Aamsanchar

रहस्य यस्तो छ बुद्ध जयन्तीको

Author Image
शनिवार, जेठ ८, २०७३

buddha

विश्व शान्तीका अग्रदुत भगवान् गौतम वुद्धको २५ सय ६०औं जन्म जयन्ती, आज (२०७३ जेठ ८ गते शनिबार) विश्वभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । बौद्ध धर्मका अनुयायीहरुले वुद्धलाई एक सम्यक सम्बुद्ध अर्थात महाज्ञान प्राप्त भएका व्यक्तिका रुपमा पुज्दछन् । वुद्ध जयन्तिका अवसरमा नेपाल सहित विश्वभरका वुद्ध धर्मावलम्बीहरुले वुद्धका सन्देशयुक्त प्रवचनहरु सुनाउँदछन् । धर्मसभाहरु आयोजना गर्दछन् । वुद्ध जयन्तीका अवसरमा बौद्धविहार, मठ तथा गुम्बाहरुमा विशेष कार्यक्रम हुने गर्दछ भने वौद्ध तिर्थस्थल लुम्बिनी र काठमाडौंको स्वयम्भूमा ठुलो मेला लाग्दछ । आज वुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरका लाखौं बौद्ध धर्मावलम्बी, भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरु वुद्धप्रति श्रद्धाभाव प्रकट गर्न सहभागी हुन्छन् ।

गौतम वुद्ध बौद्ध धर्मका प्रणेता हुन् । शाक्यवंशीय परिवारमा जन्मिएका कारण उनलाई शाक्य मुनि गौतम वुद्ध पनि भनिन्छ । उनले बोधगयामा कठोर तपस्या ध्यान पश्चात महाज्ञान प्राप्त गरेका थिए । वुद्धका सवै शिक्षा र उपदेशहरुको संग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा वुद्धका ३२ भौतिक गुणहरुको स-विस्तार वर्णन गरिएको छ । त्यहाँ वुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञानसुत्रहरु संग्रहित छ्न् । वुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य-समुत्पाद हो । आधारभुत गुणहरु अनित्य, दु:ख र अनात्मलाई वुद्धका आधारभुत सिद्धान्त मानिन्छ । गौतम वुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरु मध्ये एक अवतार मान्दछन् । गौतम वुद्धलाई एसियाका तारा पनि भनिन्छ । वुद्ध नेपालभुमीमा जन्मिएको हुँदा वुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिंदै आएको छ । वुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । वुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा तत्कालिन तिलौराकोट राज्यका शाक्यवंशीय राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रुपमा बैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ (गौतम वुद्ध) को जन्म भएको थियो । असित ऋषिले वुद्धको पहिलो नाम सिद्धार्थ राखिदिएका थिए । वुद्धको जन्म र मृत्युको वास्तविक तिथि मिति यकिन नभए पनि अधिकांश इतिहासकारहरुले ५६३ ईशापूर्वताका बैशाख शुक्ल पूर्णिमाको दिन जन्म भएको बताएकाछन् । मायादेवी देवदहमा रहेको आफ्नो माइत जाने क्रममा बाटोमा लुम्बिनी भन्ने ठाउँ पुगिन् । त्यहाँ पुग्दा उनलाई प्रसव वेदना भएपछि आराम गर्दै बसिन् । मायादेवी पुष्करिणी सरोवरको किनारमा रहेको रुखको फेदमा सुस्ताउँदैगर्दा शिशु सिद्धार्थको जन्म भयो ।

वुद्धको ४८६ देखि ४८३ ईशापूर्वताका बैशाख शुक्ल पूर्णिमाकै दिन मृत्यू भएको बताइएको छ । वुद्धले ज्ञान समेत बैशाख शुक्ल पूर्णिमाकै दिन प्राप्त गरेको उल्लेख छ । वुद्धले जीवनकालका ३ दशक पिता शुद्धोदनको राज्यभित्रको सुखमा बिताएका थिए । राजकुमारका रुपमा उनको विवाह यशोधरा नामकी युवतीसँग भएको थियो । उनीहरुको कोखबाट पुत्र समेत जन्मिए । ति पुत्रको नाम राहुल थियो । सुखमा जीवन बिताए पनि वुद्ध संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनि सँधै चिन्तित हुन्थे । उनी वयश्क हुँदा पनि हरेक कुरामा संवेदनशिल र चिन्तनशील हुन्थे । उनले बुढो र रोगी मानिसहरु देखे । मानिसहरु मरेको पनि देखे । यसबाट उनमा झन धेरै बैराग्यता र नैराश्यता पैदा भयो । उनी मानिस किन रोगी हुन्छ ? किन बुढो हुन्छ ? के कारणले मर्छ ? भन्ने कुरामा चिन्तन मनन् गर्न थाले । यस्ता कुराले उनलाई झनझन बैरागी बनाउँदै लग्यो । यस्तै प्रश्नको उत्तर खोज्ने प्रण सहित दरबार र राज्य त्यागको चरणमा पुगेका सिद्धार्थले बाबूको उत्तराधिकारी राज्य प्रमुखको समेत पर्वाह नगरी एकदिन राति सुटुक्क दरवार छोडेर हिंडे । यसरी सांसारिक दु:खको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग गरी बोधगया भन्ने ठाउँमा एक बृक्ष मुनि अधिष्ठानपूर्वक तपश्यामा लिन भए । तपश्याका क्रममा वुद्धलाई सम्यक सम्वोधि अर्थात महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरुमा उनले त्यहि महाज्ञानलाई बाँडे र संसारभर भगवान् वुद्ध भनि कहलिए । वुद्ध धर्म एक अनिश्वरवादी धर्म हो । यो धर्म शाक्यमुनि गौतम वुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम वुद्धलाई वर्तमान कल्पको चौथौं सम्यक सम्बुद्ध मानिन्छ । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।

यसैविच भगवान् गौतम वुद्धबारेका अनेकौं भ्रमहरुलाई चिर्न वुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्यलाई संसारभर फैलाउनका लागि ‘वुद्ध बर्न इन नेपाल’ नामक चलचित्र निर्माण भई प्रदर्शनमा आएको छ । उक्त चलचित्रमा वुद्ध नेपालभुमि लुम्बिनीमा जन्मेका हुन् भन्ने कुरालाई तथ्यपरक ढंगले प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर