Aamsanchar

झापामा निर्वाचन व्यवस्थापन तयारी तिव्र/कर्मचारी र प्रहरी गरी १० हजार बढी जनशक्ति खटाइने

Author Image
सोमवार, मंसिर ४, २०७४

(पार्थ मण्डल)

भद्रपुर ।

मंसीर २१ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै झापा जिल्लामा निर्वाचन व्यवस्थापन कार्यलाई तिव्रता दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय झापा र झापा प्रशासनले जिल्लामा हुने मतदान र मतगणनालाई शान्तिपूर्ण, सहज र सरल रुपमा सम्पन्न गराउने कसरतमा जुटेका छन् ।

अहिले निर्वाचन कार्यालयहरुले मतदानमा खटिने कर्मचारी र मतदाता सामग्री व्यवस्थापन गर्ने बिषयमा लागि परेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लामा निर्वाचन साम्रगी निर्वाचन आयोगबाट नआइसकेकोले मतदानमा खटाइने कर्मचारीहरुको छनौट कार्य भइरहेको छ । साथै जिल्लामा मतदाता शिक्षाका लागि नगर तथा गाउँमा कर्मचारीलाई घरदैलोमा खटाइसकेका उनले बताए ।

जिल्लाको निर्वाचन सुरक्षा रणीनितको बारेमा जिल्ला सुरक्षा समितिमा पनि छलफल जारी रहेको बताइएको छ । झापामा १५ वटा स्थानीय तह र १३१ वडा रहेको छ । सोही स्थानीय तहलाई मिलाएर झापामा ५ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि झापा सात निर्वाचन क्षेत्र थियो । ५ निर्वाचन क्षेत्र बनाएसँगै निर्वाचन क्षेत्रको भौगोलिक वनावट पनि वृहत बनेको छ । झापाबाट प्रतिनिधिसभा पाँच र प्रदेशसभा १० जना निर्वाचित हुने छ । १५ पदका लागि १४१ जना उम्मेदवार बनेका छन् । झापामा ५ लाख ८५ हजार १६६ मतदाता रहेको छ ।

झापामा मतदाता शिक्षा कार्यक्रम सुरु

जिल्ला निर्वाचन कार्यालयले झापा जिल्लाका प्रत्येक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि कर्मचारी खटाइसकेको छ । एक हजार मतदाता बराबर एक जना कर्मचारी खटाइसकेको निर्वाचन अधिकारी आचार्यले बताए । उनका अनुसार झापामा ६९३ जना कर्मचारी खटाइएको छ ।

सामाजिक परिचालक, बाल शिक्षक र प्रावि शिक्षकलाई मतदाता शिक्षामा खटाइएको हो । स्थानीय तहमा बदर मत बढी खसेको देखिएकोले यसपटक मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहसंग सहकार्य गरेर सञ्चालन गरिदैछ । स्थानीय तहमा गठित समितिले नै मतदाता शिक्षा कार्यक्रममा खटिने कर्मचारीहरुको अनुगमन गर्ने निर्वाचन अधिकारी आचार्यले बताए ।

मतदाता शिक्षा कार्यक्रमका लागि आयोगबाट प्रयाप्त सामग्री उपल्बध नभएको अवस्था केही समस्या परेको छ । तरपनि समय अभावलाई ख्याल गर्दै प्राप्त सामग्री दिएर घरदैलोमा पठासकेको उनले बताए ।

झापामा ५५३६ कर्मचारी खटाइने

झापामा २८३ मतदान स्थलमा ६९२ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा ६३६ मतदान केन्द्र रहेको थियो । मतदाता संख्या थपिएसँगै निर्वाचन क्षेत्र फेरबल भएपछि ५५ वटा स्थल थप गरिएको निर्वाचन अधिकारी आचार्यले बताए । झापामा ५ हजार ५ सय ३६ कर्मचारी खटिने छ ।

एउटा निर्वाचन स्थलमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुई जना सहयोगी कर्मचारी गरी आठ जनाको टोली खटिने छ । जिल्लामा निजामति कर्मचारी, संस्थान र शिक्षक गरी १४५० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको छनौट भइसकेको छ । उनीहरुलाई छनौट गरी क्षेत्र अनुसारको स्थापना गरिएको निर्वाचन कार्यालयमा नामावली पठासकेको छ ।

अव उनीहरुलाई चाडै मतदान गराउने सम्बन्धित दुई दिने प्रशिक्षण दिइने छ । बाँकी अन्य कर्मचारीको छनौट कार्य पनि धमाधम भइरहेको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।

मतदानको सुरक्षा अवस्था यस्तो छ –

जिल्ला प्रहरी कार्यालय झापाले मतदानका दिन परिचालन गरिने सुरक्षा व्यवस्थाका लागि रणनीति बनाइसकेको छ । झापामा २८३ मतदान स्थललाई सुरक्षाको दृष्टिकोले झापा प्रहरीले तीन चरणमा विभाजन गरिसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार झापामा ४९ वटा अतिसंवेदनशिल, १०५ वटा संवेदनशिल र १२९ वटा सामान्य गरी मतदान स्थलको विभाजन गरिसकेका छौ ।

झापा क्षेत्र नम्बर ५ मा सबै भन्दा बढी १४ वटा अतिसंवेदनशिल मतदान स्थल रहेको छ भने, झापा क्षेत्र नम्बर ३ मा ११ वटा र बाँकी १, २ र ४ वटा क्षेत्रमा ८÷८ वटा अतिसंवेदनशिल मतदानस्थल रहेको नायव प्रहरी उपरीक्षक बस्नेतले बताए । भारतीय खुल्ला सीमावर्ती क्षेत्रसंग जोडिएको मतदान स्थल रहेकोले सुरक्षाको दृष्टिकोणले सोही अनुसारमा विभाजन गरिएको उनले बताए ।

केन्द्रीय सुरक्षा परिचालन निति अनुसार झापामा २ हजार प्रहरी र २७५५ म्यादी प्रहरी गरी ४७५५ प्रहरी खटाइने छ । अतिसंवेदनशील स्थलमा चार प्रहरी र १० म्यादी प्रहरी, संवेदनशीलमा तीन प्रहरी र सात म्यादी प्रहरी, सामान्यमा तीन प्रहरी र पाँच म्यादी प्रहरी खटाइने छ । साथै प्रत्येक क्षेत्रमा सात वटा मोवाईल प्रहरी गस्ती पनि परिचालन गरिने छ, भने सशस्त्र प्रहरी र नेपाली सेना पनि खटाइने छ ।

क्षेत्रगत मतगणना स्थल कहाँ पर्छ ?

झापाको सदरमुकाम भद्रपुरमा मुख्यसहित पाँच वटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा झापा क्षेत्र १ र ३ को कार्यालय स्थापना गरिएको छ ।

झापा क्षेत्र नम्बर २ को जिल्ला शिक्षा कार्यालय, क्षेत्र नम्बर ४ को जिल्ला स्काउट कार्यालय र क्षेत्र नम्बर ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको हो ।

आयोगले तोकिएको बमोजिम झापा क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिस खिलानाथ रेग्मी, निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौका इजलास अधिकृत शिवप्रसाद पराजुलीलाई झापा क्षेत्र नम्बर १, सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मालाई झापा क्षेत्र २, सर्वोच्चका इजलास अधिकृत प्रेम खड्कालाई झापा क्षेत्र नम्बर ४ र इजलास अधिकृत शकुन्तला कार्कीलाई झापा क्षेत्र नम्बर ५ मा खटाएका छन् ।

सोही क्षेत्रबाट मतदान र मतगणनाका लागि कर्मचारी खटाउनुका साथै मतगणना पनि त्यही हुने निर्वाचन कार्यालयले जनाएको छ ।

Views: 428

प्रतिक्रिया (०)