश्वास व्यक्त गर्दै उनले चोटले शारीरिक मात्र होइन मानसिक रूपमा पनि थकाएको तर समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताइन् ।

“म एक्लो छैन भन्ने विश्वास तपाईंहरूले दिनुभएको छ,” उनले भनिन्, “म दृढ संकल्पका साथ भन्छु—म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु । फेरि नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु ।”

भण्डारीले आफूले खेल जीवनमा कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा वा उपाधि नभई जनताको माया, भरोसा र समर्थन रहेको उल्लेख गर्दै आफ्नो वास्तविक धन्यवाद भनेकै मैदानमा पुनरागमन हुने बताइन् ।

“तपाईंहरूको माया र समर्थनको साँचो धन्यवाद मेरो पुनरागमन हुनेछ,” उनले भनिन्, “देशका लागि फेरि जित्ने प्रतिबद्धता व्यक्त गर्छु । चाँडै मैदानमा भेटौँला ।”

Views: 1

प्रतिक्रिया (०)

सम्बन्धित खबर