

काठमाडौं –काँक्रेविहार युथ क्लबले राष्ट्रिय लिगमा नवौँ हार व्यहोरेको छ । आइतबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा शीर्ष डिभिजन क्लब जावलाखेल युथ क्लबले काँक्रेविहारलाई ४–१ ले पराजित गरेको हो ।

जावलाखेलको जितमा निकोलस ओडानी हामिल्टनले दुई गोल गरे भने बौबाकार सिसोखो र विकास दर्लामी मगरले समान एक–एक गोल गरे । जवाफमा काँक्रेविहारका दीपेन्द्र चुनाराले एक गोल फर्काए ।
खेलको छैटौँ मिनेटमा दीपेन्द्रले काँक्रेविहारलाई अग्रता दिलाए । तर, काँक्रेविहारले यो अग्रता लामो समयसम्म जोगाउन सकेन । १६औँ मिनेटमा सिसोखोले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए ।

५०औँ मिनेटमा हामिल्टनले गोल गर्दै जावलाखेललाई २–१ को अग्रतमा राखे । ६४औँ मिनेटमा विकासले अग्रतामा एक गोल थपे । इन्जुरी टाइममा उनै हामिल्टनले दोस्रो व्यक्तिगत गोल गरेपछि, जावलाखेलले ४–१ को जित निकालेको हो ।
जितसँगै जावलाखेलले प्रतियोगितामा १३ अंक जोडेको छ ।
जावलाखेलले १० खेल खेल्दा चार जित, एक बराबरी र पाँच हार भोगेको छ । पराजित काँक्रेविहार भने एक अंकमा सीमित छ । तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काक्रेविहारले १० खेलमा एक बराबरीबाट एक जोडेको हो ।


