Aamsanchar

सत्तामा रेटिएको ओली सरकार

Author Image
आइतवार, साउन १६, २०७३

 

bharat

 भरत शिवाकोटी

[ हाल प्रवासमा ]

                        केहि समय देखिको देशको राजनीतिक गतिरोध प्रधानमन्त्री केपी ओलीको राजिनामा सँगै कोल्टे फेरिएको छ । देश भित्रकै त्यसमा पनि सत्तागठवन्धनकै सबैभन्दा ठुलो पार्टी नेकपा माओवादी केन्द्रले आफुले सरकारलाई दिएको साथबाट अल्ल्गीएको घोषणा गरे सँगै ओली सरकार ढलेको हो । तर सरकार ढल्नुको कारणमा केवल माओवादी केन्द्र अलग हुनु मात्र हो भनेमा अन्याय हुन जान्छ किनभने नेपथ्यावाट सरकार ढाल्नका निमित्त खेलिएका खेलहरु दिनानुदिन उदाघाटित भैरहेका छन र भैरहने छन । आफुलाई देशको स्थिर राजनिति तथा विकास चाहने भाषण गरेर विगत लामो समयबाट त्यसको ठिक उल्टो काम गरिरहेको पार्टी नेपाली कांग्रेसको मुख्य तर अप्रत्यक्ष अग्रसरतामा अनि त्यो भन्दा ठुलो दिल्लीको चाहनामा ओली सरकार ढालिएको भन्ने सामान्य चेतना भएका बहुसंख्यक नेपालीहरुलाई जगजाहेर भएको विषय हो । यसभित्र अरु साझेदार तथा दुतहरुको अथक प्रयास पनि निक्कै सोचनीय रहेको छ ।

Nepal's Prime Minister Khadga Prasad Sharma Oli, also known as KP Oli, observes a minute of silence for earthquake victims during an event organised to mark the 18th National Earthquake Safety Day and the official launch of earthquake reconstruction efforts in Bungamati village, Nepal January 16, 2016. REUTERS/Navesh Chitrakar

Nepal’s Prime Minister Khadga Prasad Sharma Oli, also known as KP Oli, observes a minute of silence for earthquake victims during an event organised to mark the 18th National Earthquake Safety Day and the official launch of earthquake reconstruction efforts in Bungamati village, Nepal January 16, 2016. REUTERS/Navesh Chitrakar

सत्ता सम्हालेको नौ महिना पश्चात अनेकौ तिकडमहरुलाई पक्ष तथा विपक्षी द्वारा सार्थकतामा परिणत गर्दै सरकारबाट वाहिर धकेलिएका ओलीले देश र जनताका निमित्त विकास र समृदिको रेखा कोर्दै थिए, सपना देखाउँदै थिए । अत्यन्त कठिन परिस्थितिमा मुलुक सम्हाल्ने साहस गरेका ओलीले आफ्नो कार्यकालमा रास्ट्रियता र स्वाभिमानलाई काँही कतै लम्पसार पारेनन बरु जनताको साथ र सहयोगमा त्यसलाई अझै उचाइमा पुर्याउने काम गरे भन्दा अत्युक्ति नहोला । नाकाबन्दीको माध्यमबाट आफ्नो अनुकुलको नियम अथवा कानुन बनाउन मरिमेटेर लागेको भारत अन्ततः चट्टानी अडानसँग घुँडा टेक्यो भने सँगै नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने प्रजातन्त्रका पहरेदार भनाउँदाहरु समेत नतमस्तक बनेको कालान्तरसम्म कसैले भुल्ने छैनन । हरेक मान्छेका आ-आफ्नै किसिमका स्वभावहरू हुन्छन, यस्तै स्वभाव ओलीमा पनि थियो जो सबैलाई जानकार रहेको छ । काम गर्ने सन्दर्भमा अभिव्यक्त ओलीका विचारहरु सँगै प्रवाह भएका उखान र टुक्काहरुले नेपाली राजनीति केहि समय सिनेमा क्षेत्र जस्तै भएको थियो । यहि विषय उनको जरा काटनेहरुका लागि काफि पनि भयो तर न त ओलीले आफ्नो स्वभावमा परिवर्तन ल्याए न त ठेट उखान टुक्का भन्न नै छोडे अनि न त काम गर्ने लक्ष्यलाई चेतना भएर अचेतानामा बरबराउने जमातहरुको विरोधमा प्रभावित नै पारे । राजनीतिमा खडेरी लागिरहेका बेला देश र जनताका निमित्त काम गर्ने लक्ष्य र उदेश्यलाई सफलिभुत सावित गर्नका निमित्त राजनीतिमा लाग्नु पनि एउटा समाजसेवा हो भन्ने कुरालाई उनले एकपछि अर्को गर्दै प्रमाणित गर्न थाले । चाहे त्यो धेरैलाई हाँस्यास्पद बनेको ग्याँस निकाल्ने काम होस अथवा हावाबाट विजुली निकाल्ने काम होस, समुन्द्रमा भुपरिवेस्ठीत देशको अधिकारको प्रयोग गरेर पानी जहाज चलाउने योजना होस अथवा रेल कुदाउने नै किन नहोस वा पेट्रोलियम खानी उत्खनन तथा अन्य अन्वेशण गर्ने काम ।

पक्कैपनि यी कामहरु सम्पन्न गर्न दिर्घकालिन समय लाग्दथ्यो तर प्रक्रियागत रुपमा देखिनेगरी कामहरु खरायोको गतिमा शुरु हुन थाले सँगै आधा दर्जन बढी तुइनहरु विस्थापित भए भने दर्जनौ तुइन हटाउने काम आज पनि चालु छन । काठमाडौं-तराई जोड्ने द्रूतमार्ग भारतीयलाई दिने राष्ट्रघाती सम्झौता खारेज गरेर नेपालले नै बनाउने गरी प्रक्रिया अघि बढन थाल्यो, मृगौला रोगीलाई निःशुल्क डाईलाईसीस सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढन थाल्यो भने आगामी कार्ययोजनाका निमित्त बजेटले झनै जनमुखी कार्यक्रम प्रस्तुत गरयो । जनतासम्म देखिनेगरी विकास र परिवर्तन ल्याउने किसिमको बजेटले यथास्थितिमा रमाउन चाहनेहरुलाई खपी नसक्नुको पिँडा भयो । जतिसुकै राम्रा कामहरु भएपनि विरोधीहरुले भएका र भैहाल्ने कामहरुलाई सस्तो लोकप्रीयता भनेर परिभाषीत गर्न थाले भने दिर्घकालिन कामहरुलाई दिउँसै देखेको सपना भनेर झ्याली पिटन थाले तर जति नै भ्रमको खेति गर्न खोजे पनि सरकारका कामहरु कार्यान्वयनमा देखिन थाले,जनताहरु ओली सरकार प्रति विश्वस्त हुने क्रम दिन दुइगुणा र रात चौगुणाले बढन थाल्यो ।

यस्तो माहोलमा टुलुटुलु भएका विकास र परिवर्तनलाई कैद बनाएर सँधै आफ्नो राजनीतिक अभिस्ट र स्वार्थ पुरा गर्नेहरु सरकारको कामलाई उखानटुक्का भनेर आलोचना गरेर मात्र नपुग्ने निश्कर्समा पुगे । यदि नौ महिना नहुँदै प्रतिकुल परिस्थितिमा पनि अनुकुलता खोज्दै यतिका कामहरु अगाडी बढाउन सफल ओली सरकार आगामी चुनाव सम्म रहे यथास्थितिमा रमाउनेहरु अनि उग्र क्रान्तिकारितामा आफुलाई परिभाषीत गर्नेहरु दुवैले आफ्नो भविष्य धिलमिलाउन सक्ने रास्ट्रघाती विशलेषण गर्न पुगे । के खोज्छस काना आँखा भने झैँ नेपालको स्थायित्व र विकास कहिल्यै नचाहने भारतले यो विशलेषणलाई भरमग्दुर उपयोग गर्दै थप मलजल गर्ने मौका पायो र १७००० नेपालीहरुको रगताम्मे लाशाहरुमाथी उभिएको जनाताको पार्टी भनेर उफर्ने माओवादी केन्द्र समेत स्थापना देखि दिल्लीको निगाहामा चल्ने नेपाली कांग्रेसको पछ्यौरी समाउँदैलोकप्रीय बन्दै गरेको सरकार गिराउनका निमित्त घुमाउरो गरि दिल्लीको शरणमा पुग्यो ।

हुन त यहाँ कहिलेका १६ बुँदे अनि कहिलेका ९ बुँदे अनि कहिलेका भद्र सहमतिको रटान गर्नेहरु पनि कम छैनन । तर यी सबै प्रतिकुलतामा देखाउने अस्त्रहरू मात्र हुन, प्रधान कुरा चाँहि राजनीतिक सत्ता स्वार्थ मोह र भारतको चाहना नै हो । भद्र सहमति तथा अन्य समय-समयका समझदारीका विषयहरुमा पनि तर्क नै त गर्न सकिएला सँगै सरकारका गल्ति कमजोरीहरु पनि होलान र छन तर जुन कोशिसका साथ सरकार ढाल्नैपर्ने नजिर देखाइएको छ त्यो मिथ्या सावित भएको छ जो आँफैमा तथ्यहिन प्रमाणित भैसकेको छ । किनभने आजपनि ओली सरकारले देश र जनताप्रति गरेका गल्तिहरु कसैले औंल्याउन सकेका छैनन, यो नै अविश्वासको प्रस्तावलाई गलत भन्न सकिने बलियो प्रमाण हो ।

चाहे जे होस, बजेटसँग आश्रित विधेयक सत्तामा जान आतुर गठबन्धनले  फेल गरे पश्चात ३ दिनसम्म अविश्वासको प्रस्तावमाथि संसदमा भएको दोहोरि जनताले राम्रै सँग नियाले । नेताहरुका अभिव्यक्ति कति तथ्यमा आधारित थिए, प्रधानमन्त्री सामु तेर्साइएका प्रशनहरु कति गहकिला र यथार्थपरक थिए अनि आफुमाथि लागेका आरोपहरुलाई प्रधानमन्त्रीले कत्तिको चित्त बुझ्नेगरी जवाफ दिए, आम नेपालीहरुले हेरिसकेका छन, सुनिसकेका छन । संसदमा व्यक्त विचार र चित्रले  सत्य र यथार्थलाई धेरैथोरै पुस्टयाई गरेको छ, नेताहरुको अनुहार जनताले पढन पाएका छन । तरपनि सरकार ढाल्ने गठबन्धनधारिहरुलाई आज पनि जनताका अनेकौं प्रशनहरु रहेका छन, जसको तथ्यपरक उत्तर न त कसैले दिएका छन, न कसैले दिने ल्याकत नै राख्छन, उत्तरहरु थाहा पाउन समयलाई नै पर्खनुपर्ने छ ।

अविश्वासको प्रस्ताव पेश गर्ने वहादुर नेताले रोस्टममा उभिएर वेतुक लगाएका आरोप उपर प्रधानमन्त्रीले जवाफ दिइरहदा उनि र उनका सारथिहरू सन्नाटा,छटपटी र अप्ठयारोपनमा असहज बनेका थिए,अनुहारमा नियाल्दा पश्चतापका रेखाहरु दौडिएको प्रस्ट देखिन्थ्यो । यस्तो लाग्थ्यो कुनै विवाह समारोहमा दुलहीले डोली चढदै आफ्नो माइती घर छोडन लाग्दा जस्तो पिँडा र निराशा अनुभुती गर्द्छिन त्यस्तै अनुभुतीमा चुर्लुम्म डुबेका देखिन्थे ती अनुहारहरु । आखिर किन त ? यदी प्रचन्डले लगाएका आरोपहरु सत्यमा आधारित थिए र ओलीले दिएका जवाफ हावादारी थिए भने त्यतिधेरै भावुकता किन छायोसिङ्गो संसदमा? सत्ता छोडन मानेन अथवा सत्ता लम्ब्याउन खोजेका जस्ता आरोप खेपेका ओलीमा देखिनुपर्ने यस्ता दृश्यहरु किन प्रचन्ड र उनका सारथिमा देखियो ?  २६ बर्षको ईतिहासमा पहिलोपटक नेपाली जनता सडकमा नै उत्रेर वर्तमान सरकारको नै निरन्तरता हुनुपर्छ भन्ने आवाज किन उर्लियो ? ओलीले देश र जनताका विपक्षिमा गरेका कामहरु के के हुन ? भारत र चिन भ्रमणमा जाँदा गरेका राष्ट्रियता विरोधी सन्धि र सम्झौताहरु के के हुन ? यी यावत सवालमा जनताले खोजेका उत्तरहरु दिने हिम्मत कसैमा छैन, छ त केवल वेतुक तर्क, जनता ढाँटने प्रवृती र सत्ताको रसस्वादन ।

