Aamsanchar

कसरी भयो साजनको हत्या एकपछि अर्को रहस्य खुल्दै/नयाँ तथ्य फेला पार्दै प्रहरी

Author Image
शुक्रवार, चैत २, २०७४

बिर्तामोड।

मान्छेलाई आफ्नो ज्यानभन्दा प्यारो के हुन सक्छ ? तर, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बिर्तामोडका सुन व्यापारी साजन मुखियाले व्यक्तिगत सुरक्षा नअपनाएकै कारण ज्यान गुमाएको बताएका छन् ।

हत्यामा संलग्न व्यक्तिले ‘हन्ड्रेट पर्सेन्ट अल्कोहल’ र ‘क्लोरोफम’ नामक औषधि प्रयोग गरेर साजनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए । साजनको हत्यामा संलग्न भनिएका व्यक्तिले उनलाई नियन्त्रणमा लिएर पारसकुमार देवको पुरानो घर पु¥याए लगत्तै वेहोस बनाउने रसायन क्लोरोफम प्रयोग गरेर वेहोस बनाएर कार्टुन बाँध्ने डोरीले घाँटी कसेर हत्या गरेको खुलेको हो ।

प्रहरी नायव उपरीक्षक कोइरालाले साजनले मात्रै होइन यहाँका धेरै व्यवसायी र सर्वसाधारणले व्यक्तिगत सुरक्षामा चासो नदिँदा जोखिम बढेको भन्दै सबैलाई व्यक्तिगत सुरक्षा अपनाउन आग्रह गरेका छन् । साजनले श्रीमतीलाई म पारससँग छु भनेर फोनमा भनेको भए के बिग्रन्थ्यो ? के पारसले उसलाई त्यस्तो अवस्थामा मार्ने चेष्टा गथ्र्याे ? प्रतिप्रश्न गर्दै प्रनाउ कोइरालाले भने– पारसले साजनलाई मार्न जुन स्कुटरमा राखेर लग्यो, त्यही स्कुटरमा फर्काउने थिएन र यदि उसले पारसकै अगाडिबाट श्रीमतीलाई फोन गरेको भए ?

साजनको हत्या उनले व्यक्तिगत सुरक्षा नअपनाएकै कारण भएको हो त ? यदि त्यस्तो भएको भए बिर्तामोडमा साजनको हत्या गरेर भारतीय नम्वर प्लेटको सवारी प्रयोग गर्दै इलामसम्म पु¥याएर शव फालुञ्जेल के हेरेर बस्यो त प्रहरी ? विना रोकटोक हुइँकिएका भारतीय नम्वर प्लेटका सवारी साधन चेक जाँच गर्ने निकाय कहाँ थियो त्यो वेला ?

सुरक्षाको दृष्टिकोणले मजवुत मानिएको क्षेत्र हो– बिर्तामोड । यहीँ इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, पूर्वमा प्रहरी चौकी चारआली, उत्तरमा प्रहरी चौकी शनिश्चरे, इलाका प्रहरी कार्यालय वुधवारे, किटेनी प्रहरी चौकी पार हुँदै साजनको शव कसरी पु¥याइयो इलाम ? त्यो पनि भारतीय नम्वरको सवारीमा राखेर । इलाका प्रहरी कार्यालय बिर्तामोड परिसरको ५ सय मिटर भित्रै साजनको हत्याको योजना कसरी बनाइयो र उनको हत्या कसरी भयो यो खोजीको विषय बनेको छ ।

प्रहरीले उनको हत्यामा संलग्न भएको भन्दै ऋद्धिसिद्धी ज्वेलर्सका सञ्चालक २९ वर्षीय देवसहित बिर्तामोड–८ त्रिवेणी टोल निवासी १९ वर्षीय दीपेश पौडेल र तेह्रथुमको छातेढुङ्गा–८ घर भई बिर्तामोड–३ सैनिकमोड बस्दै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई सार्वजनिक गरिसकेको छ । घटनामा अन्य व्यक्तिको समेत संलग्नता देखिएकाले उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताएका छन् । साजनलाई बिर्तामोडमा हत्या गरेर शव बोक्न प्रयोग गरेको सवारी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको भारतीय नम्वर प्लेटको सवारी अहिले इलाका प्रहरी कार्यालय बिर्तामोड परिसरमा राखिएको छ ।

साजनको हत्या गर्न अघि प्रयोग गरिएको ‘क्लोरोफम’

साजनको हत्यामा संलग्नले घटनालाई गुपचुप पार्न चिकित्सकले शल्यक्रिया गर्दा बिरामी लट्याउन प्रयोग गर्ने औषधि प्रयोग गरेको खुलेको छ । गतमहिनाको फागुन २० गते साजनलाई हत्यामा संलग्न भनिएका मध्ये पारसकुमार देवले साजनलाई आफ्नो पुरानो घरमा पु¥याएर ‘हन्ड्रेव पर्सेन्ट अल्कोहल’ र ‘क्लोरोफम’ नामक विषादि प्रयोग गर्दै उनलाई वेहोस बनाएर हत्या गरिएको प्रहरीले अनुसन्धानका क्रममा तथ्य फेला पारेको छ ।

साजनको हत्या अघि प्रयोग गरिएको हन्ड्रेट पर्सेन्ट अल्कोहल’ र ‘क्लोरोफम’ नामक औषधि बिर्तामोडस्थित महानन्द चौक पश्चिम, गोर्खा वोर्डिङ स्कूल जाने बाटोमा पर्ने अन्धुवा खोलामा फ्याकिएको अवस्थामा फेला परेको हो । प्रहरीले फेला पारेको हन्ड्रेट पर्सेन्ट अल्कोहल’ र ‘क्लोरोफम’ नामक औषधिको वट्टामा आझैं पनि औषधि थियो ।

प्रहरीले हत्यामा संलग्न भनिएका चिरञ्जीवी ओलीको वयानका आधारमा सो विषादि फ्याकिएको स्थान पत्ता लगाएको र विषादि सहितको वट्टा फेला परेको थियो । प्रहरीले हत्या गरिएका साजनको मोवाइल समेत फेला पारेको भन्दै घटनाको थप विवरण खुल्ने जनाएको छ ।

साजनको शव फ्या“क्न भारतीय गाडीको प्रयोग

भारतीय सवारी साधनलाई बिना चेकजाँच सञ्चालन गर्न दिँदा ती सवारी आपराधिक गतिविधिमा प्रयोग हुन थालेको खुलासा भएको छ । साजनको हत्या गरेर भारतीय नम्बर प्लेटको सवारी साधनमा राखेर इलाम पु¥याएर फर्किदा समेत प्रहरीले सुइँकोसम्म नपाएपछि आपराधिक गतिविधिमा भारतीय सवारी साधन प्रयोग हुने गरेको रहस्य खुलेको हो ।

साजनको हत्यापछि कृषि थोकको पछाडि हुँदै शनिश्चरे रोड भएर बुधबारेबाट इलामको कोल्बुङ पु¥याएर शव फ्यालेर आउँदा समेत कुनै पनि स्थानमा प्रहरीले चेकजाँच नगर्दा अपराधीहरु योजनाबद्ध ढङ्गले भाग्न सफल भएका हुन् । खुल्ला सीमानाका कारण भारतका धेरै सवारी नेपालमा गुड्ने गरेका छन् । नेपालको कुनै पनि सवारी साधन भारत लैजाँदा कडा चेकजाँच हुने गरेको छ । तर, नेपालमा निर्वाधरुपमा भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालन हुँदा समेत प्रहरीले कुनै चासो नदिएको पाइएको छ । सीमावर्ती भारतीय शहरका सवारी काँकरभिट्टामा यात्रु ओसार्न प्रयोग हुँदा समेत प्रहरी, भन्सार कार्यालय, नगरपालिकाले देखेको नदेख्यै गर्ने गरेको छ ।

जिल्लामा कति सवारी भित्रिए भन्ने यकिन विवरण प्रहरीसँग हुन जरुरी रहेको छ तर यो विषयमा प्रहरीले कुनै चासो दिएको पाइएन । फागुन २० गते नै साजनको हत्या गरेर बेलुकी साढे ६ बजे बिर्तामोडबाट हिँडेको सवारीले करिब साढे सातदेखि आठ बजेभित्र साजनको शव फ्यालेर हत्यामा संलग्नहरु फर्किएको प्रहरी अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोइरालाले बताए ।

अत्यन्त नजिकको साथी हत्यामा संलग्न रहेको र उसले कुनै पनि शंकास्पद गतिविधि नदेखाएकाले गहिरो अनुसन्धान गरेर रहस्य पत्ता लगाउन सफल भएको डीएसपी कोइरालाको भनाइ छ । प्रहरीले केही सुन ब्यवसायीको घरमा जानकारी गराएरै सादा पोशाकमा प्रहरी परिचालन गरेको र उक्त अवस्थामा अस्वभाविक गतिविधि देखा परेपछि उनीहरुको निगरानी बढाएको जनाइएको छ । सो क्रममा पारसको पसलमा काम गर्ने चिरञ्जीवी ओली र दीपेश पौडेलले नै घटनाको विषयमा मुख खोलेपछि प्रहरीलाई ठूलो सफलता मिलेको डीएसपी कोइरालाले जानकारी दिए बताए ।

कोल्बुङको ठाडो भिरबाट बोरामा शव फ्यालेकोले कसैले पनि पत्ता लगाउने अवस्था नभएको र घटनाको विषयमा शंकास्पद ब्यक्तिबाट सूचना चुहावट भएपछि घटनाको विषयमा केही सफलता हासिल गर्न सकेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न पारस शव फ्याँक्न भने सहभागी नभएको र आफैँ खोज्नुपर्छ भन्दै व्यवसायी र आफ्न्तलाई विश्वासमा लिन प्रयासरत् रहेको पाइएको थियो । घटनाको विषयमा परिवार र आफ्न्त कसैले शंका गर्ने ठाउँ नै नराखेकाले वास्तविकता निकाल्न केही समय लागेको डीएसपी कोइरालाले बताए ।

हत्यामा संलग्नहरुले मोबाइल फोन प्रयोगमा समेत सावधानी अपनाएको पाइएको कोइरालाको भनाइ छ । फोनमा दैनिक कुरा हुने तथा ५० पटकसम्म भेटघाट हुने भएकाले कसैले शंका गर्ने आधार नै नभएको पाइएको अनुसन्धानको क्रममा खुलेको थियो । झापाका कुनै पनि ब्यवसायी तथा कसैले पनि व्यक्तिगत सुरक्षामा भने सावधानी नअपनाएको डीसएपी कोइरालाको भनाइ छ । उनले आफैं कतै जाँदै गरेको र कसैसँग भेट भएमा परिवारलाई तत्काल जानकारी गराउन सुझाव समेत दिएका छन् । हत्यापछि साजनको शव फ्याकेर फर्किएर उनीहरुले झापाकै एक होटलमा २ हजार आठ सय ८० रुपैयाँको रक्सी खाएको खुलासा भएको छ ।

राति नै भारतीय नम्बर प्लेटको सवारी घरमा ल्याएको र भोलिपल्ट उक्त सवारीलाई कसैले शंका नगर्ने स्थानमा राखेर हत्यामा संलग्नहरु खुलेआम विर्तामोडमा हिँडिरहेको र ओली आफन्तको निधन भएको भन्दै तेह्रथुम पुगेको प्रहरीको भनाइ छ ।

सवै प्रहरीको सरुवा

झापाको बिर्तामोडमा सुन व्यवसायीको हत्या गरेर भारतीय नम्वर प्लेटको सवारी प्रयोग गर्दै शव इलामसम्म पु¥याउँदा पनि प्रहरीले शव वोक्न प्रयोग गरिएको सवारी चेकजाँच नगरेपछि मातहतमा खटिएका सवै प्रहरीको सरुवा भएको छ ।

श्रोतका अनुसार इलामको किटेनी तथा इलाम र झापाको सीमानामा खटिएका जनपद प्रहरी र ट्राफिक प्रहरीको एकैपटक सरुवा गरिएको हो । मेची राजमार्गमा भारतीय नम्वरका सवारी बिना चेकजाँच गुड्ने गरेको पाइएपछि त्यहाँ कार्यरत् सवै प्रहरीको सरुवा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर