Aamsanchar

झापा गोल्डकपको उपाधि भिडन्त आज/ झापालाई आर्मीसँग बदला लिने अवसर

Author Image
आइतवार, फागुन २७, २०७४

बिर्तामोड।

तेस्रो रमपम झापा गोल्डकपको उपाधि आयोजक झापा र त्रिभुवन आर्मी क्लब दुबैले आफैले जित्ने दावी गरेका छन् । आइतवार पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले खेलाडीको कडा मेहेनत र दर्शकको समर्थन खेल जित्ने आधार भएको बताएका छन् ।

उनले आर्मी सशक्त टीम भए पनि झापा टेक्निकल गेममा उत्कृष्ट भएकाले उसलाई हराएर उपाधि हात पार्न सकिने बताए । प्रशिक्षक कटुवालले ओभर एजका कारण स्ट्राइकिङ लाइनमा केही समस्या रहेको बताउँदै त्यसलाई पूर्ति गर्न बिश्वास श्रेष्ठलाई यसैबर्षदेखि अनुबन्धन गरेकाले खेल जित्ने दावी गरेका छन् ।

झापा ११का टीम क्याप्टेन योगेश गुरुङले आयोजकको अनुबन्धनका कारण झापाली खेलाडीमा हौसला बढेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए । उनले उपाधि जितेर झापाली दर्शकको चाहना पूरा गर्ने दावी गरे । उनले आर्मीसँग प्रथम झापा गोल्डकपको उपाधिमा व्यहोराको हारको बद्ला लिने बताएका छन् ।

त्यस्तै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन् । आर्मीको टीममा झापाको भन्दा धेरै जना राष्ट्रिय टीममा सहभागी खेलाडी रहेका छन् । झापाको टीम सशक्त रहेको भए पनि यो सिजनको सातौं उपाधि कब्जा गर्ने दाउमा आर्मी रहेको बताएका छन् । आर्मीले यसबर्ष देशका बिभिन्न स्थानमा भएका गोल्डकपमध्ये ६ वटा गोल्डकपको उपाधि जितेको छ ।

आर्मीका क्याप्टेन भरत खवासले झापामा आएर खेल्दा हौसला मिलेको बताए । उनले यो बर्ष अतिरिक्त समय थपिनुपर्ने बताए । निर्धारित ९० मिनेको खेलमा बराबरी भए सिँधै टाइब्रेकरमा लगिने गरेको छ । उनले समय थप गरेर खेलाउन आग्रह पनि गरे ।

झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र थ्री स्टार क्लबलाई हराएर फाइनलमा प्रवेश गरेको हो भने आर्मीले बिभागीय टीम नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

झापाको सुधारिएको प्रदर्शनः मामा

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामाले झापा गोल्डकपमा आयोजक झापा ११ले सुधारिएको प्रदर्शन गरिरहेकाले यसपटकको उपाधि जित्नेमा आफू ढुक्क रहेको बताएका छन् ।

घरेलु दर्शक तथा आफ्नै खेल मैदानको अनुभवका साथ झापा ११ मैदान उत्र्ने भएकाले पनि प्रथम झापा गोल्डकपमा आर्मीसँग व्यहोरेको हारको बद्ला लिने सुनौलो अवसर भएको मामाको भनाइ छ । उनले सही समयमा सही निर्णय लिन झापा ११का खेलाडीलाई सुझाव समेत दिएका छन् । उनले रणनीतिका साथ मैदान उत्र्दै विपक्षीको कमजोरीलाई ध्यान दिएर खेल्न आग्रह समेत गरेका छन् ।

झापा ११का पूर्व प्रशिक्षक समेत रहेका मामाले झापाकै अर्जुनधारा नगरपालिका फुटबल खेलाडीहरुको बहुल्य रहेको क्षेत्र भएको बताएका छन् । हाल ए डिभिजन क्लबमा देवेन्द्र तामाङ तथा विशाल राई वी खेलिरहेको भन्दै अन्य पुराना खेलाडीहरु पनि अर्जुनधारा नगरपालिकाका धेरै रहेको बताएका छन् ।

पुराना खेलाडीको सम्मान गर्दै उनीहरुको अनुभवलाई अवसरको रुपमा लिएर अगाडि बढ्न सके झापाले फुटबलमा ठूलो फड्को मार्न सक्ने दावी समेत गरेका छन् । ५ बर्षदेखि राष्ट्रिय लिग नभइरहेको अवस्थामा गोल्डकपले फुटबल खेललाई धानेको भन्दै आगामी चैत १४ गते हुने एन्फाको चुनावपछि फुटबल खेलका समस्याहरु समाधान हुनेमा आफूमा आशावादी रहेको बताएका छन् ।

नकआउटमा अब्बलः गुरुङ

झापा ११ त्रिभुवन आर्मीभन्दा अब्बल रहेको झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले दावी गरेका छन् । उनले लिग चरणका खेलमा आर्मीले झापालाई पछि पारे पनि नकआउ चरणका खेलमा भने झापाले सँधै आर्मीलाई हराएको बताएका छन् ।

विराट गोल्डकप तथा माईभ्याली गोल्डकपको उपाधि भीडन्तमा पनि आर्मीलाई पछि पार्दै झापाले उपाधि उचालेको स्मरण गर्दै अध्यक्ष गुरुङले झापा गोल्डकपको उपाधि उचाल्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

१० बजे नै टिकट खुल्ला

गत फागुन १९ गतेदेखि शुरु भएको झापा गोल्डकपको आज हुने फाइनल खेल हेर्नका लागि १० बजेदेखि नै टिकट खुल्ला गरिने आयोजक समितिले जनाएको छ । दर्शकको सुविधालाई ध्यानमा राखेर विहान १० बजेबाटै टिकट खुल्ला गरिने आयोजकले जनाएको छ ।

मध्यान्ह १२ बजेबाट औपचारिक कार्यक्रम शुरु हुने र खेलमा पूर्वउपप्रधानमन्त्री समेत रहेका कृष्णप्रसाद सिटौला लगायतका नेताहरुको आगामन हुने गुरुङले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)