Aamsanchar

झापा क्षेत्र नं. १ को जनअपेक्षाः मर्दाको मलामी र जिउँदाको जन्ति 

Author Image
बिहिवार, मंसिर १४, २०७४

[सुरेश खतिवडा ]

छिटपुट अवरोध र सामान्य घटना बाहेक प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि पहिलो चरणको चुनाव ३२ जिल्लाहरूमा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

पैसठ्ठी प्रतिशत भन्दा माथि मतदान भएको निर्वाचन आयोगले बताएको छ भने अब मङ्सिर २१ मा हुने बाँकी जिल्लाहरूको निर्वाचन व्यवस्थापनमा आयोग जुटिसकेको छ । दोस्रो चरणका जिल्लाहरूमा व्यवस्थापन पाटो सक्रिय रहे सरह मतदाताहरू पनि मत खसाल्न उत्तिकै उत्सुक र मनस्थिति तयारीकै क्रममा रहेका छन् । केन्द्रिय राजनीति परिवर्तनको प्रमुख शक्ति क्षेत्र मानिने झापामा पनि अहिले चुनावी माहोल तातेको छ । पाँचवटा क्षेत्र रहेको झापामा प्रतिनिधि सभा र प्रदेश सभा गरी जम्मा १ सय ४१ जना उम्मेद्वारहरू रहेका छन् ।

यहाँका क्षेत्रहरूमध्ये पनि केन्द्रबाटै चासो र उत्सुकताका साथ हेरिएको छ झापा क्षेत्र नं. १ लाई । कारणहरू विभिन्न हुन सक्लान्……। यहाँका उम्मेद्वारको आ–आफ्नो प्रभाव एक कारण हुन सक्ला या त सीमानाको क्षेत्र र कारोबारको प्रकृति अर्को कारण हुन सक्ला अथवा यहाँका स्थानीय जनताले भोगिरहेका समस्याहरूको समाधान चुनौतीपूर्ण रहनु अर्को कारण हुन सक्छ । कारणहरू जे जस्ता रहेपनि क्षेत्र नं. १ झापा अहिले दोस्रो चरणको चुनावमा केन्द्रबिन्दु नै बनेको छ । सञ्चारगृहहरू, छापा र अनलाईनहरूले यहाँका उम्मेद्वारहरू प्रभावशाली, बौद्धिक र राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव राख्न सक्ने हुनुलाई चर्चाको कारण माने तापनि स्थानीय जनता त्यो पक्षलाई खासै चासो दिइरहेका छैनन् ।

स्थानीय जनताहरू केन्द्रको चुनाव रहे तापनि स्थानीय समस्याहरूलाई प्राथमिकतामा राखिदिने असल व्यक्तित्वको खोजीमा रहेको बुझ्न सकिन्छ । उनीहरूमा यो चुनावलाई पनि स्थानीय चुनाव सरह नै आफ्नो समस्याहरू समाधान गरिदिने नजिक र पहुँच भएको उम्मेद्वार रुचाइरहेको मनोविज्ञान पाइएको छ । हो पनि ! क्षेत्र नं. १ का जनताले कहिल्यै दललाई प्राथमिकतामा राखेर हेरेनन् । उम्मेद्वार बनेर आएकाहरूको आश्वासन र तिनै उम्मेद्वारद्वारा खटाइएको एजेन्टहरूले बस्तीहरूमा गरिएको गलत प्रचार र आश्वासनलाई नै जनताहरूले पत्याइरहे ।

विचौलियाहरूको भ्रामक प्रचारमा नै क्षेत्र नं. १ का जनताहरूलाई गुमराहमा राखिएको प्रमाण खोजी गरिरहनै पर्दैन । चाहे कम्युनिष्ट विचारधाराका नेताहरूलाई जिताइएका चुनावहरू होस् या अन्य पार्टीका उम्मेद्वारहरूले जितेका, जनताहरू अहिले खोज्न थालेका छन् २०५४ साल, २०६४ साल र २०७० सालका उपलब्धिहरू । आखिर तिनै दलबल र कार्यकर्ताहरूको उही पुरानै शैली नै अहिले नाम परिवर्तन गरी देखिन थालेको अनुभव गर्न थालेका छन् क्षेत्र नं. १ का मतदाताहरू । केवल उनीहरू आफ्ना मत चिह्न मात्रै परिवर्तन गरेका अनुभव गर्न थालिसकेका छन् यहाँका मतदाताहरू ।

मत माग्नकै लागि प्रयोग गरिने मास्टरकार्डहरू, हात्तीको समस्या समाधान, वैदेशिक रोजगारीमा युवाहरू पलायन हुने समस्या समाधान, विकास निर्माण र कृषिमा आधुनिकिकरण, पर्यटन विकास इत्यादि पुरानै भइसकेका र आश्वासन देखाई जीत हासिल गरेपछि पलायन हुने उम्मेद्वारको चरित्रलाई जनताले केही बुझिसकेका छन् र यसपटक जनताहरूले त्यस्ता पलायन हुन सक्ने सम्भावनाका उम्मेद्वारहरूलाई गाली नगरी गोप्य मतदानको अधिकार प्रयोग गरी कदापी जीत हुन नदिने कुरामा एकमत नै देखिन आवश्यक छ ।

स्थानीय विकास निर्माणका बजेट र अधिकार स्थानीय तहमा अघिल्लो निर्वाचनले नै विकेन्द्रिकण गरिसकेको छ । अहिलेको चुनाव केन्द्रिय नीतिनिर्माण, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध स्थापीत गर्ने नीतिहरू, प्रादेशिक कानूनहरू तथा अन्य थुप्रै संविधान कार्यान्वयका मुद्दाहरूको छिनोफानोका लागि हुँदै गरेको भए तापनि यहाँका जनता त्यसमा समेत आफ्नो पहुँच र नजिकपन बढी भएको नेता नै हुनुपर्नेमा एकमत देखिनै पर्दछ । यहाँका जनताले क्षेत्र नं. १ का लागि प्रतिनिधि सभाको बैठक चलिरहँदा फरक प्रकृतिबाट यस क्षेत्रका समस्याहरू सहित आवाज बुलन्द बनाइदिने उम्मेद्वार खोजी गर्नुपर्दछ न कि पहिलेका बिजेता सरह मौन । मेचीनगर, बाहुनडाँगी, धाइजन र चन्द्रगढीका समस्याहरू एकै प्रकृतिका छैनन् ।

यतिसम्म की व्यापारीहरूकै हकमा मेचीनगरको काँकरभिट्टा र धुलाबारीका व्यापारीहरूका फरक फरक समस्याहरू हुन सक्दछन् भने बाहुनडाँगी–शान्तिनगरका किसानहरू र चन्द्रगढीका बासिन्दाहरूको समस्याहरू एकै नरहेको तथ्य छ । यी सबै प्रकारका समस्याहरूलाई सम्बोधन गर्ने गरिको नीति त्यसले मात्र बनाउन जोड दिन सक्छ जसले यहाँका समस्याहरूलाई भावनात्मक रूपमै आफ्नो रहेको महसुस गर्न सक्छ । क्षेत्र नं. १ यस्तो भौगोलिक विविधताले सजिएको क्षेत्र हो जहाँबाट चुनावी नारासहित जीत्न मात्र चाहने र विलय हुनेलाई यहाँका फरक फरक धरातलमा के कस्ता सम्भावनाहरू छन् त्यसको हिक्का रहन्न जुन हामीमाझ ऐना सरह छर्लङ्ग रहेको छ र विगतमा हामीले नै जिताएकाहरूबाट पाठ सिक्नै पर्दछ ।

त्यसमाथि पनि हामी युवा सचेत रहेर परम्परागत रूपमा चलिआएको भोज, मोज, पैसा र रात्री टेबलहरूको आश्वासनलाई चिर्दै दोधारमा रहेका सर्वसाधारणलाई आ–आफ्नो क्षेत्रबाट सकेसम्म स्थानीय र पर्दा आफ्ना कामका लागि घरमै गएर धर्ना समेत दिन सक्ने र औँला उठाउन सक्ने व्यक्तिको जीतका निमित्त पहल गर्नुपर्दछ, जबकी त्यो अर्कै दलको पनि किन नहोस् । समृद्धिको असल नारा हामी युवाहरूले त्यतिबेला मात्र बुझेको ठहर्दछ जब हामी हाम्रा लागि निश्वार्थ कसले के गर्न सक्दछ भन्ने स्वविवेक प्रयोग गरी असललाई जिताउन सहयोग गर्दछौँ ।

न कि जीत हासिल गरी पलायन हुन सक्ने सम्भावना रहेकाहरूलाई । हामी क्षेत्र नं. १ बासीहरू पक्कै पनि सचेत छौँ । यहाँ हाम्रो समस्याहरू मात्र नभएर आवश्यकताहरू कतिपय केन्द्रिय नीति अनुसार आउनुपर्ने त छँदैछ त्यसमाथि हामी दल विशेष भन्दा पनि एकजुट रहेर हाम्रा लागि “मर्दाका मलामी र ज्यूँदाका जन्ती” को हुन सक्दछ त्यसको निक्यौल गरी मङ्सिर २१ मा सही दलको उम्मेद्वार भन्दा पनि हाम्रा लागि असल व्यक्ति छनौट गर्न सक्नुपर्दछ । जो दलको घेराबन्दीमा नभएर हाम्रा लागि साझा नेता बनेर काम गर्न सकोस् । [email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 323

प्रतिक्रिया (०)