Aamsanchar

प्रचण्ड-माधव समूह : अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय

Author Image
सोमवार, फागुन २४, २०७७

काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै रहने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो । प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको असहमति हुँदाहुँदै कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले नेकपा पार्टीको नामबाट हुने यो अन्तिम बैठक हुन सक्ने बताए । ‘यस प्रकारको बैठक यो अन्तिम हुन सक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनको चरणमा जाने नै भयो’ उनले भने ।

‘सर्वोच्चको फैसला राजनीतिबाट प्रेरित’

नेता श्रेष्ठले सर्वोच्च अदालतको फैसला राजनीतिबाट प्रेरित भएको बताए । ‘सर्वोच्चको फैसला रिट निवेदकको मागदावी भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसला हो । ‘पार्टीको नाम सम्बन्धमा परेको रिटमा नामका बारेमा निश्कर्ष निकाल्नुपर्ने, आदेश गर्नुपर्ने यसको उत्तरदायित्व जिम्मेवारी हुँदाहुँदै त्यसभन्दा बाहिर गएर फैसला गरिएको छ’ उनले भने ।

रिट निवेदकको माग दावीअनुसार फैसला भएको भए स्वागत गर्ने भन्दै नेता श्रेष्ठले कुनै राजनीतिक दलको एकता गर्ने वा नगर्ने र एकीकृत पार्टी विभाजन गर्ने फैसलाप्रति गम्भीर असहमति व्यक्त गरेको उनले बताए । ‘यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ । असहमति हुँदाहुँदै आफ्नै ढंगले कार्यान्वयनमा जानेछ’ श्रेष्ठले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर