Aamsanchar

रमिते सडक विभाग, चन्दा मागेर जेब्राक्रस

Author Image
सोमवार, फागुन ७, २०७४

[सुरेन्द्र भण्डारी /नरेन्द्र ढकाल]

बिर्तामोड ।

वि.स.२०२८ निर्माण सम्पन्न भएर सुचारु भएको पूर्ब – पश्चिम राजमार्गको संरक्षण गर्ने जिम्मेवारी पाएको निकाय हो सडक विभाग । राजमार्गको संरक्षणसंगै मर्मत सम्भार तथा सडकको अवस्थाको विषयमा जानकारी मुलक होडिङवोर्ड र जेव्राक्रम निर्माण गर्ने काम पनि सडक विभागकै हो । तर, पूर्व – पश्चिम राजमार्गको मेची खेलादेखि मावासम्मको ५५ किलोमिटर सडक खण्डमा सडक विभागले जेव्राक्रस नबनाएकै कारण दिनहुँ सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

बढ्दो जनसंख्या तथा सवारी चापका कारण सवारी दुर्घटना बढेसंगै ट्राफिक प्रहरीले समेत हैरानी व्यहोर्दा पनि सरकारकै जिम्वेवार निकाय सडक विभाग भने वेखवर छ ।

झापामा वर्षेनी सवारी दुर्घटनाका कारण मृत्यु हुनेको संख्या बढ्दै जाँदा समेत यसको न्यूनीकरणका लागि सडक विभागले कुनै चासो देखाएको छैन । चालू आर्थिक वर्षमा मात्रै सडक दुर्घटनाका कारण ६१ जनले ज्यान गुमाई सकेका छन् ।

सडकमा ट्राफिक नियम, सडकको अवस्था लगायतका विषमा जानकारी मूलक होडिङवोर्ड राख्नु पर्ने दायित्व सडक विभागकै हो । तर, यसमा समेत ट्राफिक प्रहरीले विभिन्न संघ संस्थासंग हात पसार्दै सहयोग मागेर होडिङवोर्ड राख्नु पर्ने बाध्यता छ झापामा ।

राजमार्गमा जेव्राक्रस नबनाएका कारण सर्वसाधारणले अल्मलिदै बाटो काट्नु पर्ने अबस्था छ । जेव्राक्रस नभएका कारण धेरै पैदलयात्रीले बाटो काट्ने क्रममा ज्यान गुमाएका छन् । तर, यो विषयमा सडक डिभिजन कार्यालय दमक वेखवर छ ।

ट्राफिक प्रहरीको काम सवारी व्यवस्थापन गर्ने हो । तर, झापामा ट्राफिक प्रहरीले सवारी व्यवस्थापनसंगै सडक विभागको काम पनि गर्दै आएको छ । कम जनशक्ति अनि जिम्वेवारी चाँही बढी ट्राफिक प्रहरीकै ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सडक विभागको काम कर्तव्य र अधिकार प्रस्टसंग उल्लेख गरिएको छ । तर, ऐनका अधिकांश काम कर्तव्य सडक विभागका कर्मचारीको सट्टा ट्राफिक प्रहरीले पालना गर्दै आएका छन् ।

चन्दा मागेर जेव्राक्रस

पूर्व – पश्चिम राजमार्गमा दिन प्रतिदिन दुर्घटना बढ्दै जान थालेपछि पैदल यात्रीलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यले झापाको बिर्तामोडका विभिन्न ९ स्थानमा जेव्राक्रस निर्माण गरिएको छ । त्यो पनि स्थानीय व्यवसायी तथा सहकारी संस्थासंग चन्दा लिएर ।

सडक विभागले बनाउनु पर्ने जेब्राक्रस नबनाएपछि बिर्तामोडका औषधि व्यवसायी रणदेव हजामको संयोजकत्वमा समिति निर्माण गरेर २८ हजार ४ सय ५० रुपैयाँ चन्दा संकलन गर्दै शनिवार जेव्राक्रस निर्माण गरिएको हो । संकलित रकम मध्ये सबैभन्दा बढी सुनकोसी बचत तथा ऋण सहकारी संस्थाले १५ हजार रुपैयाँ प्रदान गरेको थियो । त्यस्तै अदुवा खोला छेउछाउका व्यवसायीले १३ हजार ४ सय ५० रुपैयाँ प्रदान गरेका थिए ।

के छ ऐनमा ?

ऐनको परिच्छेद १ को ज्ञ १ मा “ट्राफिक सङ्केत” भन्नाले प्रहरी वा एक सवारी चालकले अर्काे सवारीको चालकलाई दिएको सूचना, सङ्केत वा ईशारा सम्झनु पर्छ र सो शब्दले सवारीको नियन्त्रण वा निर्देशनका लागि लिखित वा साङ्केतिक रूपमा टाँसेको, राखेको वा जडान गरिएको सूचना सङ्केत वा ईशारा समेतलाई जनाउँछ भनिएको छ । यो सबै काम सडक विभागले गर्नु पर्ने हो । तर, सडक विभागका कर्मचारीले ऐनको पालना नगर्दा ऐन कागजमै सिमित छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले रोड मार्क गर्ने , सवारी सञ्चालनमा अवरोध गर्ने गरिका सडकको दाया वाँयाका रुखका हाँगा काट्ने लगायतका अधिकारहरु सडक विभागलाई नै दिएपनि कुनैपनि काम सडक विभागले नगरेको सरकाकै अर्काे निकाय ट्राफिक प्रहरीको आरोप छ ।

सडक विभागलाई बाटोको नक्सा र समय तालिकाको जानकारी गराउन पनि अधिकार प्रदान गरेको छ । अधिकार प्राप्त अधिकारीले प्रत्येक बस बिसौनीमा सो बस बिसौनीबाट प्रस्थान गर्ने गन्तव्य स्थानको बाटोको नक्सा र सार्वजनिक सवारी प्रस्थान गर्ने समय तथा गन्तव्य स्थानमा पुग्ने समय तालिका जानकारीको लागि टाँस्न वा जडान गर्न लगाउनु पर्छ । ऐनको (२) उपदफा (१) बमोजिम टाँसिएको वा जडान गरिएको बाटो, नक्सा वा समय तालिकामा कुनै फेरबदल भएमा अधिकार प्राप्त अधिकारी वा निजले खटाएको व्यक्तिले सोको सूचना तुरून्त यात्रीहरूलाई दिने व्यवस्था गर्नु पर्छ । तर, यी काम गर्न त परै जाओस् सडकमा ज्रेवाक्रस निर्माण गर्न पनि सडक डिभिजन कार्यालय दमकले चासो देखाएको छैन ।

पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका विभिन्न सहायक मार्गको मर्मत सम्भारका लागि सरकारले झापामा लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने गरेको छ । त्यही शीर्षकबाट सडकमा जेव्राक्रस निर्माण गर्न प्रत्येक वर्ष सडक डिभिजन कार्यालय दमकले वजेट छुट्याउछ । तर, जेव्राक्रस बनाउनका लागि बर्षेनी कति बजेट छुट्टिएको छ सो विषयमा सडक डिभिजन कार्यालय दमकका अधिकारी बोल्न रुचाउँदैनन् । उनीहरु सञ्चारकर्मीको प्रश्नमा सहजै उत्तर दिन्छन् केही रकम छुट्याएर हामी प्रत्येक वर्ष जेव्राक्रस बनाइरहेका छौं ।

सडक डिभिजन कार्यालय दमकका प्रमुख इञ्जिनियर राजेश यादवसंग यस विषयमा जिज्ञासा राख्दा उनले भने– गत वर्ष हामीले जेव्राक्रस बनाएका छौं यस वर्षपनि बनाउने हाम्रो सोच छ ।

चालू आर्थिक वर्षको सात महिना बितिसक्दा समेत जेब्राक्रस बनाउने त कुरै छैन आफूहरु जेव्राक्रस बनाउने सोचमा रहेको भन्दै उनी पन्छिएका थिए । कहिले र कहाँ जेव्राक्रस बनाइन्छ नि भन्ने जिज्ञासामा उनले भने – सम्भवत चालू अर्थिक वर्षमा बिर्तामोड पूर्व जेव्राक्रस निर्माण गरिन्छ होला ।

मोवाइल पनि यस्तो ?

सबैजसो सरकारी कार्यालयका प्रमुखलाई सम्पर्क गर्न सहजहोस् भन्ने उद्देश्यले सरकारले निश्चित टेलिफोन नम्वर प्रदान गर्ने गरेको छ ।

सडक डिभिजन कार्यालय दमकलाई पनि सरकारले निश्चित नम्वर प्रदान गरेको छ । त्यो नम्वर कार्यालय प्रमुख राजेश यादवले बोक्ने गरेका छन् । तर, उनले बोक्ने ९८५२६७६४९८ नम्वर सधै स्वीच अफ हुन्छ । उनलाई जतिसुकै जरुरी काम परेपनि सर्वसाधारणले सम्पर्क गर्न सक्दैनन् । निक्कै लामो प्रयत्नपछि उनको निजी नम्वरमा सम्पर्क गर्दा मोवाइल बिग्रिएकाले सुरुमा मोवाइल अफ भएको बताएका यादवले कुराकानीको क्रममा व्यक्तिगत कारणले सरकारी नम्वर अफ गरेको स्वीकारेका छन् ।

सडक डिभिजन कार्यालय दमकका प्रमुख यादवको सधै मोवाइल किन अफ भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी तथा यातायात व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम तिवारीले आफूलाई सो विषयमा थाहा नभएको र तत्काल बुझ्ने तथा त्यस्तो पाइए तत्काल मोवाइल सुचारु राख्न निर्देशन दिने बताए ।

१५ दिन टिक्दैन जेव्रक्रस

चन्दा संकलन गरेरै भएपनि बिर्तामोडमा विभिन्न संघ संस्था तथा क्लवहरुले वर्षेनी जेव्राक्रस बनाउने गरेका छन् । तर, बनाइएका जेव्राक्रस १५ दिन पनि टिक्दैन । जेव्राक्रसकै लागि प्रत्येक वर्ष चन्दा संकलन गरिन्छ । संकलित चन्दाले जेव्राक्रस बनाइएपनि १५ नटिक्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।

उनले भने– बाटो काट्दा आँखै अगाडि गाडीले ठक्कर दिँदा भक्लक्क मान्छे ढल्छ , सडकले जेव्राक्रस बनाउँदैन , हेर्न नसकेर चन्दा मागेर भएपनि सर्वसाधारणले जेव्राक्रस बनाउ भन्दा हामी सहयोग गरिरहेका छौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)