Aamsanchar

अर्जुनधारामा शंकराचार्य गिरी अभिनन्दित

Author Image
मङ्गलवार, साउन २९, २०७५

अर्जुनधारा।

नेपाली महिलाहरु घर, समाज, राजनीति हुँदै धर्मकर्ममा समेत शोषित भएको वर्तमान अवस्थामा उनीहरुको रक्षाको लागि सम्पूर्ण मातृशक्तिहरु एकत्रित हुनुपर्ने प्रथम जगतगुरु शंकराचार्य हेमानन्द गिरीले बताएकी छिन् ।

श्रावणी पर्वको सन्दर्भमा अन्तिम सोमबार अर्जुनधारा–७स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा धाम व्यवस्थापन समितिद्वारा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शंकराचार्य गिरीले सो कुरा बताएकी हुन् ।

विश्वको प्रथम महिला जगतगुरु शंकराचार्य समेत रहेकी उनले उन्नत शिखरमा पुग्दा पनि अनेक किसिमको लाञ्छना, टीकाटीप्पण गर्ने संकीर्ण विचार र मानसिकता भएका मानिसहरुबाट मातृशक्तिहरुप्रति उपहास र निन्दा गर्ने कार्य गलत भएको बताइन् ।

‘हाम्रा छोरीचेलीहरु विदेशमा बेचिएका छन्, कोठीमा रोएर बसेका छन्, अन्याय र अत्याचार सहन नसकेर सडकमा आएका हुँदा उनीहरुको रक्षाको लागि अभियान सञ्चालन गर्न सबैले साझा संकल्प लिनुपर्दछ– उनले भनिन् । मातृशक्तिहरु अध्यात्म, उन्नति र प्रगतिको चरम सीमामा पुगेको हुँदा त्यस गौरवको अनुभूत गर्न प्रत्येक मातृशक्तिहरुले पाउनुपर्ने उनले बताइन् । महिलाहरुलाई कुनै पनि क्षेत्रबाट अगाडि बढ्न दिनुहुँदैन भन्ने संकीर्ण सोच भएका मानिसहरुबाट नभागी उनीहरुलाई परास्त गर्दै ज्ञानी, सज्जन र अध्यात्मको रक्षा गर्नका लागि उनले सबैलाई आग्रह गरिन् ।

त्यसैगरी आत्माको उन्नति नभई राष्ट्र र अध्यात्मको उन्नति नहुने, धर्म, मठमन्दिर, साधुसन्त र सम्पूर्ण जीव जगतको रक्षा नहुने हुँदा सँधै आत्मा उन्नतिको लागि उन्मुख हुनुपर्नेमा उनले जोड दिइन् । त्यस्तै अर्जुनधारा जलेश्वरधाम तीर्थमात्र नभई तपोभूमि, सिद्धभूमि र शक्तिभूमि भएको हुँदा यस तीर्थको दर्शन मात्रले सबै प्रकारका इच्छाहरु पूर्ण हुने उनले दावी गरिन् ।

समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि शंकराचार्य गिरीलाई अभिनन्दन पत्रद्वारा अभिनन्दित गरिएको थियो । धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले स्वागत गरेको समारोहको समितिका सदस्य भानुप्रसाद शिवाकोटी र उर्मिला दाहालले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
यसैबीच श्रावणी पर्वको अन्तिम सोमबार अर्जुनधाराधाममा हजारौंको संख्यामा उपस्थित भक्तजनहरुले भगवान शिवमा जलार्पण गरेका थिए । बिहान ३ बजेदेखि नै जलार्पण कार्यमा भक्तजनहरु सहभागी भएको समितिका महासचिव विष्णुप्रसाद निरौलाले बताए ।

जलार्पण र पूजाअर्चनका लागि आउने भक्तजनहरुलाई लक्षित गरी विभिन्न संघ–संस्थाहरुले धाम परिसरमा सामाजिक कार्यक्रमहरु सञ्चालन गरेको समितिका सदस्य शेखर प्रधानले जानकारी दिए । उनका अनुसार नेपाल मैथिली समाज नगरले स्थानीय शंकर हस्पिटलको प्राविद्यिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर र खीर, मेची माहेश्वरी महिला मञ्च बिर्तामोडद्वारा दूधको सर्वत, इलाम–झापा मैत्री समाजद्वारा निःशुल्क जुस, विराटनगरस्थित एसीयन थाई फुड्स र बिर्तामोडस्थित माछापुच्छ्रे बैंकद्वारा निःशुल्क पानी वितरण गरेको बताइएको छ ।

त्यसैगरी स्थानीय अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय, रुपरत्न मेमोरियल बोर्डिङ स्कूल, महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था, ‘हामी ३८ से’ समूह, अर्जुनधारा फुटबल क्लब, दाह्री ग्याङ झापा, हेल्पिङ ह्याण्ड्स बिर्तामोड लगायतका संस्थाहरुले स्वमम्सेवकको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी, सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरे र प्रहरी चौकी शनिश्चरेले सुरक्षा प्रदान गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र ट्राफिक प्रहरी बिट शनिश्चरेले सवारीसाधन व्यवस्थापन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर