Aamsanchar

३६ दिन लामो निषेधाज्ञा जारी, देउसी खेल्न नपाइने , पूजापाठसहितका सबै क्रियाकलापमा रोक

Author Image
शुक्रवार, असोज ३०, २०७७

सुनसरी –इटहरी र धरानसहितका ठूला सहरी क्षेत्रमा तीव्र गतिमा कोरोना फैलिएपछि सुनसरीमा एक महिना लामो निषेधाज्ञा जारी गरिएको छ। कोरोनाको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले एक महिनाभन्दा लामो निषेधाज्ञा जारी गरेको हो। भोलि कात्तिक १ गतेदेखि मंसिर ६ गते सम्मका ३६ दिन लामो निषेधाज्ञा प्रशासनले जारी गरेको हो। निषेधाज्ञामा आउँदै गरेको चाडपर्वमा घर बाहिर भेला हुने, पूजापाठसहितका सबै क्रियाकलापमा रोक लगाइएको छ।

प्रशासनले सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बाहरूमा भेला हुन पनि निषेध गरेको छ। मन्दिर, मस्जिद र गुम्बाहरूमा केबल नित्य पूजाआजा मात्रै गर्न पाइनेछ। अन्य कार्यमा प्रशासनले रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार निषेधाज्ञाका क्रममा तिहारमा देउसी(भैलो समेत खेल्न पाइने छैन। यस्तै राजनीतिक दलहरूबाट गरिने कुनै पनि कार्यक्रम सन्चालनमा पनि रोक लगाइएको पोखरेलले बताए। पछिल्लो समय राजनीतिक दलहरुले पार्टी प्रवेशका नाममा गतिविधि तीव्र बनाएपछि प्रशासनले यस्तो कदम चालेको हो। चाडपर्व नजिकिएका बेला मठमन्दिरमा भिड बढेर संक्रमण फैलिने जोखिम उच्च रहेकोले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। मठमन्दिर, मस्जिद र गुम्बामा नित्य पूजा गर्ने एकजना बाहेक अन्यलाई प्रवेशमा रोक लगाएका छौुं, उनले भने, चाडपर्वमा हुने शुभकामना आदानप्रदान कार्यक्रम, उद्घाटन र शिलान्यास, राजनैतिक दलको कार्यक्रमहरुमा पनि रोक लगाइएको हो।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर