Aamsanchar

मुख्यमन्त्री शेरधन राई विरुद्ध मुद्दा दायर

Author Image
शुक्रवार, फागुन १६, २०७६

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन् ।

खड्काले राई युवा संघको इन्चार्ज हुँदाबाट चिनजान सुरु भएको र त्यसपछि दुवैबीच प्रेम भएको दाबी गरेकी छन्। केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनको सचिवालयको सदस्य रहेकी खड्काले त्यस समयका सञ्चारमन्त्री राईले आफूलाई कार्यकक्षमै शारीरिक सम्पर्क राखेको पनि बताएकी छन्।

सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ ।

मुख्यमन्त्री राईले आफूलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनको छ । राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ ।

फिरादपत्रमा खड्काले मुख्यमन्त्री राईमाथि लगाएका आरोप 
१, २०७१ सालदेखि मुख्यमन्त्री शेरधन राईसँग चिनजान। तत्कालीन नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य शेरधन राई युवा संघ नेपालको इन्चार्ज हुँदा नजिएको। त्यस समयमा म युवा संघको केन्द्रीय सदस्य तथा महिला युथ फोर्स नेपालको केन्द्रीय सचिव थिएँ। दुवैले एकले अर्कोलाई मन पराउने गरेको र राईले नै आफूसँग रिलेसनमा बसौँ भनेको। त्यसपछि प्रेम सम्बन्ध, भेटघाट र उठबस बढ्दै गयो।

२, विद्यादेवी भण्डारी पहिलो पटक राष्ट्रपति भएको दिन रात्रीभोजमा पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमै सार्वजनिक स्थलमा नै मदिराको सुरमा यौन दुव्र्यवहार गर्न कोसिस गरेको।

सार्वजनिक स्थलमा यस्तो नगर्नुस् भन्दा नटेरी अनेक हर्कत गरेको। तर त्यतिबेला रक्सीको सुरमा भएकाले क्षमा दिएको। भोलिपल्ट भेट हुँदा मदिराको सुरमा गल्ती गरेछु भनि क्षमा माग्दै फकाएको। शेरधनले आखिर हामी लोग्ने स्वास्नी नै हौं भनेको।

३, शेरधन सूचना तथा सञ्चारमन्त्री हुँदा कार्यकक्षमै पटकपटक यौन शोषण गरेको। केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा म प्रधानमन्त्रीको निजी स्वकीय अधिकृतको रुपमा नियुक्ति पाएको। शेरधन सञ्चारमन्त्री भएकाले भेटघाट बसोबास सँगै रहेको। यसबीचमा शारिरिक सम्बन्ध पनि भयो। विवाहदर्ता गरेको थिएन। सन्तानको जायजन्म गराउँ भन्दा पनि शेरधनले अहिले होइन पछि गरौं भनेको।

४, २०७२ सालदेखि २०७४ सालसम्म गोल्फुटारमा रहेको घरमा डेरा गरी राखेको। लिभिङ टुगेदर जस्तो सम्बन्धमा नराख्नुस्, वैवाहिक सम्बन्ध पुष्टि गर्नुस् भन्दा भोलि भोलि भन्दै टारेको र २०७५ कात्तिकमा उक्त डेराबाट निकालिएको।

५, प्रदेश १ को मुख्यमन्त्री भएपछि म विराटनगर आउँदा जाँदा प्रहरी लगाएर भेट्न नदिएको। जागिर र पार्टीको जिम्मेवारीबाट निकालिएको। त्यसविरुद्ध मैले पार्टीमा उजुरी दिएको।

६, सञ्चारमाध्यममा घटना सार्वजनिक गर्दा मुख्यमन्त्री राईले विराटनगर बोलाएर आफूलाई त्यस्तो विषयमा बाहिर नल्याउन सम्झाएको। पति–पत्नी हो भनी स्वीकार गरेको। विवाह दर्ता पछि गरौँला भनेको। त्यसपछि १०–१२ दिन मुखमन्त्रीको निवासमा बसेको। त्यसपछि काठमाडौं गोल्फुटारमा बस्न पठाएको। मुख्यमन्त्री काठमाडौं आउँदा गोल्फुटारमै बस्ने गरेको।

७, यो विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललाई समेत जानकारी रहेको।

८, पछिल्लो समयमा माघ १४ गते काठमाडौंका गोल्फुटारमा आउँदा मुख्यमन्त्री राईसँग पारिवारिक विषयमा विवाद भएको। मलाई खान बस्नको लागि खर्च किन दिन हुन्नरु भन्दा एकैचोटी मलाई झम्टिएर यो घरमा आजदेखि नटेक के गर्न सक्छेस् गर भनी जवाफ दिएको र कुटपिट गालीगलौज तथा यातना दिई प्रहरी लगाई निकालेको।

९, नेकपाको केन्द्रीय समितिको बैठकमा दुवै अध्यक्षलाई भेटन खोज्दा मुख्यमन्त्री राईको निर्देशनमा रोकिएको। मुख्यमन्त्री राईको निर्देशनमा आफूलाई अभद्र व्यवहारको मुद्दा लगाएर माघ २२ देखि थुनिएको र मुख्यमन्त्री राईलाई पति होइन भन्दिनँ भन्न बाध्य पारिएको। अदालतको आदेशपछि फागुन ५ गते रिहा भएको। अहिले विभिन्न मानिसमार्फत ज्यान मार्ने धम्की दिने गरेको। सत्ता र शक्तिको दुरुपयोग गरेर प्रहरी प्रशासन र अन्य संयन्त्र हातमा लिएर जागिरबाट निकाल्न लगाएको र पार्टी सदस्य निलम्बन गराएको। आफूमाथि घरेलु हिंसा, शारीरिक तथा मानसिक यातना दिएको।

१०, मुलुकी देवानी संहिता, २०७४ अनुसार पति र मबीच एक अर्कोलाई पतिपत्नीको रुपमा स्वीकार गरी विवाह भएको भनी फिरादका एक दिनअघि ९२०७६ फागुन १५०लाई मानो छुट्टिएको मिति कायम गरी जम्मा सम्पत्तिलाई २ भाग गरी एक भाग अंश दिलाइ पाऊँ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 476

प्रतिक्रिया (०)

सम्बन्धित खबर