Aamsanchar

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

काठमाडौः

KP-oli-240x152

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह गर्दै उसले सहजीकरण गरेको परिमार्जित संविधान संशोधन विधेयकलाई कुनै पनि हालतमा संसद्मा अघि बढ्न नदिने अडान एमालेले लिएको छ ।

सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावको सुरुदेखि नै चर्को विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले कुनै हालतमा त्यसलाई अघि बढ्न नदिने अडान लिएको हो । संशोधन प्रस्तावविरुद्ध भइरहेको आन्दोलनलाई अझ सशक्त पारेर अघि बढ्ने निर्णय गर्दै उसले नेपालको आन्तरिक मामिलामा चलखेल नगर्न छिमेकी भारतलाई चेतावनीसमेत दिएको छ ।

एमालेले उक्त विधेयकविरुद्ध सदन तथा सडकमा जारी आन्दोलनलाई निरन्तरता दिँदै यसविरुद्ध रहेका सबै राजनीतिक दल र संघसंगठनलाई केन्द्र र स्थानीय निकायमा समेत एकताबद्ध बनाउँदै सशक्त पार्ने निर्णय गरेको छ । ‘हामी कुनै पनि हालतमा संसद् चल्न दिँदैनौं ।

सरकारले चुनाव घोषणा गर्न सक्छ तर त्यसको सर्तमा संविधान संशोधन गर्न सक्दैन’, आफ्नै निवास बालकोटमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिँदै भने, ‘संशोधन प्रस्तावविरुद्ध जारी आन्दोलनलाई सशक्त पारेर अगाडि बढाउनूस् ।’

नेपालका लागि भारतीय राजदूत रन्जित रेले संविधान संशोधनमा एमालेलाई आफूले मनाउने भनी केही नेतालाई आश्वस्त पारिरहेका बेला बैठकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न उसलाई चेतावनी दिएको छ ।

राजदूत रेले शनिबार संविधान संशोधन पक्षमा मधेसी मोर्चा र सरकारसँग पहल गरिरहेका थिए । संसद्मा आफ्नो सहमतिबिना संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)