Aamsanchar

उपाधी चुम्न झापा ११ र त्रिभुवन आर्मी विच प्रतिष्पर्दा हुने

Author Image
शनिवार, फागुन २६, २०७४

बिर्तामोड । डोमालाल रंगशालामा जारी रमपम झापा गोल्डकपको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि आर्मीले रमपम झापा ११ को सामना गर्नेछ ।
आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । श्रेष्ठले खेल शुरु भएको दोस्रो मिनेटमा गरेको गोलको मदतले आर्मी फाइनल प्रवेश गरेको हो । श्रेष्ठले पोष्टको दायाँ बार च्याप्दै गरेको बलले जाली चुमेको थियो । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब यो पटक सेमीफाइनलबाटै घर फर्किएको छ ।

खेलको ४५ औं मिनेटमा मनाङका सबै खेलाडी बीट भइसकेको अवस्थामा आर्मीका टंक बस्नेतले गोल गर्न सकेनन् । मनाङका खेलाडीले अफसाइड अपिल गर्दै छोडेको बललाई रेफ्री श्याम दनुवारले सिटी नवजाएपछि पनि उनले गोल गर्न सकेनन । गोलकिपर दिनेश थापा मगरलाई क्रस गरेर गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।तीन बिदेशी खेलाडी सहित मैदानमा उत्रिएको मनाङका लागि खेलको १० मिनेटमा भिक्टोरले गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

अञ्जन बिष्टको फ्रि किकमा भिक्टोरले गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो । २४ औं मिनेटमा सुजल श्रेष्ठले गरेको क्रस पासमा बिमल रानाले डि बक्समा पाएको बललाई फितलो प्रहार गरेका थिए । ५९ औं मिनेटमा बिशाल राइको क्रस पासमा अञ्जन बिष्टले गरेको हेडर आर्मीका गोलरक्षक बिकेश कुथुले पञ्च गरेर बाहिर फ्याँकिदिएका थिए ।

खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका गोलरक्षक बिकेश कुथु घोषित भए । उनले नगद २५ हजार रुपैया पुरस्कार पाए । म्यान अफ द म्याचको पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एशोसियट्सले उपलब्ध गराएको हो । प्रतियोगिताको बिजेताले नगद १२ लाख ५१ हजार र उपबिजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर