Aamsanchar

समृद्ध नेपालको अभियान रोकिन्न : प्रधानमन्त्री

Author Image
आइतवार, जेठ १९, २०७६

पोखरा।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रो कामको जति विरोध गरे पनि समृद्ध नेपालको अभियान नरोकिने बताउनुभएको छ । हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा स्थापित रवीन्द्र अधिकारी स्मृति प्रतिस्ठानको पोखरामा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले प्रमुख कार्यभारको रूपमा ल्याएको ‘ समृद्ध नेपाल, सुखी नेपाली’को अभिभारालाई सफल पु¥याउन सरकारको गति थप अगाडि बढाइने बताउनुभएको हो ।

मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूमध्ये पारदर्शी तरिकाले कुनै लोभ लालचा नराखी काम गर्ने रवीन्द्र अधिकारीलाई गुमाए पनि उहाँले लिएको अभिभारा पूरा गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभयो । नेपालको पर्यटन क्षेत्र, नेपालको सांस्कृतिक क्षेत्रको विकासका लागि ठोस काम भएको भन्दै प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत भैरहवा र सिमरामा बन्दै गरेका विमानस्थलसँगै अन्य विमानस्थलको सुधारका लागि अधिकारीले ठूलो मेहनत गरेको बताउनुभयो ।

वाइडबडी विमान खरिद प्रकणमा भएको अनियमिततामा वर्तमान सरकारको दोष नभएको भन्दै सरकार बन्नु भन्दा पहिला भएका अनुचित कार्यलाई वर्तमान सरकारसँग जोडेर सरकारलाई असफल बनाउन ठूलो शक्ति लागेको प्रधानमन्त्रीले बताउनुभयो । आफूले वाइडबडी खरिद प्रकणमा रवीन्द्र अधिकारी दोषी छैनन् भनेर बोल्दा धेरैले न्यायाधीश बनेको भनेर आलोचना गरेको भन्दै प्रधानमन्त्री ओलीले आफूले सत्य बोलेकाले अहिले पनि त्यो बोल्ने बताउनुभयो ।

अधिकांश समय रवीन्द्र अधिकारीले गरेका कामको प्रशंसामा व्यतित गर्नुभएका प्रधानमन्त्री ओलीले कहिल्यै निरास नहुने अधिकारीले मन्त्री भएर काम गरेको छोटो अवधिमा आफूलाई समेत समृद्ध नेपाल निर्माण गर्न सकिने आधारका बारेमा धेरै ज्ञान दिएको बताउनुभयो ।
नेपालमा थुप्रै प्रतिष्ठान स्थापना हुने गरेको भन्दै रवीन्द्र अधिकारीको नाममा स्थापना भएको प्रतिस्ठान विवादरहित प्रतिष्ठानको रुपमा रहनुपर्नेमा जोड दिनुभयो ।

मदन भण्डारीको विचारकै कारण अहिले नेपाल समृद्धिको अभियानमा लागेको भन्दै प्रधानमन्त्री ओलीले मदन भण्डारीले स्थापित गरेको जनताको बहुदलीय जनवादकै कारण मुलुक यो स्थितिमा आइपुगेको बताउनुभयो । नेपालमा कम्युनिस्ट आन्दोलनमा संस्थापक पुष्पलाल र वैचारिक रूपमा मदन भण्डारीको अतुलनीय योगदान रहेको भन्दै उहाँहरू जस्तै राजनीतिक, सांगठनिक तथा वैचारिक रुपमा खारिएका अधिकारीले थालेका सबै कामलाई वर्तमान सरकारले पूरा गरेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीओलीले पार्टीभित्र वा बाहिरबाट हुने आलोचनाले कम्युनिस्ट आन्दोलनलाई कुनै फाइदा नहुने भन्दै विरोधीहरुलाई हौसला प्रदान गर्नेगरी यस्ता गतिविधिहरू नगर्न पार्टीका नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारकै काम गर्दा गर्दै दिवंगत हुनुभएका अधिकारीको सम्झनामा स्थापना भएको रविन्द्र स्मृति प्रतिष्ठानलाई सशक्तरुपमा अगाडि बढाउनका लागि सरकारकातर्फबाट एक करोड रुपियाँको कोष स्थापना गर्र्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रवीन्द्र अधिकारी गण्डकी प्रदेशकै चम्किलो ताराका रुपमा रहेका अधिकारीलाई गुमाउँदा ठूलो क्षति भोग्नुपरेको भन्दै उहाँले थालेका समृद्ध नेपालको अभियानलाई प्रदेश सरकारले साथ दिने बताउनुभयो । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानका संयोजक एवं अधिकारीका श्रीमती विद्या भट्टराईले अधिकारीले समाज निर्माणका लागि थालेको अभियानलाई साथ दिनका लागि खोज तथा अनुसन्धानमा केन्द्रित हुनेगरी प्रतिष्ठान स्थापना गरिएको जानकारी दिनुभएको थियो ।-चन्द्रप्रकाश शर्मा/गोरखापत्र दैनिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर