Aamsanchar

१४ बर्षभन्दा कमका बालिकाले बच्चा जन्माउने क्रम बढ्यो

Author Image
बुधवार, फागुन १, २०७५

दमक।

झापाको दमकमा १४ बर्षभन्दा कम उमेरका बालिकाहरुले समेत बच्चा जन्माउने गरेको पाइएको छ ।

कूल १५ हजार ७ सय ७१ महिलालाई पहिलो सन्तान जन्मिँदाको उमेरको बारेमा गरिएको एक सर्वेक्षणले यस्तो भेटिएको हो । दमक नगरपालिकाको घरधुरी सर्वेक्षणको नतिजा र यहाँको अवस्थाको बिषयमा केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रबीच सार्वजनिक गरेका थिए ।

उक्त सार्वजनिक भएको घरधुरी सर्वेक्षणमा सुरक्षित मातृत्वको अवस्थाको विवरण समावेश गरिएको छ । उक्त प्रतिवेदन अनुसार ५५ जना अर्थात् ०.३ प्रतिशत महिला १४ वर्षभन्दा कम उमेरमा आमा बनेका छन् । ४ हजार ४ सय ७३ अर्थात् २८.४ प्रतिशत महिलाले १५देखि १९ वर्षको बीचमा पहिलो सन्तान जन्माएको उक्त सर्वेक्षणमा उल्लेख छ ।

७ हजार ९ सय ८२ अर्थात् ५०.६ प्रतिशत महिला २०देखि २४ वर्ष उमेरमा, २ हजार ६ सय १० अर्थात् १६.५ प्रतिशत महिला २५देखि २९ वर्ष उमेरमा र ५ सय १३ जना अर्थात् ३.३ प्रतिशत महिला ३०देखि ३४ वर्ष उमेरमा आमा बनेको देखिएको छ । ३५ वर्षमाथि पहिलोपटक आमा बन्नेको संख्या जम्मा १ सय ३८ जना अर्थात् ०.९ प्रतिशत रहेको पाइएको छ ।

कानूनी र प्रजनन् स्वास्थको दृष्टिकोणबाट २० वा सो वर्षभन्दा कम उमेरमा आमा बन्नु गैरकानूनी र मातृ तथा शिशु दुवैको स्वास्थ्यका दृष्टिकोणबाट जोखिमपूर्ण मानिएकाले यो सर्वेक्षणले हामीलाई गम्भीर बनाएको छ– दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले भनिन्– शारीरिक, मानसिक, आर्थिक रूपमा अपरिपक्व अवस्थामा गर्भाधान र सन्तान जन्माउँदा हुने समस्याको बिषयमा हामी नगरवासीलाई सचेत गराउँछौं– उनले भनिन् ।

नगरपालिकामा रहेका २० हजार ५ सय ३४ जना १५ देखि ४९ वर्षभित्रका विवाहित महिलाहरूको विभिन्न उमेर समूह अनुसार लिइएको तथ्याङ्क अनुसार २ वटा जीवित शिशुलाई जन्मदिने महिलाहरूको संख्या सबैभन्दा धेरै ७ हजार ७० रहेको पाइएको छ । यो संख्या ३४.४३ प्रतिशत हो ।

दोस्रोमा १ वटा जीवित शिशुलाई जन्मदिने महिलाहरूको संख्या ५ हजार ७ सय ८९ जना अर्थात् २८.१९ प्रतिशत रहेको पाइएको छ । उमेर समूहको आधारमा सबैभन्दा धेरै ३० देखि ३४ वर्षको उमेर समूहका महिलाहरूले शिशुलाई जन्म दिएको सर्वेक्षण नतिजामा उल्लेख छ । यो तथ्याङ्कबाट नगरपालिकाको परिवारको औषत आकारमा अर्थात् महिलाको खुद प्रजनन् दर घट्दै गैरहेको पाइएको बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)