Aamsanchar

झापालीले बाले डेढ अर्बको विजुली, विद्युत् ‘मिटर रिडिङ’मा समस्या

Author Image
सोमवार, असार ३२, २०७५

बिर्तामोड।

नेपाल विद्युत् प्राधिकरणले १० बर्ष यता मिटर रिडिङ गर्ने कर्मचारी नियुक्ति नगर्दा समस्या देखिएको छ ।
अनारमनी वितरण केन्द्र आसपासमै नियमित मिटर रिडिङ गर्ने कर्मचारी नहुँदा यस्तो समस्या देखिएको हो । नियमित विद्युत् मिटर रिडिङ नहुँदा सेवाग्राही मारमा परेका छन् । ६१ हजार सात सय १८ सेवाग्राहीले अनारमनी वितरण केन्द्रबाट विद्युत् सेवा लिइरहेका छन् । कर्मचारी अभावले सबै सेवाग्राहीको घरमा मिटर रिडर समयमै नपुग्दा सेवाग्राहीले हर्जाना समेत तिर्दै आएका छन् ।

हाल अनारमनी विद्युत् प्राधिकरणमा मिटर रिडिङ गर्ने करारका जम्मा २४ जना मात्र कर्मचारी रहेको प्राधिकरणले जनाएको छ । भएका कर्मचारीले पनि नियमित मिटर रिडिङ नगर्दा समस्या उत्पन्न भएको अनारमनी वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले बताए । उनले भने– यो समस्या झापाको मात्र होइन देशभरकै हो । सरकारले लामो समयदेखि ‘क’ र ‘ख’ श्रेणीका कर्मचारी नियुक्ति नगर्दा समस्या भएको हो उनले भने – यस्तो अवस्थामा करारमा कर्मचारी नियुक्ति गरेर काम चलाउँदै आएका छौं ।

अनारमनी वितरण केन्द्र अन्तर्गतका चारआली, सुरुङ्गा र शनिश्चरे शाखामा मिटर रिडिङ सम्बन्धी समस्या नरहे पनि बिर्तामोडको एरिया नम्वर ६ को २९ अन्तर्गत किरात चोक, बसपार्क क्षेत्र तथा गरामनीका केही स्थान र बिर्तामोडकै केही स्थानमा यो समस्या देखिएको झाको भनाइ छ । प्राधिकरणले नियमित मिटर रिडिङ नभएमा मासिक विवरण टिपोट गरेर ल्याएको खण्डमा महशुल बुझ्ने काम गरिरहेको केन्द्र प्रमुख झाको भनाइ छ । उनले एउटै व्यक्तिले एकै दिन धेरै घरको मिटर रिडिङ गर्नुपर्ने हुँदा केही घर छुट्ने गरेको समस्याहरु पनि आउने गरेकाले यी सबै समस्या समाधान गर्न प्राधिकरण लागीरहेको बताए ।

अनारमनी वितरण केन्द्र अन्तर्गत बिर्तामोड क्षेत्रमै ३५ हजार ग्राहक रहेको र यो क्षेत्रमा ११ जना मिटर रिडर कार्यरत् रहेको बताइएको छ । मिटर रिडिङमा समस्या आएकाले यो समस्या हल गर्न प्राधिकरण निरन्तर लागीरहेको मिटर रिडिङ प्रमुख दुर्गा पोखरेलले बताए । उनले भने– एउटै मिटर रिडरले हजारौं घरको मिटर रिडिङ गर्नुपर्ने बाध्यता रहेको छ । गुनासाहरुलाई हामीले अर्को महिना नदोहोरिने गरी काम गरिरहेका छौं ।

जनसंख्या बृद्धिसँगै जनघनत्व बढेकाले शहरी एरियामा मिटर रिडिङमा समस्या आएको उनको भनाइ छ । एउटै एरियाहरुमा एकैदिन धेरै घरमा मिटर रिडिङ गर्नुपर्ने र कर्मचारी कम हुँदा समस्या आएको हो –पोख्रेलले भने ।

एक घरको मिटर रिडिङ गर्दा चार रुपैया कमिसन
सरकारले लामो समयदेखि मिटर रिडिङ गर्ने कर्मचारी नियुक्ति नगर्दा प्राधिकरण आफैंले करारमा कर्मचारी राख्ने गरेको छ । प्राधिकरणले व्यक्तिसँग सम्झौता गर्दै मिटर रिडिङमा पठाउनु पर्ने भएकाले उनीहरुले नियमित काम नगर्दा समस्या आएको हो –केन्द्र प्रमुख झाले भने– उनीहरुले एउटा घरको मिटर रिडिङ गर्दा चार रुपैयाँ मात्र कमिसन पाउँछ । उनीहरुले बढीमा एक सय घरमा मिटर रिडिङ गर्न पाउने प्रावधान छ । तर, हाम्रो हकमा त्यो लागू हुन सकेको छैन, एकजना मिटर रिडरले एकै दिन धेरै सेवाग्राहीकोमा पुगेर मिटर रिडिङ गर्नुपर्ने भएकाले उनीहरुलाई कुनै दिन केही भए समस्या आइहाल्छ । यो समस्या समाधानका लागि हामी साउनदेखि थप दुईजना कर्मचारी अफिसमा नै राख्छौं, कुनै ठाउँ समस्या आए तुरुन्त उनीहरुलाई खटाउँछौं –केन्द्र प्रमुख झाले भने ।

बिर्तामोडबाट मात्र ६० करोड विद्युत् महसुल उठ्यो
नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले चालू आर्थिक बर्षमा ६० करोड रुपैयाँ राजश्व संकलन गरेको छ । विद्युत् महशुलमार्फत प्राधिकरणले सो रकम राजश्व संकलन गरेको हो । नौ करोड तीन लाख २९ हजार युनिट विद्युत् आयात गरेको र एक करोड ५७ हजार १२ युनिट युनिट चुहावट हुँदा पनि ६० करोड रुपैयाँ विद्युत् महशुल संकलन गरेको केन्द्र प्रमुख झाले बताए । अप्राविधिक चुहावटका कारण प्राधिकरणले केही रकम घाटा व्यहोरे पनि चालू आर्थिक बर्षमा चुहावट दरलाई १८.५प्रतिशतमा झारेको झाले बताए । उनले भने– गत बर्षको तुलनामा विद्युत् महशुल बढी उठेको छ । चुहावट दरलाई अझ घटाउँदै आगामी आर्थिक बर्षमा बढी विद्युत् महशुल संकलन गर्ने केन्द्रको लक्ष्य छ ।

चार हजार नया“ सेवाग्राही लाभान्वित
नेपाल विद्युत् प्राधिकरणले ग्रामीण क्षेत्रमा समेत सेवा विस्तारसँगै चार हजार सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन् । ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत अनारमनी सेवा केन्द्रमार्फत बिर्तामोड अर्जुनधारा, कनकाई नगरपालिका, झापा र बाह्रदशी गाउँपालिकाका चार हजार सेवाग्राही लाभान्वित भएका हुन् । नेपाल सरकारको लगानीमा ती क्षेत्रमा विद्युत् विस्तार भएसँगै सेवाग्राही लाभान्वित भएको केन्द्र प्रमुख झाको भनाइ छ । जसका लागि झण्डै छ करोड रुपैयाँ खर्च भएको प्राधिकरणका इञ्जिनियर नितेश जैसवालले जानकारी दिए ।
चालू आर्थिक बर्षमा अनारमनी बितरण केन्द्रमार्फत १० वटा नयाँ ट्रान्सफर्मर खरिद गरी भोल्टेज सुधारको कार्यक्रम सम्पन्न गरेको र कनकाई नगरलाई चुहावटमुक्त क्षेत्र घोषणा गरिएको केन्द्रका प्रमुख इञ्जिनियर झाको भनाइ छ ।

भद्रपुरबाट ५७ करोड विद्युत् महसुल संकलन
नेपाल विद्युत् प्राधिकरण भद्रपुर शाखाले चालू आर्थिक वर्षमा ९८.१५ प्रतिशत विद्युत् महशुल संकलन गरेको छ । प्राधिकरण प्रमुख रामउद्गार साहका अनुसार ५३ हजार छ सय ४९ ग्राहकबाट ५७ करोड ७४ लाख १३ हजार रुपैयाँ विद्युत् महशुल संकलन गरेको हो । विद्युत् बिक्रीवापत ५८ करोड ८३ लाख २० हजार नौ सय ३१ रुपैयाँ महशुल संकलन गर्नुपर्ने भए पनि महशुल उठ्ने काम भइरहेको केन्द्र प्रमुख साहले बताए । प्राधिकरणले अन्य दस्तुरसहित चालू आर्थिक वर्षमा ६० करोड २८ लाख १६ हजार ९२ रुपैयाँ राजश्व संकलन गरेको साहले जानकारी दिए ।

भद्रपुर वितरण केन्द्रमा छ करोड ३९ लाख ६५ हजार चार सय ६९ युनिट विद्युत् आयात भएको बताइन्छ । प्राधिकरणले चुहावट दरलाई समेत कम गर्दै विद्युत् महशुल संकलन कार्यलाई तीव्रता दिएको केन्द्र प्रमुख साहको भनाइ छ । गत वर्ष १६.४१ प्रतिशत विद्युत् चुहावट रहेको भद्रपुर केन्द्रमा यो दर घटेर १४.८७ प्रतिशतमा झरेको छ । भद्रपुर वितरण केन्द्रले भद्रपुर नगरपालिकाको मेचीपारि र कचनकबल गाउँपालिकाको पिण्डलबारीमा समेत विद्युत् विस्तार गर्दै विद्युत् सेवाबाट वञ्चित सर्वसाधारणलाई सेवा प्रदान गरेको नेपाल विद्युत् प्राधिकरण भद्रपुर बितरण केन्द्रले जनाएको छ ।

दमकमा सबैभन्दा धेरै सेवाग्राही
नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्र अन्तर्गत सबैभन्दा बढी सेवाग्राही रहेको पाइएको छ । दमक वितरण केन्द्रबाट ७७ हजार १० सेवाग्राहीले नियमित विद्युत् सेवा लिइरहेको केन्द्र प्रमुख राजीवकुमार सिंहले जानकारी दिए । उनका अनुसार जेठसम्ममा छ करोड रुपैयाँ विद्युत् महसुल संकलन भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर