Aamsanchar

विदेशबाट फर्किएर व्यवसायमा उत्कृष्ट

Author Image
आइतवार, भदौ ३, २०७५

बिर्तामोड ।

बैदेशिक रोजगारीका लागि विदेशिनेको संख्यामा झापाली युवायुवती अग्रस्थानमा छन् । तर, विदेशबाट फर्किएका केही युवाले नेपालमा नै विभिन्न पेशा अंगालेर मनग्य आम्दानी गरिरहेका छन् । वैदिशक रोजगार विभागले सबैभन्दा धेरै युवायुवती झापाबाट विदेशिएको जनाएको छ ।

पछिल्लो समय अध्ययनको सिलसिलामा युरोपियन देशहरुमा समेत विदेशिनेको संख्या बढ्दै गएको छ । नेपालमा रोजगारीको वातावरण नभएको भन्दै विदेशिनेको संख्या दिनानुदिन बढिरहे पनि विदेशमा श्रम गरेर स्वदेश फर्किएका युवाहरुले भने आफ्नै ठाउँमा विभिन्न पेशा व्यवसायमा सक्रिय रहँदै मनग्य आम्दानी गरिरहेका छन् ।

१२ बर्षसम्म कता र दुबई बसेर स्वदेश फर्किएका झापा शिवसताक्षी–८ झिलझिलेका भरत शिवाकोटी अहिले झापाकै सुरुङ्गामा गार्मेन्ट उद्योग सञ्चालन गरेर व्यवसाय गरिरहेका छन् । ५ बर्ष विदेश बसेका भाइ केशव शिवाकोटीसँग मिलेर शिवाकोटी दाजुभाइले कन्काई गार्मेन्ट सञ्चालनमा ल्याएका हुन् । तीन बर्षअघिबाट सञ्चालनमा ल्याएको कनकाई गार्मेन्टमा विभिन्न संघ–संस्था, विद्यालयमा तथा अर्डर अनुसार सबै प्रकारका कपडाहरु तयार गरिने गरेको भरतले बताए । उनले भने– विदेशको चर्को घाममा श्रम गर्नुभन्दा स्वदेशमा नै थोरै लगानीमा मेहनत गर्न सकेमा राम्रो आम्दानी गर्न सकिँदोरहेछ ।

कनकाई गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएसँगै ५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिन सफल भएको भन्दै भरतले उद्योग सञ्चालनमा ल्याएर स्वदेशमा नै केही गर्न शुरु गरेपछि पारिवारिक सन्तुष्टि मिलेको बताए । उनीहरुका २÷२ जना छोराछोरी छन् र उनीहरु बोर्डिङ स्कूलमा अध्ययन गरिरहेको भारतले जानकारी दिए । उनले झापामा मात्र नभई इलाम, मोरङ लगायतका स्थानबाट समेत विभिन्न प्रकारका कपडाहरुको अर्डर आउन थालेको बताए ।

उता ६५ सालमा कतार गएर ५ बर्षसम्म विदेशमा श्रम गरेर फर्किएका मेचीनगर नगरपालिका–११ बाँसबारीका कृष्ण सिटौलाले पनि आफ्नै घरमा नेपाली हाते कागज उद्योग सञ्चालनमा ल्याएका छन् । आफ्नै ठाउँमा केही गरौं भनेर झापामा नै नयाँ खालको उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जंगलमा पाइने लोक्तालाई ढुवानी गरेर ल्याउने तथा आफ्नो हातेकागजको उद्योगमार्फत नेपाली (पहाडे) कागज उत्पादन गर्दै आएको सिटौलाको भनाइ छ ।

झापामा उत्पादन हुने हाते कागज राजधानी काठमाडौं, जनकपुर, विराटनगर लगायतका स्थानमा निर्यात हुने गरेको उनले जानकारी दिए । पाँच ५ लाख रुपैयाँको लागतमा उद्योग सञ्चालनमा ल्याएको र हाल परिवारले नै उद्योगमा काम गर्दै आए पनि उद्योगको क्षमता बढाएसँगै अन्यलाई समेत रोजगारी दिने तयारी गरिरहेको उनको भनाइ छ । विदेशमा चर्को श्रम गरेर आर्जन गरेको रकमभन्दा स्वदेशमा नै परिवारसँग मिलेर गरेको श्रमले राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।

यता बिर्तामोड नगरपालिका–३का कुमार थापा अहिले होटल सञ्चालन गरेर बसेका छन् । ११ वर्षसम्म युएई बसेका थापाले ४ वर्ष अघिबाट तीनजुरे होटल एण्ड गेष्ट हाउस सञ्चालनमा ल्याएका छन् । १२ लाख रुपैंयाको लगानीमा ४ वर्षअघिबाट शुरु गरेको होटल ब्यवसायबाट आफू सन्तुष्ट रहेको उनले बताए । उनले भने– अर्काको देशमा पसिना बनाउनुभन्दा आफ्नै देशमा मेहनत गर्ने हो भने मनग्य आम्दानी गर्न सकिने रहेछ ।

दुई जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका थापाले आफूले नेपालमा नै केही गर्ने सोच बनाएर विदेश गएको र फर्किएपछि सोही अनुसार काम गर्दा अहिले आफ्नो ब्यवसायबाट सन्तुष्टि मिलेको उल्लेख गरे । दुई छोरालाई बोर्डिङ स्कूलमा पढाउँदै आएका थापा आफैं बिहानदेखि बेलुकासम्म होटलमा श्रम गर्ने गरेको बताउँछन् । विदेशमा अर्काको जुठो भाडो माझ्न लाज नमान्नेहरु स्वदेशमा परिश्रम गर्न हिच्किचाएका कारण विदेशिनेको लर्को लाग्ने गरेको उनको भनाइ छ । उनले साथीहरुसँग मिलेर कृषि पेशालाई पनि अगाडि बढाउने सोच रहेको जानकारी दिए ।

वर्षौसम्म विदेश बसेर स्वदेश फर्किएका युवाहरुले नेपालमा प्रशस्त सम्भावनाहरु रहेको बताएका छन् । उनीहरुले विदेश दीर्घकालीन समाधान नभएको भन्दै केही समय विदेश बसे पनि स्वदेशमा के गर्ने हो भन्ने कुराको निक्र्यौल अगाडि नै गर्नुपर्ने सुझाव दिएका छन् । विदेश जाँदा हातमा सिप नहुनेहरुले धेरै दुःख पाएको भन्दै सिप सिकेर मात्रै विदेश जान उनले सुझाएका छन् ।
विदेशमा लामो समय विताएका तीन युवाहरुले अलग–अलग पेशा गरेर जीविकोपार्जन गरिरहेको अवस्थामा यो पेशा धेरैका लागि प्रेरणाको स्रोत बन्नेमा उनीहरु विश्वस्त रहेका छन् । सबैले एउटै काम गरेमा उपलब्धी हासिल हुन नसक्ने भन्दै उनीहरुले फरक शैली र फरक कामको उद्देश्य बोकेर नेपालमा नै केही गर्न युवाहरुलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)