Aamsanchar

विद्यार्थी र यातायात व्यवसायीबीचको विवाद ,छलफल र संवादबाट समाधान खोजिने

Author Image
आइतवार, वैशाख ९, २०७५

बिर्तामोड।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले दमकमा विद्यार्थी र यातायात व्यवसायीबीच भएको विवाद छलफल र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

संवाद समूहको सचिवालयद्वारा बिर्तामोडमा आयोजित विद्यार्थी र यातायात व्यवसायीको विवाद र समाधान विषयक छलफल कार्यक्रममा उनीहरुले उक्त कुरामा जोड दिएका हुन् । गत चैत ३० गते नेपाल सरकारले सवारीसाधनमा विद्यार्थीहरुलाई दिएको छुट अनुसार यातायात मजदुरले बिद्यार्थीलाई गाडीमा चढ्न नदिएको भन्दै दमक बहुमुखी क्याम्पसका विद्यार्थीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेपछि सडक खुलाउने क्रममा यातायात व्यवसायी र विद्यार्थीबीच झडप भएको थियो ।

गत चैत २३ गते स्वतन्त्र विद्यार्थी युनियन, यातायात व्यवसायी र प्रहरीबीच नेपाल सरकारले सवारीसाधनमा विद्यार्थीहरुलाई दिएको छुट अनुसार ४५ प्रतिशत सहुलियतमा बिद्यार्थीलाई गाडीमा चढ्न दिने सहमति समेत भएको थियो । तर, मे १ ख २४६६, मे१ख २१५७, बा५ख २१४९ र मे१ख ५८५६ नम्बरको बसले विद्यार्थी चढाउन नमानेको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका थिए ।

उनीहरुले सहमति पालना नगरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीको ध्यानाकर्षण समेत गराएका थिए । डीएसपीको ध्यानाकर्षण गराएपछि विद्यार्थीहरु सडकमा उत्रिएर समस्या समाधानका लागि चक्काजाम गराएका थिए । उक्त चक्काजाम खुलाउन प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरु घाइते भएका थिए ।

कार्यक्रममा दमक बहुमुखी क्याम्पसका स्ववियु सभापति विनोद चापागाईले नेपाल सरकारले विद्यार्थीहरुलाई दिएको छुट, विद्यार्थीहरुले उपयोग गर्न पाउनुपर्ने बताए । उनले नेपाल सरकारले तोकेको भाडादर र विद्यार्थी र ज्येष्ठ नागरिकले पाउने छुटसहितको भाडादर सवारीसाधनमा देखिने गरी राख्नुपर्ने, ड्राइभर, खलासी र कण्डक्टरको पोशाक र परिचयपत्र अनिवार्य हुनुपर्ने बताए । पछिल्लो समय यातायात व्यवसायीका कारण विद्यार्थीहरुले ठूलो मार खेप्नुपरेको बताउँदै उनले विद्यार्थी र यातायात व्यवसायीबीचको विवादको दीर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै दमक बहुमुखी क्याम्पसका स्ववियु सचिव रोशन भण्डारीले क्याम्पसमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई नेपाल सरकारले सवारीसाधनमा दिएको छुट यातायात व्यवसायीले अनिवार्य उपलब्ध गराउनुपर्ने बताए । पछिल्लो समय यातायात व्यवसायीहरुले विद्यार्थीहरुलाई गर्ने दुव्र्यवहार बढेको बताउँदै उनले त्यसलाई तत्काल रोक्नुपर्ने बताए । विद्यार्थीहरु क्याम्पस पोशाकमा क्याम्पस आउँदा सवारीसाधनमा चढ्न नपाउने र क्याम्पस पोशाकमा नआउँदा क्याम्पस प्रशासनले क्याम्पसमा पस्न नदिने भएका कारण कतिपय विद्यार्थीहरु क्याम्पसै आउन छोडेको उनले बताए ।

त्यस्तै दमक बहुमुखी क्याम्पसका स्ववियु कोषाध्यक्ष सुनिल धिमाल, सदस्य सागर साम्बाले विद्यार्थीहरुलाई सवारीसाधनमा नेपाल सकरारले दिएको छुट यातायात व्यवसायीले दिनुपर्ने बताए । उनीहरुले सवारीसाधनका कण्डक्टर, खलासी लगायतले विद्यार्थीहरुलाई दुव्र्यवहार गरेको र जसकारण विद्यार्थीहरु क्याम्पस आउन नै नचाहेकोले त्यस्ता कण्डक्टर तथा खलासीहरुलाई कडाभन्दा कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा दमक बहुमुखी क्याम्पसका अनेरास्ववियु क्रान्तिकारीका कविन्द्र पौडेलले विद्यार्थीहरुलाई सवारीसाधनमा नेपाल सकरारले दिएको छुट यातायात व्यवसायीले अनिवार्य उपलब्ध गराउनुपर्ने बताए । उनले दमकमा भएको यातायात व्यवसायी र विद्यार्थीबीचको विवादलाई वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा मानवअधिकारकर्मी रुपक खनाल, उपभोक्ता अधिकारवादी मदनगोपाल सुब्बा, विद्यार्थी नेता नविन ढुंगाना लगायतले वार्ता र संवादबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । उनीहरुले विद्यार्थी र यातायात व्यवसायीबीचको विवाद दमकको मात्र नभएर प्रदेश नं. १ कै समस्या भएकाले त्यसको दीर्घकालीन समाधानका लागि सरोकारवालाहरुबीच बहस चलाउनुपर्ने बताए ।

नेपाल सरकारले यातायात व्यवसाय सम्बन्धमा जारी गरेका नीति, नियम, मापदण्ड समेतलाई यातायात व्यवसायीहरुले पालना गर्नुपर्ने, यदि पालना नगर्ने यातायात व्यवसायीहरुलाई स्थानीय प्रशासनले कडाभन्दा कडा कारवाही गर्नुपर्नेमा सहभागीहरुको जोड थियो ।

यातायात व्यवसायीसँग विभिन्न मिति र समयमा भएका सहमतिहरुलाई अक्षरशः पालना गर्नुपर्ने र त्यो पालना नगर्ने यातायात व्यवसायीहरुलाई यातायात सम्बन्धी कानून नीति, नियम र मापदण्ड अनुसार कारवाही गर्नुपर्ने उनीहरुले बताए ।

यातायात व्यवसायीहरुले विद्यार्थी तथा यात्रीहरुलाई सुरक्षित र भरपर्दो यात्रा गराउनका लागि अहिलेसम्म भएका गल्तीहरुलाई सुधार्न लाग्नुपर्ने र हालसम्म भएका विवादहरुलाई छलफल र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा सहभागीहरुको जोड थियो । छलफलको सहजीकरण संवाद समूह झापाका सहजकर्ता अधिवक्ता दीपेन्द्र भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)