Aamsanchar

निचाझोडा सिमसार पर्यटकीय क्षेत्र बन्ने

Author Image
शनिवार, माघ ८, २०७३

झापाको दुहागढीस्थित निचाझोडा सिमसार पर्यटकीय स्थलको चौतर्फी व्यवस्थापनका लागि बजेट विनियोजन भएको छ । हातेमालो वन उपभोक्ता समिति अन्तरगतको वनभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटकीय सिमसार क्षेत्र नामाकरण गरेको २ वर्षपछि बजेट विनियोजन भएको हो ।
निर्वाचन क्षेत्र विकास कोषले १३ लाख, संसद विकास कोषबाट ३ लाख, दुहागढी गाविसबाट २ लाख र उपभोक्ताबाट २ लाख गरी २० लाख बजेटमा पर्यटकीयस्थलको विकास पक्का हुने भएको हो । उक्त बजेट शुक्रबार हातेमालो वन उपभोक्ता समितिको कार्यकक्षमा आयोजित अन्तरक्रियामा जानकारी गराइएको छ । वनका पदाधिकारी, प्रतिनिधि तथा उपभोक्ताबीच आयोजित अन्तरक्रियामा पर्यटकीय क्षेत्रको चौतफी विकासका लागि वन समितिले नै कार्ययोजना बनाई अघि बढ्ने जनाएको छ भने, पछि अधिकार प्रत्यायोजन गर्ने गरी गठन गरिएको निचाझोडा सिमसार पर्यटकीय स्थल विकास निर्माण उपसमितिमा चार जना सदस्य चयन गरिएको छ । कृष्णराज सिग्देल अध्यक्षसहित ७ सदस्यीय समितिमा बद्री महत, प्रकाश उप्रेती, कमला तामाङ र राधिका सुब्बालाई चयन गरिएको हो । उपसमितिमा ११ सदस्य छन् ।
त्यसैगरी अर्जुन थेवे संयोजक रहने गरी ७ सदस्यीय अनुगमन समिति समेत चयन गरिएको छ ।
हातेमालो वन उपभोक्ता परिसरभित्र ३२ विगाह जमिन सिमसार क्षेत्र भएकाले उक्त क्षेत्रको विकाससँगै रमणीय पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिपरेको उपसमितिका संयोजक कृष्णराज सिग्देलले जानकारी दिए ।
दुहागढी गाविसका सचिव कविन्द्रविक्रम नेम्बाङको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेम्बाङले आगामी बजेटबाट पर्यटन क्षेत्रको विकासमा उचित सम्बोधन गर्ने बताए । कार्यक्रममा अर्जुुन थेवे, चन्द्र सिग्देल, जीवन प्रसाई, राम प्याकुरेल, टीका पौडेल, पर्शुराम राजवंशी, कृष्ण सिग्देल सविना बजगाई, बद्री महत, प्रकाश उप्रेती, ज्योतिकिरण रिजाल, अभिनारायण मैनाली, यामाकान्त पौडेल लगायतले सुझाव दिएका थिए ।
कार्यवहाक अध्यक्ष कुमार मेचेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको सञ्चालन बद्री भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)