Aamsanchar

बेलका क्षेत्रमा हात्तीको उपद्रो बढ्यो

Author Image
मङ्गलवार, मंसिर २६, २०७४

उदयपुर, 

एक हप्ता यतादेखि उदयपुर जिल्लाको बेलका नगरपालिका–२ तथा बेलकातरी आसपासको क्षेत्रमा दैनिकरुपमा रातिको समयमा जंगली हात्तीको उपद्रो बढ्दै गएको छ ।

सुनसरीको कोशी टप्पु क्षेत्रबाट दैनिक आधा दर्जनभन्दा बढी जंगली हात्ती रातिको समयमा बेलका क्षेत्रमा प्रवेश गरेर स्थानीयवासीको घर भत्काउने र बिगार गर्न थालेपछि स्थानीयवासी निकै त्रसित हुन पुगेको कुरा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभएको छ ।

अहिले एक हप्ताभित्र हात्तीले झण्डै एक दर्जन गाउँलेका घर भत्काइसकेको छ भने खेतबारीमा लगाएको हिउँदे अन्नबालीसमेत नष्ट गर्न थालेको पीडितद्वय उद्धव तिम्सिना र कौशीला सुवेदीले बताउनुभएको छ ।

पीडितका अनुसार अहिले रात्रिको समयमा दैनिक आधा दर्जन हात्ती गाउँमा आएर बिगार गर्न थालेपछि गाउँले राति ज्यान जोगाउन घर छाडेर अन्यत्र गएर बस्न बाध्य हुन परेकोसमेत अर्का पीडित डम्बरप्रसाद सुवेदीले बताउनुभयो । हात्तीले दैनिक बिगार गर्न थालेपछि नियन्त्रण गर्न आफूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा जानकारी गराएको कुरा बेलकाका प्रमुख थापा बताउनुहुन्छ ।

यस विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसँग जानकारी माग्दा कोशीटप्पुबाट बेलका छिरेका हात्तीले बिगार गर्न थालेर गाउँले त्रसित बन्न थालेको जानकारी आफूले पाएपछि यसको नियन्त्रणको पहल शुरु गरेको कुरा प्रजिअ कँडेलले बताउनुभएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षणका वार्डेन र जिल्ला वन कार्यालय उदयपुरलाई समेत यसको ध्यानाकर्षण गराई सकिएको कुरा पनि उहाँले बताउनुभयो । यस समयमा भारतको आसाम राज्य, पश्चिम बंगाल हुँदै धेरै हात्ती नेपालको झापा भएर सुनसरी, उदयपुर हुँदै सिन्धुली मकवानपुरसम्म पनि पुग्ने भएका कारण पनि कोशीटप्पुबाट र भारतबाट आएका हात्तीले उदयपुरको बेलका क्षेत्रमा वर्षेनी उपद्रो मच्चाउने र धनजनको क्षति गर्ने गरेको छ ।

प्रत्येक वर्ष हात्तीले जिल्लाको बेलकाको तपेस्वरी, रामपुर, लालबजार र चौदण्डीको हँडिया, सुन्दरपुर, त्रियुगा नगरपालिकाको जोगिदह, लालपत्ता, दमौटी क्षेत्रमा घर भत्काउने तथा अन्नबाली नष्ट गर्नुका साथै मानवीय क्षतिसमेत गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)