Aamsanchar

आत्महत्या : पीडाभित्रको आवाज

Author Image
शनिवार, फागुन ३०, २०८२

यस विषयमा लेखिएको यो लेख शृङ्खलाको पहिलो भाग हो, जसले हामीलाई आत्महत्या जस्तो अकल्पनीय मृत्युलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे एकपटक गम्भीरतापूर्वक सोच्न बाध्य बनाउने उद्देश्य राखेको छ।

कसैको मृत्यु भएमा हामी सहानुभूति दर्शाउन कर्तव्य ठानेर पुग्छौं। सान्त्वनाका शब्दद्वारा मृतक परिवारको शोकलाई साहसमा बदल्न सहयोग पनि गर्छौं। ती आत्मीयता र सहानुभूतिका शब्दहरूले शोकसन्तप्त परिवारलाई ठूलो हिम्मत दिन्छन् र जीवन अगाडि बढाउन आत्मबल पनि बढाउँछन्।

तर जब व्यक्तिको मृत्यु प्राकृतिक नभई आत्महत्याबाट हुन्छ, तब हाम्रो व्यवहार फरक हुन्छ। हामी धेरै निर्णायक र कठोर बन्न पुग्छौं। आत्महत्या एउटा त्रासदीपूर्ण र अत्यन्त दुःखद घटना हो। तर पनि हामी यसलाई आफ्नो ज्यान लिनु मूर्खता वा कायरता भन्दै पापको दर्जा दिन्छौं।

यस्ता घटनालाई कानुन र सामाजिक नियमविपरीत ठानिन्छ। पीडित परिवारलाई सहानुभूति त दिइन्छ, तर त्यससँगै धेरै प्रश्नहरू पनि उठाइन्छन्। परिवारका प्रिय व्यक्तिलाई दुःखी, पागल वा स्वार्थी जस्ता शब्दहरूले सम्बोधन गरिन्छ। यी शब्दहरू कहिलेकाहीँ प्रत्यक्ष त कहिलेकाहीँ अप्रत्यक्ष रूपमा प्रकट हुन्छन्।

आत्महत्याको विषयमा चर्चा गरियो भने मानिसहरूमा नकारात्मक असर पर्छ कि भन्ने डर पनि समाजमा देखिन्छ। अझ धेरै आत्महत्याका घटना हुन सक्छन् भन्ने त्रास व्यक्त गरिन्छ। त्यसैले आत्महत्या गर्ने व्यक्तिलाई सजिलै कमजोर ठान्ने प्रवृत्ति पनि छ।

तर भन्न सजिलो छ, भोग्नु गाह्रो। कसैले यस्तो कदम चाल्नु अघि उसले भोगिरहेको पीडा, तनाव र जोखिम कति गहिरो थियो भन्ने कुरा हामीलाई थाहा हुँदैन। वास्तवमा हामी सबै कुनै न कुनै रूपमा जोखिममा हुन सक्छौं। आफू जोखिममा छु भनेर स्वीकार गर्नु कायरता होइन। बरु निराशा र चिन्तामा रहेको व्यक्तिले आफ्नो अवस्था परिवार वा नजिकका मानिससँग साझा गर्न सके भने आत्महत्या जस्तो पीडादायी निर्णयबाट बच्न सक्ने सम्भावना बढ्छ।

मानिसले जीवनमा धेरै अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्छ—विछोड, मृत्यु, तनाव, दुःख आदि। धेरैजसो अवस्थामा समस्या आएपछि मात्र कारण र परिणामबारे बुझिन्छ। कतिपय सम्भावित घटनाहरूको पूर्वानुमान समेत गरिएको हुँदैन। तर यदि यस्ता घटनाहरूलाई ध्यान दिएर अध्ययन गरियो भने तिनको नियन्त्रणका उपाय खोज्न सकिने तथ्य अनुसन्धानहरूले देखाएका छन्।

प्राकृतिक मृत्युमा हामी चित्त बुझाउँछौं। तर दुर्घटना वा आत्महत्या जस्ता अकाल मृत्युलाई सहज रूपमा स्वीकार गर्न सक्दैनौं। तीमध्ये पनि आत्महत्यालाई समाजले अपराध र हीन दृष्टिकोणबाट मूल्याङ्कन गर्ने प्रवृत्ति देखिन्छ।

घरपरिवारले आफ्ना सदस्य गुमाएको पीडा सहनु परिरहेको हुन्छ, तर त्यससँगै समाजले कसरी व्याख्या गर्छ भन्ने चिन्ताले उनीहरूलाई थप पीडित बनाउँछ। हाम्रो समाजमा मृत्युको पनि वर्गीकरण गरिएको पाइन्छ—कालगति र अगति। विशेष गरी आत्महत्यालाई कलङ्कका रूपमा हेरिन्छ।

सामाजिक संस्कारमा यसलाई लज्जा, शर्म र डरको विषय बनाइएको छ। कानुनी प्रक्रियासँग जोडिएका कारण धेरै मानिसहरू मानसिक समस्या र पीडाबारे खुलेर बोल्न चाहँदैनन्। परिणामतः आवश्यक मानसिक स्वास्थ्य सेवा र सामाजिक सहयोग प्राप्त गर्न कठिन हुन्छ।

मलाई अझै सम्झना छ—जुन दिन मेरो श्रीमानले आफ्नो जीवन समाप्त गर्नुभयो, सोही दिन हाम्रो गाउँमा अर्को व्यक्तिले पनि आत्महत्या गरेको खबर आयो। केही दिनभित्रै १५ जना मानिसहरूले आफ्नो जीवन समाप्त गरेको समाचार सुन्नुपर्‍यो।

विभिन्न तथ्यांकहरू हेर्दा पनि हाम्रो समाजमा धेरै परिवारहरूले बुवा, आमा, छोरा, भाइ वा श्रीमान गुमाउनु परेको देखिन्छ। विशेष गरी महिलाभन्दा पुरुषमा आत्महत्याको संख्या बढी रहेको पाइन्छ। तथापि यस्ता घटनाहरू सबै रिपोर्ट नहुने भएकाले वास्तविक तथ्यांक अझ फरक हुन सक्छ।

त्यो दिनको घटना सम्झिँदा आज पनि मन काँप्छ। जब मैले आफ्ना श्रीमानलाई मृत अवस्थामा भेटेँ, त्यस क्षण मेरो अवस्था कस्तो थियो भनेर कल्पना गर्न पनि गाह्रो हुन्छ। मानौँ सारा पृथ्वीले मलाई थिचिरहेको थियो। मेरो सिउँदो पुछिएको थियो। मलाई सधैँ खुशी राख्न चाहने मेरो जीवनसाथीले साथ छाडिसक्नुभएको थियो।

उहाँको निर्जीव शरीर भुइँमा राखिएको थियो। म बेहोसीको अवस्थामा थिएँ, तर कतैबाट आवाज आइरहेको थियो—“मृत्युको कारण हृदयघात हो भन्नुपर्छ।” म पनि केहीबेर दोधारमा परेँ—के आत्महत्या पाप वा अपराध हो ?

घरपरिवार र समाज सबैले उहाँको प्रतिष्ठाको विषयमा चिन्ता व्यक्त गरिरहेका थिए। “किन यस्तो भयो ?” भन्ने प्रश्नको जवाफ म, धर्मपत्नीलाई सोधिएको थियो।

नेपालमा आत्महत्यालाई प्रायः अपराधजस्तो गरी हेरिन्छ, विशेषगरी प्रहरीको संलग्नताका कारण घटना गम्भीर कानुनी प्रक्रियामा जान्छ। तर वास्तविकता के हो भने आत्महत्या अपराध होइन। यो सहायताको संकेत हो—पीडाको आवाज हो, रोदनको अभिव्यक्ति हो।

यस्तो अवस्थामा परिवारले लज्जाबोध गर्नुपर्ने होइन। समाजमा “आत्महत्या सरुवा रोग जस्तो हुन्छ” भन्ने भ्रम पनि पाइन्छ। तर यस्तो सोच प्रायः संयोग मात्र हुन्छ।

मेरो श्रीमानको आत्महत्यापछि छिमेकी भाइले पनि आत्महत्या गर्नुभयो। तर त्यसलाई समाजले आपसमा सम्बन्ध जोडेर व्याख्या गर्‍यो। वास्तवमा यस्तो विषयमा खुला रूपमा चर्चा गर्नु नै रोकथामको पहिलो कदम हो।

यदि मेरो श्रीमानले आफ्ना मनभित्रका पीडा वा समस्या परिवारसँग साझा गर्नुभएको भए सायद समाधान खोज्न सकिन्थ्यो।

समाजले पुरुषलाई सर्वश्रेष्ठ शक्तिको रूपमा हेर्छ। जन्मसँगै परिवारको वंश अगाडि बढाउने व्यक्तिको रूपमा चिनिन्छ। त्यसैले पुरुषलाई छोरा, बाबु, श्रीमान वा दाजुभाइको भूमिकामा जिम्मेवार बनाइन्छ।

तर हाम्रो पुरुषप्रधान संस्कारले उनीहरूलाई आफ्ना कमजोरी वा पीडा व्यक्त गर्न दिँदैन। मैले आफ्नै परिवारमा पनि यही अनुभव गरेँ। मेरा श्रीमानले आफ्ना समस्याहरू सधैँ आफैभित्र राख्नुभयो। हामी साथ दिन तयार थियौं, तर उहाँले कहिल्यै साथ माग्नुभएन।

यसैले अन्तिम समयसम्म सबै कुरा सामान्य नै छ भन्ने लागिरह्यो। उहाँभित्रको पीडा र छटपटीको गहिराइ मैले बुझ्नै पाइनँ।

आज सोच्दा लाग्छ—पुरुषहरू आफूलाई बलियो, आर्थिक रूपमा सफल र भावनात्मक रूपमा अडिग देखाउन बाध्य महसुस गर्छन्। यही दबाब पनि पुरुष आत्महत्याको एउटा ठूलो कारण बन्न सक्छ।

लामो समयसम्म भावनाहरू दबाएर राख्दा मानसिक दबाब बढ्दै जान्छ। परिवारको अपेक्षा पूरा गर्न नसक्दा लाज, असफलता र हीन भावना जन्मन सक्छ। त्यसले भित्रभित्रै ठूलो संघर्ष सिर्जना गर्छ।

त्यसैले परिवार र समाजले पुरुषलाई पनि आफ्ना भावना व्यक्त गर्न सुरक्षित वातावरण दिनु आवश्यक छ। मानसिक स्वास्थ्यको विषयमा खुला रूपमा कुरा गर्नु र मद्दत माग्नु लाज मान्नुपर्ने कुरा होइन भन्ने बुझाउन सक्नु आजको ठूलो आवश्यकता हो।

Views: 8

प्रतिक्रिया (०)