हिजोका दिनहरु भन्दा आजका दिनहरुमा तुलनात्मक रुपमा जनताको चेतनास्तर माथि उठेको छ भने नेताको ढँटुवा प्रवृती उस्तै रहेको छ । त्यसैले हिजो जस्तै जनतालाई जे भने नि हुन्छ भन्ने किसिमले नेताहरु जनतामाथि कपट गर्दैछन तर जनताहरु झुट मान्न तयार छैनन । सरकारले गरेका र गर्ने काममा जनताले सुझबुझ राख्ने बानिको विकास गरेका छन, कुन सहि कुन गलत छुटयाउने क्षमता राख्ने भएका छन अनी त्यही अनुसारको संचार पनि गर्दैछन । यही सुझबुझको आवाज थियो, सहिलाई सहि भन्नेहरुको आवाज थियो, विकास र परिवर्तन प्रेमिहरुको आवाज थियो अनी समुन्नत र समृदि नेपाल चाहनेहरुको आवाज थियो ओलि सरकारको निरन्तरता हुनुपर्छ भन्ने अथवा म पनि केपी ओलीको साथमा भन्ने । यसो भनिरहदा पुर्वाग्रहको पट्टी बाँधनेहरुले, सत्य बोल्ने छाती हुन नसक्नेहरुले, स्वार्थमा कसैको डम्फु बजाउनेहरुले ओली भक्त वा ओलीको झोले भन्ने बिल्ला भिराउन सक्छन । विकास र परिवर्तनको पक्षमा उभिदा राष्ट्रियता र स्वाभिमानको पक्षमा उभिदा यदी ओली भक्त भन्न कोही चाहन्छन भने तिनिहरुले आफ्ना धमिला आँखाहरुमा पानी छ्यापेर हेरुन, यो देशमा आज ओली भक्तहरु कती छन भनेर ।

ओलीले कुन परिस्थितीमा सत्तारोहण गरेका थिए र कस्तो परिस्थितीमा ल्याएर छोडे ? एउटा शिशु जन्मन नौ महिनाको समय अवधी आवश्यक पर्छ भने ओलिले पुग-नपुग यहि नौ महिना त्यो पनि झन्डै दुई दर्जन भिन्न-भिन्न विचार बोकेका सारथिहरुसँग सरकार सन्चालन गरे । यस नौ महिनाको समयसीमा भित्र सरकारले कती सम्म काम गर्नुपर्ने थियो ? अनी कतिसम्म काम गरयो ? त्यो खुल्ला किताब जस्तै छ । यो देशमा २०४६ को परिवर्तन पश्चात नौ महिना वा त्यो समय भन्दा बढी संयुक्त सरकारको नेत्रित्व क-कसले गरे र कती समय सरकार सन्चालन गरेर देश र जनताका निमित्त के-के काम गरे ? अन्धभक्त भएर ओलीको विरोध गर्नेहरुले समिक्षा गरुन । बर्खामा आएको बाढिमा ओली काकाको जहाज आउँदैछ भनेर खिसिउटरी गर्ने आची भरिएको मानसिकता भएकाहरुले मनन गरुन र तथ्य सहित भन्न सकुन कि ओली सरकार भन्दा यो संयुक्त सरकारले यी कामहरु देश र जनताका पक्षमा गरेका थिए । तर विचरा पिछलगुहरु चेतना जती जानाजान बन्दक राखेर भ्रममा उफर्ने अनी जता मल्खु उता ढल्कु गर्दै कुतर्कको खेती फिजाउनेहरुमा यो हिम्मत नै कहाँ हुन्छ र ! यसो गरे त आफु पस्ने खाडल आँफै खन्नु जस्तै हुन्छ, कठै यसो गर्न को तयार हुने ।

ओली सरकार ढल्दाढल्दै सरकारले नेपाल र नेपालीका निमित्त छोडेका विकास र समृदिका छापहरु अनी राष्ट्रियता र स्वाभिमानका छापहरु भोली सम्म पनि अविस्मरणीय रहनेछन भन्ने कुरामा कुनै दुइमत छैन जसरि आज मनमोहनको नौ महिने सरकारलाई धेरै जनताले सम्झिरहेका छन । सत्तारोहण गर्दा उनले भनेको म फोटो झुन्डयाउन प्रधानमन्त्री भएको होइन देश र जनताका निमित्त केही गर्न सक्छु भनेर प्रधानमन्त्री भएको हो भन्ने कुरा प्रमाणीत गरेर देखाउने कोशीस गरे तर विडम्बना यो कोशीसमा आफ्नै जातका पार्टीको समेत साथ रहेन बरु सत्ता छोडेको एक हप्ता नहुँदै यिनै आफ्ना जात भनाउँदाहरुले मिथ्या आरोप लगाए कि ओली सरकार त संघियता विरोधी, गणतन्त्र विरोधी, राजतन्त्रवादिहरुसँग घाँटी जोडीएको आदी आदी भनेर । अनि फेरी यसो भनेको केहि घण्टा नबित्दै तिनै महान नेताले भने कि ओली त राजनेता हुनुहुँदो रहेछ, कति टिठ लाग्दो माया अनि विशलेसण र दृस्टिभ्रम । यस्तै छलाङ्गपूर्ण दुरदृस्टिले हिजो सम्म त्यही सरकारमा रहेको बिर्सिएर विगतमा आफ्नै टाउकाको मुल्य तोक्दै झोलामा लिएर आए खोका दिने भनेर घोषणा गर्नेहरुसँग आज जोडीएको स्वार्थको घाँटिलाई के परिभाषीत गर्ला ! अनि यो तुलनात्मक रुपमा कती प्राकृतिक वा अप्राकृतिक हो समय क्रमले पुस्टि गर्नेछ । हिजो ओली जुन परिस्थितीमा राष्ट्रियता र स्वाभिमानका पक्षमा सत्तिसाल झै उभिएर सम्मानका साथ सत्तारोहण गरेका थिए आज त्यही भावनालाई हल्लिन नदिकन थप उच्च शिर र सम्मानका साथ विदा भएका छन तर हिजो रास्ट्रियता र स्वाभिमानको पक्षमा काँध मिलाउने सारथिले आज त्यसलाई क्षमा पुजा गर्दै विपक्षीमा उभिने सँग मित लगाएको छ । हेरौं यो क्षमा पूजा र मित कसका लागि कती महङ्गो पर्नेछ ।

अतः मुलुकमा कुनै कायापलट नभए अबको केहि दिनमा नै कांग्रेश नेता रामचन्द्र पौडेलकै शब्दमा भन्नुपर्दा देशको निमित्त प्रधानमन्त्री बन्न लागेका प्रचण्डलाई निवर्तमान हुँदै गरेको सरकारले अघी सारेका दिर्घकालिन लक्ष्य र योजनाहरु कवावमा हड्डी बन्ने निश्चित छ,हेरौं उनले यो हड्डिलाई निल्ने साहस गर्छन वा ओकल्ने२-४ महिनामा देखिएला । तथापि यो समय ओलीलाई सत्ताच्युत गर्दै उज्यालो बत्ती र सुनौलो विहानी निभाउन पाइयो भनेर नेपथ्यामा खुशी मनाउनेहरु समृदि र विकासको नौ महिने शिशुको सफल हत्यामा देश देखी विदेश सम्म हर्सबडाई गरिरहेका छन । आशा गरौं, जनताले हत्याको लहरो र हत्याराको साँठगाँठ गर्ने सबैलाई पहिचान गर्ने सामर्थ्य सँगालेर राखिरहुन । जुन देश र जनताका पक्षमा काम गर्दागर्दै रेटिएको सरकारलाई जनादेशका रुपमा अभिव्यक्त हुनेछ अनी ओलीको लागि होइन भोलिको लागि हुनेछ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर