Aamsanchar

हाइटेन्सन बिजुलीको तारले स्थानीय असुरक्षित

Author Image
मङ्गलवार, वैशाख ११, २०७५

भद्रपुर।

हाइटेन्सन बिजुलीको तारले दक्षिणी झापाको बनियानी बजार क्षेत्र असुरक्षित बन्दै गएको छ ।बजार क्षेत्रमा अग्ला घर तथा भवन निर्माण हुन थालेपछि सडक छेऊका हाइटेन्सन बिजुलीको तारले सो क्षेत्र असुरक्षित बन्दै गएको हो । बजार क्षेत्रबाटै हाइटेन्सन बिजुलीको तार लगिएपछि ६ महिनाको अवधिमा बनियानी बजारमा तीन जना मजदुर करेन्ट लागेर घाइते भएका छन् ।

यसैबीच सोमबार दिउँसो हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेर कचनकवल गाउँपालिका–२स्थित दुर्गाभिट्टा निवासी अन्दाजी ४० बर्षीय टीकाराम भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करेन्ट लागेर भण्डारीको दाहिने हात जल्नुका साथै शरीर र खुट्टामा गम्भीर चोटमा लागेको प्रहरीले जनाएको छ । हाल उनको ओम साई पाथीभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कचनकवल–६ बनियानी बजार निवासी तीर्थ दाहालको निर्माणाधीन घरमा रंग लगाउँदै गरेको अवस्थामा भण्डारीलाई सडक छेऊको हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेको प्रत्यक्षदर्शी मजदुर पुजन ढुंगेलले बताए । बाँसको सिँढीमा चढेर घरको भित्तामा रंग लगाउँदै गरेको अवस्थामा उनलाई सडकको हाइटेन्सन तारले छोएर शरीरमा आगो लागेको उनले बताए ।

गत असोजमा दाहालकै निर्माणाधीन घरमा प्लाष्टरको काम गरिरहेका दुई मजदुर सोही बिजुली तारबाट करेन्ट लागेर घाइते भएका थिए । कचनकवल गाउँपालिका–६ बस्ने ३० वर्षीय बासीलाल राजवंशी र २५ बर्षीय मोहन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । एउटै घरमा दुईपटक मजदुरलाई करेन्ट लाग्दा समेत सम्बन्धित घरधनी र निकायले यसतर्फ कुनै चासो नदेखाउँदा लापरवाही बढ्न थालेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)