Aamsanchar

हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा दिइने

Author Image
बिहिवार, चैत १०, २०७३

काठमाडौँ।

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गराउने उद्देश्यले ‘स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजना’ का विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ ।

स्थानीय तहको निर्वाचन सुरक्षाको तयारीको पछिल्लो अवस्थाबारेमा जानकारी लिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । छलफलमा आयोगका पदाधिकारीले सुरक्षा तयारीका विषयमा कमजोरी हुन नपाओस् भनेर थप सुझाव पनि दिनुभएको थियो । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानपछिको मतपेटिका ढुवानी, मतगणनाको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा समेत सचेत र चनाखो रही सुरक्षा व्यवस्था हुने गरी काम गर्न निर्देशन दिनुभयो ।

निर्वाचन आयोग, उच्चस्तरीय सुरक्षा समितिका संयोजकसमेत रहनुभएका आयुक्त सुधीरकुमार शाहले गृह मन्त्रालयबाट प्राप्त सुरक्षा योजनाप्रति सन्तोष व्यक्त गर्दै केही विषयमा थप स्पष्ट गर्न र कार्यान्वयनयोग्य सुरक्षा योजनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।

गृहसचिव लोकदर्शन रेग्मीले क्षेत्रीयदेखि वडास्तरसम्म सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको र हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा सुनिश्चितता दिने किसिमले मन्त्रालय अगाडि बढेको जानकारी गराउनुभयोे । छलफलमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सचिव गोपीनाथ मैनाली पनि सहभागी हुनुहुन्थ्यो ।

यसैगरी निमित्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी विनोदकुमार श्रेष्ठसमेत सहभागी हुनुहुन्थ्यो ।

मतपत्र छपाइ जारी

स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा जारी छ । यही चैत ६ गतेदेखि सुरु भएको छपाइका क्रममा १२ जिल्लाका मतपत्र छापिइसकेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)