Aamsanchar

नेपालका लागि बन्दुकदेखि कलमसम्मको यात्रा गरेका दान खालिङलाई मरणोपरान्त ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान’

Author Image
शनिवार, फागुन ३०, २०८२

बिर्तामोड। भारतको दार्जिलिङमा जन्मिएर जीवनको अधिकांश समय नेपालमै बिताउँदै नेपाली भाषा, साहित्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका प्रख्यात साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान मरणोपरान्त प्रदान गरिएको छ।

जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान, झापाले शनिबार बिर्तामोडमा आयोजित समारोहमा नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त सम्मान खालिङकी बहिनी नवामी खालिङसहित परिवारलाई हस्तान्तरण गरेको हो।

प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी राजेश खड्का प्रमुख अतिथिका रूपमा उपस्थित रहेर सम्मान प्रदान गरेका थिए।

दार्जिलिङमा जन्मिएका खालिङले आफ्नो जीवनको ठूलो समय नेपालमा बिताउँदै नेपाली भाषा, साहित्य र शिक्षाको उन्नयनमा उल्लेखनीय योगदान दिएका थिए। उनी मूलतः साहित्यकार भए पनि अनुवाद, शिक्षण तथा सामाजिक चेतनाका क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए।

खालिङको वास्तविक नाम डानियल खालिङ हो। युवावस्थामा उनले दार्जिलिङमै प्रजातान्त्रिक आन्दोलनका नेता बीपी कोइरालासँग भेट गरेपछि राजनीतिक तथा सामाजिक आन्दोलनबाट प्रभावित भएका थिए। त्यसपछि उनले अध्ययन नै त्यागेर २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै बन्दुक बोकेर नेपाल प्रवेश गरेका थिए। इलामको पशुपतिनगर नाकाबाट नेपाल छिरेर उनले सशस्त्र आन्दोलनमा भाग लिएको उल्लेख पाइन्छ।

प्रजातान्त्रिक आन्दोलन सफल भएपछि भने उनले राजनीतिक सक्रियता त्याग्दै आफूलाई साहित्य र शिक्षाको क्षेत्रमा समर्पित गरे। भाषा शास्त्री महानन्द सापकोटासँगको संगतले उनलाई लेखन र शिक्षणतर्फ उन्मुख बनाएको बताइन्छ। उनले झापाका विभिन्न विद्यालयमा अध्यापन गर्दै शिक्षा क्षेत्रलाई योगदान दिएका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत रहिसकेका खालिङ नेपाली साहित्यमा अनुवादकका रूपमा विशेष रूपमा चिनिन्छन्। उनले नेपाली कविहरूका विभिन्न कृतिहरू अंग्रेजीमा अनुवाद गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए।

जीवनको उत्तरार्धमा दार्जिलिङमै बसोबास गर्दै आएका खालिङको निधनपछि त्यहाँको सिंहमारी क्षेत्रमा अन्त्येष्टि गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष बस्नेतका अनुसार समाज रूपान्तरण, भाषा–साहित्य संरक्षण तथा शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै यस वर्षको सम्मान खालिङलाई प्रदान गरिएको हो।

कार्यक्रममा भारतीय साहित्यकार ज्ञानेन्द्र खतिवडाले स्वर्गीय खालिङलाई स्मरण गर्दै नेपाली भाषा र साहित्यको समृद्धिमा दार्जिलिङ क्षेत्रको योगदानबारे चर्चा गरेका थिए।

प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने अग्रज पत्रकार चन्द्र भण्डारीले खालिङको व्यक्तित्व र योगदानमाथि चर्चा गरेका थिए। कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव स्वस्तिका आचार्यले गरेकी थिइन्।

यसै अवसरमा लिटल फ्लावर इङ्लिस स्कूलका तर्फबाट विद्यालयका संस्थापक तथा प्रमुख अतिथि खड्काले १ लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए। त्यस्तै टावर टेम्पल स्कूलले २५ हजार रुपैयाँसहित सम्मान जनाएको थियो। झापाका अन्य विभिन्न संघ–संस्थाले पनि खालिङको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गरेका थिए।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर