Aamsanchar

खेलकुदले चिनाउँदै जिल्लाकै दुर्गम ठाउँ ‘बदमटार’

Author Image
आइतवार, माघ ६, २०७५

आफ्नै वडा र सिङ्गो गाँउपालिकामा चर्चाविहिन जिल्लाकै दुर्गम भेगमा रहेको ईलामको रोङ गाँउपालिका–२मा पर्ने बदमटारको चर्चा पछिल्लोपटक खेलकुद क्षेत्रको माध्यमबाट जिल्लास्तरसम्म हुने गरेको पाइन्छ ।

कृषि नगदे बाली सुपारी, अम्लिसो र केराको व्यवसायिक खेती हुने बदमटारको चर्चा जिल्लास्तरसम्म पुग्नुको कारण हो बदमटारवासी युवा तथा बालबालिकाको खेलकुदप्रतिको आकर्षण, सहभागीतासँगै जिल्लास्तरिय प्रतियोगितामा उनीहरुले प्राप्त गर्ने सफलता ।

फुटबल र भलिबलसँगै गत वर्ष रोङ तेक्वान्दो दोजाङ स्थापना भई तेक्वान्दो खेलको प्रशिक्षणले निरन्तरता प्राप्त गरेसँगै बदमटारको चर्चा चुलिएको हो । जसको पछिल्लो उदाहरण हो जिल्लाका नौ वटा दोजाङका दुई सय बढी खेलाडीको सहभागितामा गत पुस ४ र ५ गते सम्पन्न भएको प्रथम हर्कटे क्याडेट तथा जुनियर जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा आठ स्वर्ण, तीन रजत र पाँच कास्य गरि जम्मा १६ वटा पदकसहित स्थानीय रोङ तेक्वान्दो डोजाङ बदमटार प्रतियोगितामा च्याम्पियन भएको थियो ।

दोजाङ स्थापनाको एक वर्षमै खेलाडीहरुले प्राप्त गरेको सफलताले आफूलाई अत्यन्त खुशी तुल्याएको दोजाङका मुख्य प्रशिक्षक एनआईएस प्राप्त राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक होमनाथ दुलाल बताउँछन् । तेक्वान्दोका पूर्व खेलाडी एवम् स्थानीय समाजसेवी डिल्ली ढुंगानाको आग्रहमा “विकृती, विसगंती तथा कुलतलाई निरुत्साहित गर्दै खेलकुदको माध्यमबाट सभ्य समाजको निर्माण गर्ने” अभियानसहित २०७४ साल पुस २७ गतेदेखि ५४ जना खेलाडीको सहभागितामा स्थानीय शशी माध्यमिक विद्यालयको खेलमैदानमा उनले तेक्वान्दो खेलको प्रशिक्षण शुरु गरेका थिए ।

दैनिक औषत ४५ मिनेटको दुरी मोटरसाइकलमा पार गर्दै प्रशिक्षण दिन पुग्ने झापा जिल्ला अर्जुनधारा नगरपालिका–३ निवासी प्रमुख प्रशिक्षक दुलालले खेलाडीहरुले यही सफलतालाई निरन्तरता दिने हो भने राष्ट्रिय र अन्तराष्ट्रियस्तरको प्रतियोगितामा खेलाडीहरुको पदक जित्ने लक्ष्य पूरा हुने बताए । दोजाङ स्थापना भएपछी एक वर्षको क्रममा सञ्चालक समिति गठन, प्रशिक्षणको क्रममा चार वटा ग्रेडीङ सम्पन्न भएको, वाईट बेल्टदेखि ग्रीन बेल्टसम्म खेलाडी पुगेको उनले जानकारी दिए ।

प्रमुख प्रशिक्षक दुलालका अनुसार आगामी दुई वर्षमा ब्लायक बेल्टसम्म पु¥याई दक्ष प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिएको उक्त दोजाङका सात जना खेलाडीले आगामी माघ ८ गते हुने आठौं राष्ट्रिय खेलको छनौटका लागि सहभागिता जनाउने बताइएको छ ।


चाहना हुँदाहुँदै आर्थिक अभावका कारण तेक्वान्दो खेलमा दक्षता प्राप्त गर्न नसकेको र स्थानीय युवाहरुको भविषय प्रतिको चिन्ताले गर्दा बदमटारमा तेक्वान्दो खेल शुरु गरेको पूर्व खेलाडी एवम् स्थानीय समाजसेवी डिल्ली ढुंगानाले बताए । घरदैलो अभियान सञ्चालन गरी अभिभावकलाई खेलको विषयमा जानकारी गराएपछी खेलाडीहरुको सहभागीतामा वृद्धी भएको उनले बताए । “खेल खेल्न शुरु गरेसँगै खेलाडीहरुको अनुशासनमा पनि व्यापक सुधार आएको छ”– उनले भने । दोजाङ सञ्चालक समितिका सल्लाहकार संयोजकसमेत रहेका उनले खेलाडीहरुको सफलताले थप उत्साहित बनाएको हुँदा उनले आवश्यक सहयोग गर्ने बताए ।

त्यसैगरी रोङ गाँउपालिकाका अध्यक्ष शमशेर राईले चालु आर्थिक वर्षमा खेलकुदको लागि विनियोजन गरेको नौ लाख रुपैयाँ बजेट पर्याप्त नभएको स्वीकार गर्दै आगामी दिनमा खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताए । जिल्ला च्याम्पियन भएकोमा रोङ तेक्वान्दो डोजाङलाई बधाई दिँदै आगामी आर्थिक वर्षमा डोजाङको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता अध्यक्ष राईले व्यक्त गरेका छन् ।

यसैबिच जिल्ला च्याम्पियन उक्त दोजाङका पदकधारी १६ जना खेलाडीलाई एक समारोहकाबिच सम्मानित गरिएको छ ।
दोजाङ सञ्चालक समितिकी उपाध्यक्ष बुद्धमाया तामाङको अध्यक्षता र गाँउपालिकाका अध्यक्ष शमशेर राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो ।


यसरी सम्मानित हुनेहरुमा स्वर्ण पदकधारी खेलाडीहरु आकाश तामाङ, आयुष ढुंगाना, इन्दिरा बस्नेत, उज्जवल तामाङ, जेलिना राई, मनिषा ढुंगाना, रेखा ल्वागुन र सृजना तामाङ, रजत पदकधारी खेलाडीहरु अनिल तामाङ, बादल लिम्बू र सृजना तामाङ र कास्य पदकधारी खेलाडीहरु अनुषा राई, मोहन तामाङ, रोहन सेञ्चुरी, विक्रम सुब्बा र सरगम तामाङ रहेका छन् ।
सोही कार्यक्रमको सन्दर्भमा गाँउपालिकाकोतर्फबाट उक्त दोजाङलाई २३ हजार सात सय रुपैयाँ बराबरको खेलकुद सामग्रीहरु वितरण गरिएको थियो । उक्त सामग्रीहरु गाँउपालिकाका अध्यक्ष राईले दोजाङकी उपाध्यक्ष तामाङ, सल्लाहकार संयोजक ढुंगाना, प्रमुख प्रशिक्षक दुलाललाई हस्तान्तरण गरेका थिए ।

प्रशिक्षक दुलालले स्वागत गरेको कार्यक्रममा पूर्व सांसद् टीकाराम लेप्चा, वडा नम्बर २का वडाध्यक्ष टेकबहादुर तामाङ, गाँउपालिका खेलकुद समितिका उपाध्यक्ष दिपक भूजेल, फुटबल प्रशिक्षक चिरञ्जिवी निरौला, सृजना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष उमेश श्रेष्ठ, स्रोतव्यक्ति रुपमान सुब्बा, शशि माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका कोषाध्यक्ष रविन मुखियाले गरेका थिए ।
प्रस्तुतीः अमित खम्बू

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)