Aamsanchar

झापाका ८४ जना कृषकलाई कृषि यान्त्रीकरण औजार वितरण

Author Image
आइतवार, असार २७, २०७८

झापा- धान र मकै सुपर जोन घोषित झापा जिल्लामा लागत कम गरी उत्पादन वृद्धि गराउने उद्देश्यले कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना कृषकलाई कृषि यान्त्रीकरणऔजार वितरण गरेको छ । सङ्घीय तथा प्रदेश सरकारको कृषि यान्त्रीकरणका लागि औजार उपकरण, प्रयोग प्रवर्द्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्रले ५० देखि ७५ प्रतिशत अनुदानमा सो औजार सामग्री जिल्लाका एकल कृषक र कृषक समूह गरी ८४ जनालाई वितरण गरेको हो ।

कृषि ज्ञान केन्द्रमा आइतबार आयोजित एक कार्यक्रमका बिच १ नम्बर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर रानामगरले कृषकलाई सो कृषि यान्त्रीकरण औजार हस्तान्तरण गरेका हुन् । औजार सामग्री वितरण कार्यक्रममा बोल्दै कृषि मन्त्री रानामगरले सरकारले दिएको अनुदान खाने र पचाउने गरेमा कृषि क्षेत्रमा आर्थिक क्रान्ति नआउने बताएका छन् ।

विगतमा पहुँच हुने, झोले कृषक, कर्मचारी चिनजानेका मात्रले अनुदानको सामग्री लाने गरेको ठुलो गुनासो भोग्नु परेको बताउँदै मन्त्री रानामगरले भने, ‘अब सरकारले त्यसलाई सुधार गर्दै लगेको छ, अहिले कृषकको खातामा सोचै सरकारले भुक्तानी पठाउने व्यवस्था मिलाएको छ, कर्मचारीको हातबाट भुक्तानी लिँदा रकम घटने प्रथाको अन्त्य गरेका छौँ ।’ उनले भने, ‘हामीले अनुगमन गर्ने क्रममा धेरै ठाउँमा फर्जी कृषक भेटाएका छौँ, त्यस्ता कृषकको अनुदान र सहयोग तत्काल रोक्ने व्यवस्था पनि गरेका छौँ ।’

अहिले तीनै तहका सरकारले कृषकलाई कृषि क्षेत्रमै आत्मनिर्भर बनाउन अनुदान र सहयोगको व्यवस्था गरेको बताउँदै उनले भने, ‘कृषि क्षेत्रमा लाग्ने अहिलेका युवापुस्तालाई सरकारले अवसर दिन खोजिरहेको छ, कृषि क्षेत्रमै लागेर देशमै राम्रो आम्दानी गर्न सकिन्छ ।’ सरकारले दिएको अनुदानको सामग्रीलाई सदुपयोग गरी उत्पादन वृद्धि गराउनतर्फ लाग्न कृषकहरूलाई उनले आग्रह पनि गरेका छन् । सङ्घीय सरकारको मकै उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तरगत झापा गाउँपालिकाको मार्सल कृषि सहकारी संस्था र कुमरखोद साना किसान कृषि सहकारी संस्थालाई एक÷एक थान मकै डायर मेसिन अनुदानमा उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

दुई वटा मेसिन १७ लाख ६५ हजारमा खरिद गरिएकोमा कृषि ज्ञान केन्द्रले ७ लाख ५० हजार, झापा गाउँपालिकाले २ लाख र उपभोक्ताले ८ लाख १५ हजार रकम दिएको उनले बताए । मकै डायर मेसिनले न्यूनतम १० ब्याच प्रतिदिन २५ मेटिक टन मकै सुकाउन सकिन्छ । त्यस्तै प्रदेश सरकारको कृषि यान्त्रीकरण प्रयोग प्रवर्द्धन कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा ९० लाख बजेट विनियोजन गरिएको थियो ।

विनियोजित रकममध्येबाट १२ वटा मिनिटिलर, १० वटा अल्टिक्रम थ्रेसर, ८ वटा रोटामटर, २८ वटा पावर टिलर, १३ वटा स्वचलीत टिपर, ४ वटा मेजर टेलर, २ वटा डिस्क होरै, एउटा पावर टिलर एटेचमेन्ड रिपर, ३ वटा ब्रस कट्टर र एउटा पावर स्प्रे गरी उक्त सामग्री ७३ लाख ६५ हजार १२५ रुपैयाँमा खरिद गरिएको केन्द्र प्रमुख सिंहले बताए ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष तथा जिल्लास्तरीय कृषि समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षता तथा कृषि मन्त्री रानामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसदद्धय वसन्त बानियाँ, गोपालचन्द्र बुढाथोकी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव निरु दाहाल पाण्डे, कृषि विकास निर्देशनालयका प्रदेश प्रमुख प्रकाशकुमार डाँगी, कुमरखोद साना किसान कृषि सहकारी संस्थाका कल्पना खडका, कृषक युवराज चिमरिया लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर