बिर्तामोड । झापा अर्जुनधारा –११ देउनिया टोलमा वस्दै आएकी सुकमायाले १५ वर्षअघि श्रीमान् वेदनिधीलाल श्रीवास्तवलाई गुमाइन् । एक छोरा ,एक छोरीकी आमा उनले छोरीलाई पनि विवाह गरेर पठाएपछि छोरालाई हुर्काउने र घर व्यवहार सम्हाल्ने जिम्मेवारी आफ्नै काँधमा लिइन् ।
सम्पत्तिको नाममा केही नभएकी उनले अर्काको घरमा मजदुरी गर्दै आफू र छोरो पाल्दै आइन् । आफूलाई पाल्ने छोरोपनि टिबी (क्षयरोग) रोगले सिकिस्त भएपछि अहिले उनलाई छोरोलाई उपचार कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । अहिलेसम्म छिमेकीले छोराको उपचार गर्न सहयोग गरेपनि त्यो दिर्घकालसम्म नहुने उनी बताउँछिन् ।
जहाँ मजदुरी गर्यो त्यहिं जे दिन्छन् त्यहि खाने र त्यहिं वस्दै गर्दै आएकी उनलाई पछिल्लो समय त्यसरी वस्न पनि समस्या भयो ।
वस्ने घर र खाने अन्न नभएकी उनलाई झापा अर्जुनधारा –११ देउनिया टोलका श्याम गिरीले छ महिना अघि सानो कटेरो वनाइदिएर ओत लाग्ने ठाउँ दिए ।
सामान्य टिनको वेरा लगाएर वनाएको घर पनि अहिले भत्किसकेको छ, असार साउनको चुहिँदो झरीमा पानि चुहिएर चिसो भुईंमा कष्टपूर्ण रुपमा एक्लै बस्दै आएकी उनलाई सर्पको भय पनि त्यस्तै हुन्थ्यो । ओत लाग्ने ठाउँ भएपनि खाने अन्न नभएर भोकोपेटले रात कटाउँदा उनी विक्षिप्त हुन्थिन् ।
कष्टपूर्ण जीवन गुजार्दै आएकी सुकमायाले विहीवार भने केही खुशीको अनुभव गर्न पाइन् । जीवन यसरी नै वित्छ भन्ने सम्झेकी उनले समाजमा मनकारी व्यक्तिहरु प्नि वस्दा रहेछन् भन्ने अनुभव गरिन् ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले विहीवार सुकमायाको घर पुनर्निर्माण गर्नुका साथै ओड्ने–ओच्छ्याउने लत्ताकपडा , खाना पकाउने ,खाने भाडाकुँडा , लगाउने कपडा, जुत्ता चप्पल,खाने अन्न लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरेपछि उनको मुहारमा खुशीयाली छाएको थियो ।
उनले भनिन् –गरीवलाई हेर्ने भगवान हुन्छन् भन्ने सुनेको थिएँ ,आज आफैंले अनुभव गर्न पाएँ । तपाईंहरु मेरो भगवान भएर आउनु भयो । अव मर्दापनि ढुक्कले सास जान्छ ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारी , रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारी,रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारीले उनको घर पुनर्निर्माण गरिदिँदा र सुकमायालाई सामाग्री वितरण गर्दा छिमेकीहरु पनि आश्चर्यचकित भएर त्यो दृश्य हेरीरहेका थिए । उनीहरु भन्दै थिए – गरीवलाई हेर्ने पनि दिन आउँछन् भन्ने सुनेको थियौं , हो रहेछ , अव सुकमायाको जीवन उज्यालो हुने भयो ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारीहरुले गत जुलाई १ तारिकदेखि सन् २०२० –२०२१को जिम्मेवारी सम्हाले लगत्तै पहिलो कार्यक्रमको रुपमा यो कार्यक्रम गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले वताइन् ।
आमाको खुशी नाम दिइएको कार्यक्रममा वृद्ध आमाको मुहारमा खुशी ल्याउने उद्धेश्यले सुकमायालाई गाँस , वास र कपासको व्यवस्था गरिएको उनले वताइन् ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलको अध्यक्षता तथा अर्जुनधारा –११ का वडाध्यक्ष भैरववहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी भाइस प्रेसिडेन्ट जमुना भुषालले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष भैरववहादुर खड्काले इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले एउटी वृद्धालाई गाँस , वास र कपासको व्यवस्था गरेर अनुकरणीय कार्य गरेको बताए ।
त्यस्तै रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पे्रसिडेन्ट प्रशान्त भण्डारीले इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका महिलाहरुले मानवताको सेवा नै जीवनको प्रमुख लक्ष्य हो भन्ने उक्तिलाई आत्मसात गर्दै दीनदुःखी मातालाई सहयोग गरेको भन्दै उक्त कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा –११ का वडाध्यक्ष भैरववहादुर खड्का, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पे्रसिडेन्ट प्रशान्त भण्डारी, सेक्रेटरी सिद्धार्थ नवीन उप्रेती ,क्लव सर्भिस कोअर्डिनेटर सुजित वंशल , मिडिया पर्सन तुलसीप्रसाद निरौला , ,रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट प्रकृति न्यौपाने ,मेम्वर सोनु कोइराला , इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, भाइस प्रेसिडेन्ट जमुना भुषाल ,सेक्रेटरी सम्झना भण्डारी , आइयसओ मनिका अग्रवाल , ट्रेजरर वर्षा राजभण्डारी , मेम्वर अनिता शर्माले सुकमायालाई सामाग्री हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा असहाय महिला सरस्वति लुङ्गेली मगरलाई समेत सहयोग गरिएको थियो । कार्यक्रमको सञ्चालन इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी ,सेक्रेटरी सम्झना भण्डारीले गरेकी थिइन् ।