Aamsanchar

हात्तीलाई जाँडरक्सीको लत लागेपछि !

Author Image
आइतवार, चैत १३, २०७३

[लक्ष्मीप्रसाद उपाध्याय]

काठमाडौं । 

मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ ।  यस्तै भएको छ, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वस्तीमा ।  निकुञ्जबाट निस्केर हात्ती बस्तीमा पस्छन् र खोजी खोजी जाँड रक्सी खान्छन्, अनि घर भत्काउने, मान्छे मार्ने जस्ता कार्य गर्दै आएका छन् ।
आठ महिनादेखि लगातार रुपमा मात्तिएका हात्तीको झुण्ड बस्तीमा पसेर धनजनको क्षति पु¥याउन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ ।  यस अवधिमा हात्तीले कुनै पनि दिन बस्ती छाडेको छैन ।
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले भन्नुभयो– “एउटा बस्तीबाट भगायो अर्काे बस्तीमा छिर्छन्, अर्काे बस्तीबाट धपायो फेरि पहिलेको बस्तीमा पस्छन् ।  जाँड रक्सीका भाँडा खोजेर घरभित्र पस्छन् ।  अनि मात्तिएर हानि नोक्सानी पु¥याउँ छन् ।  यस अवधिमा बर्दियामा हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ भने लाखौँ रुपियाँ बराबरको भौतिक क्षति भइसकेको छ ।
निकुञ्ज प्रमुख रमेशकुमार थापाका अनुसार हरेक दिन मात्तिएका हात्ती बस्तीमा पस्न थालेपछि हात्ती भगाउन डोजरको प्रयोग गर्न थालिएको छ ।  उहाँले भन्नुभयो– “पहिले पहिले मानिसले आगोले तर्साउँदा, सिट्ठी बजाउँदा पनि हात्ती भाग्थे तर आजभोलि ट्याक्टरले तर्साउँदासमेत हात्तीले बस्ती नछोड्ने भएपछि हात्ती प्रभावित गाउँ बस्तीमा डोजर तैनाथ गरिएको छ ।  अब त डोजरले धपाउँदासमेत नमान्ने भइसक्यो । ”
मध्यवर्ती क्षेत्रका अध्यक्ष आचार्यले अनुसार गाउँघरमा भएका ट्याक्टर, गाडीको सहायताले यसअघि हात्ती भगाउने गरेको भए पनि पछिल्लो पटक जाँड, रक्सी खाएर मात्तिएको हात्तीले ट्याक्टर र सानातिना गाडीको डर नमान्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयोे– “खाद्यान्न त सधैँ खाने गथ्र्याे हात्तीले ।  यस पटकबाट रक्सीको भाँडो खोजीखोजी खाने गरेको छ ।  मात्तिएको हात्तीको अगाडि कसको के लाग्यो ? भेटेको जति मान्छे मार्छ, कच्ची घर मात्र होइन अहिले पक्की घर पनि भत्काउन थालेको छ । ”
मध्यवर्ती क्षेत्रमा हात्तीले घरभित्र गएर जाँड रक्सी खाई उदण्ड मच्चाउन थालेपछि स्थानीय बासिन्दाले जाँड रक्सी बनाउन प्रतिबन्ध लगाउनु पर्ने मागसमेत राखेका छन् ।  मध्यवर्ती क्षेत्र कर्मलाका धनीराम चौधरीले भन्नुभयोे– “अब घर घरमा जाँड रक्सी बनाउन पनि छोड्नुप¥यो ।  जाँड रक्सी खान पल्केका हात्ती बस्ती नछाड्ने भएपछि गाउँमा जाँड, रक्सी बनाउन बन्द गर्नुपर्छ । ”
मध्यवर्ती क्षेत्रका पाताभार, भोला, मनाउ, ठाकुरद्वारा, सूर्य पटुवाको पत्थरबोझी र डाँडागाउँ, शिवपुरको वनखेत, बालाती क्षेत्रको कर्मला र न्याउलापुर, रम्भापुर र बगनाहा क्षेत्रमा हात्तीले दिउँसै आतङ्क मच्चाउन थालेको छ ।  ती वस्तीमा स्थानीय बासिन्दा रातभर जाग्रम बस्नु पर्ने अवस्था रहेको निकुञ्जका प्रमुख थापाले जानकारी दिनु भयो ।
प्रमुख संरक्षण अधिकृत थापाले भन्नुभयो – “पहिला पहिला आगो र बन्दुकको आवाजले भाग्ने हात्ती आजभोलि भाग्न छोडेका छन् ।  मात्तिएको हात्तीलाई लठ्ठिने औषधिले डार्ट गरेर शिथिल बनाएपछि शारीरिक रुपमा कमजोर हुने तर पुनः तंग्रिएपछि भागेर जंगल पस्ने गरेका छन् । ”गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)