Aamsanchar

नेपाल ‘ए’ले अमेरिकालाई तीन विकेटले हरायो

Author Image
शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं –नेपाल ‘ए’ले एकदिवसीय अभ्यास श्रृंखलामा अमेरिकालाई तीन विकेटले पराजित गरेको छ । श्रृंखलामा यो नेपाल ‘ए’को लगातार दोस्रो जित हो । घरेलु टोलीले यसअघि भएको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको थियो ।

शुक्रबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले ४९.१ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । नेपाल ‘ए’को जितमा मयन यादवले ७२ रनको अर्धशतकीय पारी खेले । मयनले ८० बलमा चार चौका र दुई छक्का प्रहार गरे । सन्दीप जोराले ३६ रन जोडे । कुशल मल्लले ३३ रन बनाउँदा कप्तान अनिलकुमार साहले २७ रन, पवन सराफले २४, तृतराज दासले २३, बसिर अहमले १८, र देव खनालले १७ रन बनाए ।

अमेरिकाका निम्ति मिलिन्द कुमारले दुई विकेट लिए । सौरभ नेत्रावाल्कर, नोस्तुस केन्जिगे, रुसिल उगरकार, हर्मित सिंह र सञ्जय कृष्णमूर्थीले समान एक विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले नेपाल ‘ए’ विरुद्ध निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रनको योगफल खडा गरेको थियो । अमेरिकाका निम्ति ओपनर स्मित पटेलले ११६ रनको शतकीय इनिङ खेले । पटेललले १०८ बलमा १० चौका र पाँच छक्का प्रहार गरे । अविजित रहेका जसदीप सिंहले ३३ रन बनाए । हर्मित सिंहले २५ रन बनाउँदा मोनांक पटेलले २०, शुभम राञ्जनेले १६, सञ्जय कृष्णमूर्थीले १५ र साइतेजा मुकामालाले १० रन बनाए ।

नेपालका पवन सराफले दुई विकेट लिए । विपीन खत्री, साहब आलम, बसिर अहमद, शेर मल्ल, रशिद खान र नारायण जोशीले समान एक विकेट लिए । हारसँगै अमेरिकाले श्रृंखलामा खराब सुरुआत गरेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को पूर्वसन्ध्यामा यो श्रृंखलाको आयोजना गरिएको हो । यसपछि, अमेरिकाले नेपालसँग लिग–२ अन्र्तगत स्कटल्यान्ड र नेपाल सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने तालिका छ ।

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर