Aamsanchar

वाम गठवन्धन नटिक्ने, देशमा राजतन्त्र आउने माताको भविष्यवाणी

Author Image
शनिवार, चैत १७, २०७४

पूर्व राजा ज्ञानेन्द्र शाहलाई तीन पटकसम्म राजा हुने योग परेको भविष्यवाणी गरेपछि चर्चामा पुगेकी सविता सरु शर्मा आचार्यले पछिल्लो पटक वाम गठवन्धनमा संकट आइपर्ने भविष्यवाणी गरेकी छिन् । राजसंस्था फर्किएपछि मात्रै नेपाल सम्मृद्धिको मार्गमा जाने उनको भविष्यवाणी छ । सात वर्षको उमेरमा अलौकिक शक्ति पाएर सर्वसाधरणदेखि पूर्व राजा ज्ञानेन्द्रसम्मको यसअघि उनले भविष्यवाणी गरिसकेकी छिन् । उनले नेपालका नाम चलेका राजनीतिज्ञदेखि चर्चित कलाकार, उद्योगपतिसम्मको भविष्यवाणी गरेकी छिन् ।

राजपरिवारका सदस्यहरु ज्ञानेन्द्र, हिमानी, हृदयन्द्रसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेरबहादुर देउवा, नायिका रेखा थापा लगायतका दर्जनांै चर्चित अनुहारको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनले ३२ वटा विभिन्न देशको भ्रमण गर्दै त्यहाँ रहेका नेपालीको समेत भविष्यवाणी गरेकी छिन् । झण्डै तीस लाख नेपालीको भविष्यवाणी गरिसकेकी माता सविता सरु शर्मा आचार्यले अलौकिक शक्तिकै माध्यमबाट देशमा हुने अप्रिय घटनाको समेत भविष्यवाणी गर्दै सचेत रहन सबैलाई आग्रह गर्दै आएकी छिन् । उनै चर्चित माता शर्मासँग सुरेन्द्र भण्डारीले गरेको कुराकानी :

वाम गठवन्धनको सरकारले राज्य सञ्चालन गरिरहेको अवस्थामा तपाईले राजसंस्था फर्कन्छ भन्दै भविष्यवाणी गर्दै आउनुभएको छ के यो सम्भव छ ?

– पूर्व राजा ज्ञानेन्द्र सरकारलाई मैले २०७१ सालमा भेट गरेकी थिएँ । त्यो बेला नै उहाँलाई मैले राजसंस्थाको वारेमा जानकारी दिएकी थिएँ । उहाँको भविष्यको बारेमा पनि मैले उहाँलाई भनेकी थिएँ । उहाँलाई देशका नेताको विषयमा पनि अवगत गराएकी थिएँ । धेरै सञ्चारमाध्यमले त्यो बेला गरेका भविष्यवाणीलाई प्राथमिकतामा राखेका थिए । देशको विषयमा जानकारी दिँदै ज्ञानेन्द्र सरकारलाई त्यो बेला नै मुलुकमा राजसंस्था फर्किन्छ भनेकी थिएँ । राजा नआई देश बन्दैन भनेकी थिएँ । त्यसो भनिरहँदा मैले धेरै आरोप र अवरोध खेप्नु प¥यो । तर, वास्तविकता यही हो ।

अहिले पनि यही भन्छु राजा नआइकन देश बन्दैन । राजाको नाति हृदयन्द्र राजा बन्ने नै देखेकी छु । ज्ञानेन्द्र सरकार थोरै भए पनि फेरि राजा बन्नु हुन्छ । उहाँको त्यस्तै योग छ । कुनै न कुनै योजना बनाएर उहाँ राजसंस्थामा पुग्नु हुन्छ । उहाँले नै राजसंस्था फर्काउनु हुन्छ । पुरानो संस्कार, पुरानो रीतिरिवाज, पुरानो चालचलन बिर्सिएर कुनै पनि हालतमा देशअघि बढ्न सक्दैन । घरको झगडा मिलाउन बुबाको आवश्यकता पर्छ । नेपालका लागि राजसंस्था बुबा नै हो । बुबा नभई देशअघि बढ्न सक्दैन । नेपाल हिन्दूराष्ट्र नभई हँुदैहुँदैन ।

कति समयपछि फर्किएला त राजसंस्था ?

– अब धेरै समय छैन । म यत्ति भन्छु मुलुकमा राजसंस्था फर्कन्छ । मैले यसअघि पनि भन्दै आएकै छु नि देशलाई राजा चाहिएको छ । मैले धेरै भविष्यवाणी गरेकी छु सबै पुगेका छन् । म ग्यारेन्टीका साथ भन्छु राजसंस्था फर्कन्छ ।

वामगठबन्धनको भविष्य कस्तो देख्नुभएको छ ?

– वामगठबन्धन बीचैमा ब्रेक हुन्छ । वाम गठबन्धनमा संकट आएपर्ने अवस्था छ । म राजनीतिज्ञ त होइन । तर, पनि देखेको कुरा भन्छु । वाम गठबन्धन धेरै समय टिक्दैन । देश संघीयतामा गएको छ । तर, मुलुकले संघीयता धान्दैन । एक विगाह जग्गा १० जनालाई बाढ्नु र एक कठ्ठा जग्गा १० जनालाई बढ्दा के हुन्छ तपाई आफैं भन्न सक्नुहुन्छ कति कमाउने कति खाने भनेर ।

संघीयता भनेको एक कठ्ठा जग्गा दश जनालाई बाँडे जस्तै हो । सबै दलका नेता आ–आफ्नै स्वार्थमा हिँँडेका छन् । स्वार्थको राजनीतिले मुलुक बन्दैन मात्र भन्न खोजेकी हुँ । एमालेसँग माओवादी मिल्नु र बाम गठबन्धन हुनु भनेको जस्को शक्ति उसैको भक्ति भने झैं मात्र हो । अहिले वाम गठबन्धन शक्तिमा छ । तर, यो शक्ति समय टिक्दैन । यसको शक्ति बिस्तारै क्षीण हुँदै जान्छ । स–साना शक्ति एक हुन्छन् । बिस्तारै दलहरुबीचमा मनमुटाव शुरु हुुन्छ । हेर्दै जानु वाम गठबन्धनमा संकट आइपरेकाले मैले यो सब भनेकी हुँ । वाम गठबन्धनको अबस्था त्यत्ति राम्रो देखिँदैन ।

प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसको भविष्य चाही“ कस्तो देख्नुभएको छ ?

– नेपाली कांग्रेसको भविष्य राम्रो देखिन्छ । कांग्रेसका केही नेताले कांग्रेसलाई सही मार्गमा डो¥याउने देखेकी छु । बालकृष्ण खाण, कमला पन्त, गगन थापा लगायतका नेताको भविष्य राम्रो देखेकी छु । कांग्रेसको मात्र किन कुरा गर्ने को राम्रो को नराम्रोभन्दा पनि नेपालका नेतामा देशको माया पटक्कै छैन । तपाई आफैं विचार गर्नुहोस् सत्तामा ज्ञानेन्द्र सरकार हुँदा उहाँले चाहेको भए नेपाललाई सिरिया बनाउन सक्नु हुन्थ्यो ।

तर, उहाँले राजनेतामा हुनुपर्ने गुणलाई व्यवहारमा उतार्नु भएको छ । सरक्कै राजगद्दी छाडेर अहिलेसम्म सर्वसाधारण भएर जीवन बिताइरहनु भएको छ । नेपालमा राजसंस्था ढलेपछि नेताले कुर्सीको तानातानमा दिन बिताएका छन् । को नेताले देशका लागि के गरे मलाई पत्यार लाग्दैन । सबै गर्छौं त भन्छन् तर देशको हित हुने काम अहिलेसम्म हुन सकेको छैन । राजसंस्था नर्फकेसम्म देशको हित नहुने भएकाले राजसंस्था अपरिहार्य छ । मैले यति भनिरहँदा मलाई सबैले राजवादी भन्नुहुन्छ होला म एउटा जोगीको भेषमा हिँड्ने मानिसलाई के को राजावादी हुनु छ र । तर पनि देखेको कुरा भन्छु । नेपालका नेताबीच ठाउँमा छन् । न त उभो जाने न उँधो जाने । यस्तो अवस्थामा कसरी देश सञ्चालन हुन्छ ।

समग्र देशको अवस्थाका विषयमा बताइदिनुहोस् न ?

– नेपालमा धर्मको नाममा क्रान्ति हुने देखेकी छु । जातीय सद्भाव भड्कन्छ । आफू–आफूमा मारामारको स्थिति निम्तन्छ । ढिलो चाडो मात्रै हो । संसद् भवन नै ठिक ठाउँमा छैन । संसद् भवनमा गरिएका हरेक निर्णयको विरोध हुन्छ । अन्तत नेपाल भुटान र सिक्किम हुने देखेकी छु । नेतालाई गाली गर्नु पनि बेकार छ । नेताले जे काम गर्छु भनेर लाग्छन् त्यो बिग्रदै जान्छ । किन यस्तो हुँदैछ कसैले खोजी गरेको छैन यस विषयमा । तर, नेपाललाई पितृले सरापेको छ । पितृको पूजा नगरी देश बन्दैन ।

तपाईंको सुरक्षामा कुनै खतरा त छैन । जस्तो देख्यो त्यस्तै भविष्यवाणी गर्नुहुन्छ ।

– म धनकुट्टामा जन्मे र त्यही हुर्किए । सात वर्षको हुँदा मलाई अलौकिक शक्ति प्राप्त भयो । विद्यार्थी जीवनबाटै मैले धेरैको भविष्यवाणी गर्न शुरु गरे । मैले गरेका भविष्यवाणी पुग्दै गएर धेरैले मलाई विश्वास गर्दै जानुभयो । अहिले देश तथा विदेशमा मोरो माग हुन्छ । मैले धेरै देशमा छरिएर रहेका नेपालीको भविष्यवाणी गरेकी छु ।

कतिपयले मलाई निसाना बनाएका पनि छन् । तर, मेरो शक्तिका कारण उनीहरुको योजना सफल हुन सकेको छैन । मानिसको शरीर हो । शक्ति बिस्तारै क्षीण हुँदै जान्छ । मेरो पनि त्यस्तै भएको छ । अहिले मलाई सुरक्षाको आवश्यकता छ । पहेलो फेटा बाँधेका साधुको त सुरक्षाको विषयमा सरकारले सोचेको छ । तर, म सिंगो देशको भविष्यवाणी गर्दै आएकी छु । सर्वसाधारणदेखि उच्च स्तरका नेताको भविष्यवाणी गरेकाले सुरक्षा चाहिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)