Aamsanchar

विराटनगर विमानस्थल अझै केही दिन बन्द रहने

Author Image
बिहिवार, भदौ १, २०७४

विराटनगर :

तीन दिनसम्मको अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण अवरुद्ध विराटनगर विमानस्थल अझै सुचारु हुन सकेको छैन। बाढीले विमानस्थलमा एक फिट हिलो जम्मा भएकोले अहिले सफा गर्ने काम भइरहेको छ।

मोरङको बुढीगंगा गाउँपालिकास्थित केशलिया खोलाले सिँचाईको बाँध भत्काएर विराटनगरमा छिरेको पानीले विमानस्थललाई जलमग्न बनाएको थियो। रनवे, ट्याक्सीवे, टर्मिनल भवन र सुरक्षानिकायको ब्यारेकमा ३ देखि ४ फिटसम्म पानी जमेको थियो।

वर्षा रोकिएसंगै विमानस्थलमा जमेको पानी सुकेको छ। तर रनवे र ट्याक्सीवेमा एक फिटसम्म हिलो र लेदो थुप्रिएकोले अझै केही दिन उडान सञ्चालन गर्न नसकिने नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंहले बताए।

नेपाली सेनाको सहयोगमा नागरिक उड्डयन कार्यालयले विराटनगर विमानस्थलको हिलो र लेदो हटाउने काम गरिरहेको छ। काठमाडौंबाट आएको नेपाली सेनाको स्पेसल टाक्सफोर्स, इटहरी, हिले र विराटनगर विमानस्थलमा रहेको सेनाको टोलीले रनवेमा बाढीले बगाएर ल्याएको माटोको लेदो सफा गरिरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)