झापा । जिल्ला प्रहरी कार्यालय झापा ले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमहरूमा प्रकाशित “इलाका प्रहरी कार्यालय अनारमनी ले १३ वर्षीया बालिकालाई कुटपिट गरी हिरासतमा राखेको” भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयले ती समाचारहरू तथ्यहीन र भ्रामक भएको दाबी गर्दै प्रहरीको व्यावसायिक छविमा आँच पु¥याउने उद्देश्यले प्रचार गरिएको जनाएको छ ।

के हो वास्तविकता ?
प्रहरीका अनुसार पछिल्लो समय झापाका विभिन्न स्थानमा चोरी तथा लागूऔषध कारोबारका घटनाहरू बढ्दै गएको सूचनाका आधारमा मिति २०८२ फागुन २९ गते राति ११ः३० बजे बिर्तामोड–४ मियाबारीमा संयुक्त टोली खटिएको थियो। उक्त टोलीमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा सहभागी थिए ।
खानतलासीका क्रममा २८ वर्षीया मसिना खातुनको कोठाबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ६ लाख ३५ हजार ४६०, भारतीय रुपैयाँ २ लाख ४६ हजार, करिब ३ तोला सुन र ४ तोला चाँदीका गहना बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सामग्री चोरीसँग सम्बन्धित हुन सक्ने आशंकामा खातुनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

बालिकामाथि कुटपिट नभएको दाबी
प्रहरीका अनुसार खातुनका श्रीमान् घटनास्थलमा फेला नपरेकाले उनीसँगै रहेकी उनकी १४ वर्षीया छोरी आशिका खातुनलाई सुरक्षाको दृष्टिकोणले महिला पुनःस्थापना केन्द्रमा जिम्मा लगाइएको हो। बालिकामाथि कुनै पनि प्रकारको कुटपिट वा दुव्र्यवहार नगरिएको स्पष्ट पारिएको छ । यसैबीच, चैत ४ गते साँझ ८ः१० बजे उक्त बालिकालाई उनकी फुपु संन्जेरी खातुनको जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ ।
आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह
घटनाको वास्तविकता नबुझी समाचार प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै प्रहरीले जिम्मेवार र आधिकारिक स्रोतबाट मात्र सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।



