Aamsanchar

कांग्रेसले संसद् विघटनविरूद्ध आज ३सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

Author Image
शनिवार, पौष २५, २०७७

काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्ने भएको छ । पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले आज देशभर प्रदर्शन गर्न लागेको हो । सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध प्रदर्शन गर्न लागिएको जनाएको छ ।

जसअनुसार कांग्रेसले आज देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसको ठहर छ ।

देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरुले आफूलाई पायक पर्ने ठाउँमा सम्बोधन गर्ने कांग्रेसका सूचना अधिकारी केशव अधिकारीले जानकारी दिनुभयो । जसअनुसार कांग्रेस सभापति शेर बहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा सम्बोधन गर्ने तय भएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।

यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नम्बर ६ को प्रदर्शनी मार्गमा सम्बोधन गर्नुहुने भएको छ । कांग्रेस नेता गगन थापाले काठमाडौंको कपनबाट सम्बोधन गर्नुहुने छ । त्यसैगरी कांग्रेस नेतृ सीतादेवी यादवले काभ्रेको प्रदर्शनलाई सम्बोधन गर्ने तय भएको कांगे्रसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

कांग्रेसको १९ पुसको केन्द्रीय कार्यसमितिको बैठकले पुस २५ मा देशका तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा, माघ ३ गते देशभरका सात सय ५३ स्थानीय तहमा तथा माघ ८ गते देशभरका सबै स्थानीय तहसहित ६,७४३ वडाहरुमा संसद विघटनविरूद्ध प्रदर्शन गर्ने तय गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर