Aamsanchar

सहयोग बराबरीको सिद्धान्त हो

Author Image
बिहिवार, माघ २०, २०७३


चन्द्रकान्त ढकाल

सहयोग बराबरीको सिद्धान्त हो । यदि तपाई अरुलाई सहयोग गर्नुहुन्न भने तपाईंलाई पनि अरुले सहयोग गर्दैनन् । कयौं मानिसहरु अरुबाट आवश्यक सहयोगको अपेक्षा गर्दछन् । यो स्वभाविक हो, तरउनीहरु अरुलाई सहयोग गर्दैनन् र अरुबाट मात्र सहयोगको अपेक्षा गर्दछन् भने यो स्वभाविक हुँदैन । हामी अपेक्षामात्र गर्छौं र सहयोग नपाउँदा दुःखी हुन्छौं भने हामी हाम्रो मनोदशालाई व्यर्थ कमजोर बनाउँदैछौं र समयलाई पनि बर्वाद गरिरहेका छौं । र, हामी ज्ञान चेतना र विवेकको पक्षमा पनि धरासायी हुँदैछौं । किनभने, हामी स्वार्थी बनेर बेकार केही पाउने मात्र आशा गरिरहेका छौं ।
यदि हामीले यस सिद्धान्तमा केही नपाउने शर्तमै अरुलाई दिन सक्यौं भने त्यसको प्रतिफिल हामीलाई गुणन गरेर प्राप्त हुन्छ । जुनकुरा संसार हल्लाउने महान दार्शनिक लेखक, कलाकार, राजनीतिज्ञ र समाज सुधारकहरुको जीवनी र उनको सेवाको महान उच्च सोचबाट उनलाई संसारले दिएको आदर र सम्मानबाट हामी बुझ्न सक्छौं । मदर टेरेशा, गान्धी, प्लेटो, अब्राह्म लिंकन, मण्डेला, न्यूटन लगायत तमाम जो आज संसार हल्लाउन सफल भए तिनीहरुले मानिसहरुलाई आफूले भोगिरहेको झञ्झटको कुनै पाटोबाट मुक्ति दिन सके जुन मुक्तिका लागि उनीहरु बिना शर्त लागे र बदलामा मानिसहरुले उनीहरुलाई सम्झिरहें र प्रत्येक पुस्ताले उनको सम्झना आफ्ना सन्ततीहरुलाई उपहार स्वरुप हस्तान्तरण गर्दै लगे । जुनकुरा आज हामी सगौरब हाम्रा सन्ततिहरुलाई हस्तान्तरण गर्छौं र उनको आदर्श अनुशरण गर्नका लागि उत्प्रेरणा जगाउन अहोरात्र प्रयत्न गरिरहेका छौं । साँच्चै भन्ने हो भने आफ्ना सन्तानहरुलाई तिनै मानिसहरुको आदर्श अनुशरण गराउन र जीवनका कठिनाईहरुबाट कसरी उम्केर अगाडि बढ्न सकिन्छ सिकाउनु नै हाम्रो प्रमुख काम भएको छ । यदि हामीले यो कामलाई उचित तरिकाले पूरा गर्न सक्यौं भने हामी त्यो सफलता प्राप्त गर्न सक्छौं जो संसारका थोरै मानिसहरुले हासिल गरें ।
तपाईंले संसार हल्लाउने हरेक मानिसको जीवनी पल्टाएर हेर्नुभयो भने त्यहाँ पाउनु हुनेछ । हरेक मान्छेको जीवनमा एउटा महत्वपूर्ण सहयोगीको सहयोग देखिन्छ । साथै त्यहाँ धेरै अन्य सहयोगहरु देखिन्छन् । जसले तिनलाई उचित सल्लाह दिए वा सानो कुनै सहयोग गरे, जो त्यति उल्लेख्य लाग्दैन । तर, तिनको जीवनीसँगै ती सहयोगको उल्लेख गरिन्छ र त्यसले राखेको महत्वले एक विशेष अर्थ दिन्छ ।
अमेरिकाका १६औं राष्ट्रपति जो संसारको अति चर्चित राष्ट्रपति बन्न पुगे उनको जीवन यति संघर्षमयी रह्यो । सायद कमै मानिसले त्यस्तो जीवन भोग्नुपर्छ । ती अब्राह्म लिंकनको जीवनी पढ्दा उनलाई सहयोग गर्ने उनकी सौतेनी आमा, उनका प्रेमिका र उनका सहयोगी वकिल जोशुवा स्पीड र उनकी जीवनसंगिनी मेरीटाडको नाम छुट्यो भने उनले पाएको सफलताको जीवनी पूरा हुँदैन थियो होला । एउटा चिनियाँ उखान छ– एउटा सफल मानिसको पछाडि अर्को पनि सफल मानिस हुन्छ । वास्तवमै हो जसले अरुलाई सफलताको लागि सहयोग गरे तिनीहरु पनि सफल मानिसको दाँजोमा उभिनसके किनकि तिनीहरुले सफलताको राज बुझेका थिए ।
अब्राहम् लिंकनको जीवनी यिनीहरुको नाम बिना किन पूरा हुँदैन ? अब्राहम् लिंकन त एकजना व्यक्ति न हुन उनको जीवनी एक्लै पूरा हुनुपर्ने हो । हामीलाई यस्तो लाग्नसक्छ । हो, वास्तवमै हरेक मानिसहरुको जीवन एक्लै पूरा हुनुपर्ने हो । तर, किन पूरा हुँदैन त ? यसमा यस्तो हुनसक्छ । यदि कोही मानिस सफल छ भने ऊ त मूलपात्र हो । यसका सहयोगीहरुको भूमिकाले उसको जीवनमा ठूलो महत्व राख्दछ । करिब संसारका सबै सफल मानिसहरुको जीवनमा यस्तै असल मित्रहरुको सहयोग र आफंैले भोगेको अभाव र दुःखको चरम परिस्थितिबाट सिकेका अनुभवहरुले एक महत्वपूर्ण अर्थ राख्दछ । र, यिनै कठिनाईका सिढी उक्लिएर मानिस सफलताको शिखरमा पुग्दा आफूले दिने र पाउने काम भइरहन्छ । यस अर्थमा ती सबै मानिसहरु सफल हुन् । जसले ठीक समयमा ठीक ढंगले एकापसमा सहयोग आदान–प्रदान गर्न सके । यस विषयमा हामीले ध्यान दिनुपर्ने कुरा के छ भने हामीले लिएको लक्ष्य नै त्यति महत्वपूर्ण छैन भने हामीले पाउने कुरा पनि त्यति महत्वपूर्ण हुनसक्दैन । त्यसैले हामीले जुन लक्ष्य प्राप्तिका लागि उद्देश्य बनाएका छौं । त्यसै परिणाम अनुसार हामी अरुको साथ सहयोग लिने र दिने गरौं । र, यसका लागि यस्तो लक्ष्य बनाऔं कि यो साँच्चै महत्वपूर्ण होस् ।
यदि हामीले एउटा ठीक उद्देश्य लिएर हिंडेको मानिसलाई ठीक समयमा ठीक सल्लाह दिन सक्यौं भने हामीले गर्न नसकेका उपलब्धिको हिस्सा समेत हामीलाई सधैंका लागि प्राप्त हुनसक्छ । उनको नाममा आफ्नो नाम सँधै जोडी रहन पनि सक्छ । हामीले बुझिसकेका छौं । त्यसैले हामी एउटा उद्देश्य लिएर अगाडि बढौं । मानिसहरुलाई सहयोग गरौं र उनीहरुबाट सहयोग आर्जन गरौं । के थाह त्यो उपलब्धि हासिल गर्ने व्यक्ति म आफैं हो कि ! वा त्यो व्यक्ति त्यही हुनसक्छ जसलाई हामी आज एउटा सानो सहयोग गर्दैछौं । र, त्यो सहयोग उसको लागि महान उपलब्धिको एउटा माइलस्टोन (कोशेढुंगा )सावित हुन सक्नेछ ।
त्यसैले सहयोग बराबरी वा साझा सफलताको सिद्धान्त हो । यसलाई हामी मूल लक्ष्यको सहायकका रुपमा विकास गर्दै लैजान सकौं । महात्मागान्धी भन्नुुहुन्छ– तपार्इंलाई आफ्नै दाजुभाइसँग डर छ भने तपाईं कहिल्यै पनि कुनै काममा सफल हुनुहुन्न । यसको मतलब यही हुनसक्छ जो हामीसँग सँधै जोडिएर काम गर्छन् ती हाम्रा दाजुभाइ समान छन् । उनीहरुले उछिन्लान कि भनेर उनीहरुसँग कुनै प्रकारको त्रास पालेर हामी सफल हुन सक्दैनौं । बरु उद्देश्यलाई साझा बनाएर हामी महान उपलब्धि हासिल गर्नसक्छौं । कयौं मानिसहरुको यस्तो स्वभाव हुन्छ कि हरेक कुरा आफूले नै जित्नुपर्छ र पाउनुपर्छ ।
व्यक्तिगत उपलब्धि मात्र सबै कुरा ठान्नेहरुले यो बुझुन कि वास्तवमा मान्छेको व्यक्तिगत उपलब्धिहरु केही हुँदैनन् । कुनै पनि मानिस आफूलाई सफल ठान्छ भने त्यो उपलब्धिलाई सामाजिक र मान्छेहरुको मनले मान्यता दिनुपर्छ । मान्छेको उपलब्धिको मापन भनेकै उसको कामबाट कति धेरै मान्छेहरुले फाइदा लिन सके र कति मानिसहरुले त्यसलाई अपनत्वको रुपमा स्वीकार गरे । यदि कोही मानिस संसारकै अति विद्वान छ र संसारलाई पूर्ण परिवर्तन गर्नसक्छ । तर, एउटा जंगलमा गएर बस्छ र यो योग्यतालाई मानिसको हितमा जोड्न सक्दैन भने के उसको त्यो क्षमतालाई मानिसहरुले तारिफ गरेर ताली बजाउलान् त ? के उसको त्यो एकांकीपनलाई मानिसले अपनत्वका रुपमा स्वीकार गर्लान् त ? जबसम्म मानिसहरुलाई आफ्नो हितका लागि अरु कोही मानिसले सहयोग गर्दैछ जस्तो लाग्दैन । ती मानिसहरुले अरुलाई त्यस काममा सहयोग गर्दैनन् । थोरै भए पनि मानिसले अरुले गर्दै गरेको काम आफ्नो लागि पनि उपयोगी छ भन्ने अनुभूति गर्नुपर्दछ । हामीले मानिसहरुलाई जतिधेरै सामुहिक स्वार्थमा जोड्न सक्यौं त्यति नै मात्रामा हामी सफल हुनसक्छौं । अर्थात् यसको सिद्धान्त नै यस्तो छ कि मान्छेका मन जित्न सकेको संख्या र मान्छेलाई झञ्झटिलो जीवनबाट दिन सकेको मुक्तिको सिंगो जनसंख्याको आधारमा हाम्रो सफलता उभिएको हुन्छ ।
अतः यहाँ के भन्न सकिन्छ भने हामीले जति मानिसहरुलाई उनको बोझिलो जीवनबाट हल्का, फूर्तिलो र सहज जीवनशैलीमा ल्याउन सकियो त्यति नै मानिसको मनबाट प्राप्त धन्यवादको आवाजहरु नै हाम्रो सफलताको परिमाण इकाई हो । अतः हामीले सहयोग बराबरीको सिद्धान्त हो वा पैचोको रुपमा यसलाई विकास गरेर सामुहिक हितमा सँधै क्रियाशील बनौं र लक्ष्य अनुसार उपलब्धि हासिल गर्न अगाडि बढौं । सामुहिक स्वार्थ पूरा गर्ने नायकको रुपमा हामी सबै योग्य छौं । कुशलतापूर्वक अझै योग्यता हासिल गरौं । र, योग्यताको प्रदर्शन गरौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर