
जनता समाजवादी पार्टी नेपाल(जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन मुलुकका लागि स्थायी समाधान नभएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा जनता समाजवादी पार्टी नगर कमिटीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जसपा नेता महतोले भने, ‘देशको राजनीतिक परिस्थितिलाई नियाल्दा प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतलाई प्रधानमन्त्री बनाएपछि भोलिका दिनमा पनि प्रतिनिधिसभा विघटन हुँदैन भन्ने केही ग्यारेन्टी छ?’
अहिलेको स्थानीय समाधान प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन दुवै नभएको उनको धारणा छ। ‘विगतका राजा महाराजा र कांग्रेसका नेताहरूले पनि संविधानलाई कुल्चिएर प्रतिगमनकारी कदम चालेका थिए,’ पूर्वमन्त्री समेत रहेका महतोले भने, ‘जनताबाट निर्वाचित अहिलेका बहुमतका नयाँ राजा केपी शर्मा ओलीले पनि संविधान कुल्चियो, त्यसैले अब दिगो निकासका लागि संविधान संशोधन हुनैपर्छ।’
पहिचानवादी र आन्दोलनकारीहरू राष्ट्रिय मुक्तिको लागि एक भएर लड्नुपर्ने बताउँदै नेता महतोले भने, ‘सबैको अपनत्व महसुस हुने गरी संविधान संशोधन नभएसम्म प्रतिगमन भइरहन्छ।’

संविधानलाई ुकुुु गरेर लोकतन्त्र माथि नै प्रहार गरिएको छ, त्यसैले प्राप्त उपलब्धि गुम्न नदिन शान्तिपूर्ण आन्दोलनमा लाग्न उनले जसपाका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्। पार्टीका नगर कमिटी अध्यक्ष भेषराज भट्टराई र चन्द्र राजवंशीको आतिथ्यमा कार्यक्रममा सम्पन्न भएको थियो।


