Aamsanchar
Adv top
Adv below_nav

पाँचलाख रुपियाँबाट शुरु भएको झाडु उद्योगमा अहिले करोडौंको कारोवार हुदै


मेचीनगर।  वनस्पतिबाट बनेका कुचो र झाडुको व्यवसायबाट झापा मेचीनगरका एक व्यवसायीले बर्षमा करोडौ रुपैयाँको कारोवार गर्दैै आएका छन् । झापाको मेचीनगर—६ काँकरभिट्टाका लक्ष्मण ढुङ्गेलले २०५८ सालबाट यो व्यवसायलाई निरन्रता दिई आउनुभएको छ । ५ लाख रुपैयाँबाट शुरु गरेको यो कुचो र झाडु व्यवसायले अहिले उहाँलाई करोडौंको मालिक बनाएको छ । वनस्पतिबाट बनेका कुचो र झाडुको विश्वभर ठूलो माग छ ।

यसका लागि जापान र दक्षिण कोरियाको बजारलाई लक्षित गरी नेपाल सरकारले जापान र दक्षिण कोरियाका सरकारबीच कुचो तथा झाडु निर्यात गर्ने सम्बन्धमा ठोस सम्झदारी गर्नुपर्ने सरोकारवालाको भनाई छ । यही आधारमा निजी क्षेत्रका व्यवसायी–उद्यमीबीच समझदारी गरी वनस्पतिबाट बनेका कुचो र झाडु निर्यात गर्न सकिने सरोकारवालाहरुको भनाई छ ।

२०५८ सालमा ढुङ्गेलले ‘पूर्वाञ्चल झाडु कुचो उद्योग’ दर्ता गरेर व्यवसाय शुरु गर्नुभएको थियो । आफ्नै अढाई कठ्ठा जग्गमा सञ्चालनमा रहेको ‘पूर्वाञ्चल झाडु कुचो उद्योग’ बाट स्थानीय ३५ जनाभन्दा बढीले रोजगार प्राप्त गरेका छन् । झाडु बनाउने काममा पुरुषमात्र होइन महिलाहरु पनि छन् ।

यसलाई आवश्यक पार्ने कच्चा पदार्थ भने इण्डोनेशियाबाट आउने गरेको छ । एक कन्टेनरमा ५ सय बोरा बढी कच्चा पदार्थ आउने गरेको छ । भारतको कोलकातालगायत अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर झापामा पहिलो पटक झाडु उद्योग सञ्चालन गर्नुभएको हो । ‘मैले कुचो र झाडुको व्यवसाय २०५८ सालबाट शुरु गरे ’ढुङ्गेलले भन्नुभयो—‘यो व्यवसायबाट म सन्तुष्ट छु । त्यसकारण पनि अहिलेसम्म म यसलाई निरन्तरता दिदैं आएको छु । आम्दानी समेत राम्रो हुन्छ । उद्योग सञ्चालनमा कुनै समस्या छैन् । ’ यस उद्योगबाट वर्षेनि एक करोड भन्दा बढी रुपैयाँको कारोवार हुन्छ । सवै खर्च कटाएर वार्षिक ९ देखि १० लाख रुपैयाँ नाफा कमाउने गरेको उहाँको भनाई छ । उहाँको दशजनाको परिवार धान्ने मुख्यः पेशा नै यहि कुचो र झाडु व्यवसाय हो । यसैको आम्दानीबाट ढुङ्गेलले आफ्ना सन्तानहरुलाई महंगो महंगो शैक्षिक संस्थामा उच्च शिक्षा गराउदैं आउनुभएको छ ।

एउटा नरिवलको झाडु तयार गर्दाको लागत ५ देखि ७ रुपैयाँ पुग्ने र बजारमा करिव ५० देखि ६० रुपैयाँसम्ममा विक्री हुने गरेको उद्योगी ढुंगेलको भनाई छ । यहाँ तयार भएका झाडु स्थानीय बजारदेखि दमक, इटहरी, धरान, विरानगर, लाहान, काठमाण्डौं, पोखरा, नारायणगढ, बुटवल, भैरहवालगयात नेपालका ठुल्ठुला बजारमा पुग्ने गरेको उहाँको भनाई छ । नेपालबाट यस्ता कुचो र झाडु निर्यात भइरहेको छ । यस्ता वस्तु थप व्यवस्थित र संगठित रूपमा निर्यात गर्ने हो भने विश्वको करीब १९ अर्बको बजारमा नेपालले महत्वपूर्ण हिस्सा ओगट्न सक्ने अनुमान गरिएको छ । नेपालमा व्यावसायिक रुपमा नरिवल खेती नहुँदा भारतको कोलकातालगायत विदेशका अन्य मुलुकबाट कच्चा पदार्थ ल्याउनुपर्दा धेरै खर्चिलो हुने ढुङ्गेलको भनाइ छ । उहाँका अनुसार एक हजार ५ सय किलो कच्चा पदार्थ नेपाल ल्याइ पु¥याउँदा एक लाख ६० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । विशेषगरी असार, साउन र भदौ महिनामा झाडुको व्यापार फस्टाउने गरेको छ ।

उद्योगमा काम गर्ने मजदुरबीच पनि श्रम विभाजन गरिएको छ । कसैले तौलिने काम गर्छन त, कसैले बुन्नेमात्र गर्छन । कसैले डोरीलेमात्र बाँध्ने काम, अनि कोहि तारले झाडु बाध्ने काम गरीरहेका हुन्छन त कोहि डोरी बाट्ने काम । उनीहरुले दैनिक ज्याला समेत फरक फरक पाउने गरेका छन् । एकजना मजदुरले दैनिक ५ देखि ७ सय रुपैयाँ ज्याला पाउने गरेका छन् । तार बाँध्ने ठेक्का पाएका एकजनाले दैनिक ३ देखि ४ सय वटा झाडु बाँध्ने गर्छन । उनीहरुले प्रति झाडु २ रुपैयाँका दरले प्राप्त गर्ने गरेका छन् । यसै गरी डोरीले बाँध्ने र बुन्नेले दैनिक त्यही संख्याको हाराहारीमा काम गर्छन् । उनीहरुले एक रुपैयाँ पचास पैसा प्रति गोटा पाउने गरेको मजदुरहरुको भनाई छ ।

यहि उद्योगमा काम गरेर दक्ष बनेर धेरैले यस्तै व्यवसाय शुरु गरेका छन् । उनीहरुले समेत खुलारुपमा यहि बाट कच्चा पदार्थ खरिद गरी लैजाने र बाटेर झाडु तयार गरी बजारसम्म पुर्याउने गरेका छन् । जस्का कारण उनीहरुले समेत झाडुबाट मनग्ये र निक्कै राम्रो कमाई गरिरहेको बताईएको छ । झापा मेचीनगर —६ काँकरभिट्टाका झनकलाल दाहाल आफ्नी श्रीमतीसहित त्यही उद्योगमा काम गर्नुहुन्छ । उहाँले यस उद्योगमा काम गरेको धेरै वर्ष भयो । उहाँ तारले झाडु बान्ने काम गर्नुहुन्छ । आफ्नो काममा उहाँ सन्तुष्ट हुनुहुन्छ ।

यसैबाट आएको रकमले उहाँको घरवार चलेको छ । उहाँको उद्योगमा काम गर्ने अधिकाँश युवा छन् । चर्काे व्याजदरमा ऋण काढेर रोजगारको अवसर खोज्दै विदशे पलायन हुने थुप्रै नेपाली युवाहरुका लागि यस उद्योगमा काम गर्ने युवा प्रेरणाका स्रोत बन्न सक्छन् । हातमा सीप छ र त्यसलाई प्रयोग गर्न सके रोजगार खोज्दैं विदेश पलायन हुनुनपर्ने रहेछ भन्ने सन्देश समेत यहाँका मजदुरहरुले दिएका छन् । एकजनाले मासीक २० हजार रुपैयाँभन्दा बढी कमाई गर्ने गरेको उनीहरुको भनाई छ । ‘यो उद्योगमा जति काम गर्न सकयो त्यति धेरै पैसा छ’ एकजना मजदुरले नाम चाँहि नलेखिदिन भन्दैं भने—‘सवै काम ठेक्कामा हुन्छ जति गर्न सक्यो त्यति पैसा हुन्छ ।’ यसरी झाडु बनाएको पैसाले उनीहरुको घर खर्चमात्र चल्ने नभई केही केहीले सहकारीमा मासिक बचत पनि गर्दै आएका छन् ।

आफ्नो मेहनत र हातको सीपले तयार गरेको झाडुबाट प्राप्त रकमले धेरैलाई छोराछोरीलाई पढाउन सजिलो भएको छ । लकडाउनका कारण पैसा नभएका कारण यो काम गरिरहेको हुँदा अहिले मद्दत पुगेको मजदुरहरुको भनाई छ । यस्ता सीप भएका महिला पुरषलाई स्थानीय पालिकाबाट तालिम तथा सहयोग हुनुपर्ने उनीहरुको भनाई छ । रोजगार कार्यक्रमहरू सञ्चालन गरेर जानेकै सीपको प्रवर्द्धन र व्यवसायिकताका लागि पालिकाहरुले काम गर्नुपर्ने उनीहरुको भनाई छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।