Aamsanchar

सुजाता काेइरालाद्वारा समानान्तर कांग्रेस सञ्चालन, गुटले थला पर्‍याे पार्टी

Author Image
आइतवार, असार १, २०७६

काठमाडौं ।

नेपाली कांग्रेसभित्रको गुटको रोग निको हुने कुनै संकेत देखिएको छैन । कांग्रेसभित्र गुटको विवाद आगो झैँ सल्किएको छ ।

सभापति शेरबहादुर देउवाले गुटको राजनीतिलाई मिलाउन सकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो गुटलाई सम्हाल्न सकेका छैनन् ।

पौडेलले गुटलाई सम्हाल्न नसक्द महामन्त्री डा.शशांक कोइराला, डा.शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंहहरूले आ–आफ्ना गुट चलाएका छन् ।

सुजाता कोइरालाले गुट नचलाए पनि उनले कांग्रेसका असन्तुष्ट नेताहरूलाई जम्मा गरेर जीपी फाउण्डेशनका नाममा समानान्तर कांग्रेस चलाइरहेकी छिन् । जीपी फाउण्डेशनलाई प्रत्येक जिल्ला, नगर र गाउँपालिका तथा विदेशमा प्रवास समितिहरू समेत बनाइएका छन् ।

नेपाली कांग्रेसको झण्डा राखेर एनजिओका रुपमा दर्ता भएको जीपी फाउण्डेसनले गाउँ, टोल, क्षेत्र, जिल्ला र प्रवासमा शाखा खोल्न पाउँछ कि पाउँदैन प्रश्न उठेको छ ।

कांग्रेसका नेताहरूले सुजाता कोइरालाले समानान्तर पार्टी चलाएको आरोप लगाएका छन् । यस विषयमा कांग्रेस नेताहरूले समयमा ध्यान नदिने हो भन फेरि पनि पार्टीलाई धोका हुनेछ ।

नेतृ सुजाताक काेइरालाले कांग्रेसमा असन्तुष्ट नेता तथा कार्यकर्ताहरूलाइ फाउण्डेशनमा स्थान दिने गरेकी छिन् । दीर्घकालमा जीपी फाउण्डेशन नेपाली कांग्रेसका लागि ठूलाे समस्या बन्ने चर्चा हुन थालेकाे छ ।

नेता कृष्णप्रसाद सिटौलाले पनि गुटलाई सक्रिय बनाएका छन् । सिटौला समूहबाट गगन थापा धेरै सन्तुष्ट छैनन् । थापाले आफूलाई सकेसम्म कसैलाई पनि नचिढाउने गरेर अगाडि बढाएका छन् ।

आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा थापाले आफूलाई अगाडि बढाइरहेको चर्चा कांग्रेसभित्र रहेको छ । सिटौला समूहका अर्का नेता प्रदीप पौडेलले आफूलाई धेरै राम्रोसँग अगाडि बढाउन सकेका छैनन् ।

पौडेलले आफूलाई सिटौला समूहबाट अलग बनाएर डा.शेखर कोइरालाको क्याम्पमा प्रवेशको तयारी गरिरहेको एक नेताले बताए ।

सभापति देउवा समूहमा पनि थुप्रै गुटहरू सक्रिय छन् । विमलेन्द्र निधि, डा.प्रकाश शरण महत, बालकृष्ण खाँणले अलग रुपमा गुट चलाइ रहेका छन् । देउवा गुटभित्र उपगुट चलाइ रहेका नेताहरूबीच बोलचाल नै छैन ।

देउवा गुटमा सबैभन्दा ठूलो र शक्तिशाली गुट आरजु राणाले चलाइ रहेकी छिन् । आरजुले नै अहिले नेपाली कांग्रेसलाई नोक्सानी पुर्‍याएको आरोप छ । गुटकै कारण कांग्रेसको राष्ट्रिय जागरण अभियानले राम्रो हुने मौका पाएन ।

कतिपय जिल्लाहरूमा कुटाकुटको अवस्था भयो । कुनै ठाउँमा विरोधी गुटले कार्यक्रम बिथोल्ने, कार्यक्रममा सहभागी हुन नजान निर्देशन दिने जस्ता अराजक क्रियाकलाप गरे । यो सबै गुटको कमाल हो ।

जेठ २५ गते नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको पहिलो कार्यक्रमहरू सम्पन्न हुँदै छ । यो एक महिनामा कांग्रेसका नेताहरूले एकताको सन्देश दिन सकेनन् ।

बरु गुटको गन्ध दिइरहे । जागरण अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरूलाई ओझेलमा पार्ने गरेर वरिष्ठ नेता पौडेल आफै जिल्लाहरू घुमेका छन् । पौडेल मात्रै होइन डा.शेखर कोइरालाले पनि आफूलाई पार्टीलाई खटाएको काभ्रे जिल्लालाई छाडेर अरु जिल्लाहरूमा खटाएका छन् ।

सबै जिल्लाहरूमा स्थानीय नेता तथा कार्यकर्ताहरूले शीर्ष नेताहरूलाई मिल्न नै दवाव दिएका छन् ।

उनीहरूको सुझावलाई पार्टीका नेताहरूले पूरा गर्ने छन् वा छैनन् भविष्यले नै देखाउनेछ । दोस्रो चरणको अभियान चलाउँदै गर्दा नेपाली कांग्रेसले शीर्ष नेताहरूको आचरणमा सुधार गर्नै पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)