
गौरीगंज । अन्तर्राष्ट्रिय झापाली समाजले कोरोना परीक्षणका लागि झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट उपलब्ध गराएको छ ।
समाजका उपाध्यक्ष नवीन पोख्रेलसहितको टिमले ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै प्रत्येक पालिकालाई एक र एक सय थान भिटिएम उपलब्ध गराएको हो ।

शनिबार समाजले गौरीगंज गाउँपालिकालाई एक सय थान भिटिएम हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, वडा अध्यक्ष मखना महतोसहितको जनप्रतिनिधिलाई समाजले भिटिएम, पीपीई, मास्कलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

उपाध्यक्ष पोख्रेलले किट हस्तान्तरण गर्दै उनले विभिन्न ४० देशमा अन्तराष्ट्रिय झापाली समाजको शाखा रहेको र नेपालमा रहेका नेपाली दाजुभाईलाई कोरोना परीक्षणका लागि सहजता होस् भन्दै आफूहरुले सहयोग उपलब्ध गराएको पोखरेलले बताएका छन् ।
भिटिएम किट ग्रहण गर्दै गौरीगंज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठले झापाली समाजले विपदको क्षणमा देखाएको सामाजिक कार्य प्रशसनीय रहेको भन्दै विदेशमा रहेर पनि झापा र झापालीको सेवामा लाग्नु सवैका लागि अनुकरणीय रहेको बताएका थिए ।
समाजले झापाका १५ वटै स्थानीय तहलाई एक एक सय किट प्रदान गर्ने बताइएको छ । शनिवार सम्म कनकाई झापाका पालिकाहरु बुद्धशान्ति, भद्रपुर, कचनकवल, बाह्रदशी, झापा, गौरादह र गौरीगञ्जलाई किट हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरिएको छ । की पालिकामा आईतबार हस्तान्तरण गर्ने बताईएको छ ।
कार्यक्रममा एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतले अभियानको विषयमा प्रकाश परेका थिए ।
त्यस्तै सोही कार्यक्रममा मेची अभियानको तर्फबाट पनि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको थियो । मेची अभियानका संयोजक विजय डालमियाले अभियानको बारेमा जानकारी गराएका थिए । हस्तान्तरण कार्यक्रममा मेची अभियानका परिकल्पनाकार विश्वप्रकास शर्माको पनि सहभागिता रहेको थियो । कार्यक्रमको संचालन एकका लागि एक अभियानका अभियन्ता शिव कडेलले गरेका थिए ।


