Aamsanchar

घोडे जात्रा किन मनाइन्छ ?

Author Image
शुक्रवार, चैत १८, २०७८

काठमाडौँ वासीहरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडे जात्रा मनाउन पछाडिको एउटा कारण हो । कथा यसरी सुरु हुन्छ।।।।। परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्न कालागि अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडे जात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती रहेको छ । अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । अर्कोतर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता रहेको छ । त्यही आधारमा अघिल्लो दिन चैत्र कृष्ण औँसीमा अश्व यात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।

घोडे जात्रा उपत्यकामा हुने विशेष क्रियाकलाप

आजको विशेष दिन काठमाडौँ उपत्यकामा एउटा अद्भुत दैवी मिलन हुने गर्दछ । आउनुहोस्, हामी वेलिवस्तार लाउँदै छौ।

आजको दिन भद्रकाली, लुमडी, कंकेश्वरी र भैरवहरुको प्रतिमालाई उठाएर असन चोकमा ल्याइन्छ । वर्षमा आजको दिन मात्र यस्तो दिन हा जब यी सबै भैरव प्रतिमाहरूले एक अर्कालाई भेट्दछन् । यसर्थमा हामीले आजको दिनलाई दैविक मिलनका रूपमा व्याख्या गरेका हौँ ।

घोडे जात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडा दौडाउने गर्दछ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ । भक्तपुर को पचपन्न झ्याले दरबार परिसरमा सिङारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडे जात्रा हेर्न राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई टुँडिखेललाई डाक्ने गरिन्छ । घोडे जात्रा अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

टुँडिखेलमा सेनाले घोडे जात्रा बढाइँ गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारी बालीको बिउ रोप्ने चलन पनि कायमै छ । हाल घोडे जात्रा काठमाडौँमा मात्रै सीमित नराखेर राष्ट्रिय महत्त्व बोकेको जात्राका रूपमा मनाउने गरिएको छ । काठमाडौँ बाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडे जात्रा मनाउने गरिन्छ ।

पाटनको वालकुमारी क्षेत्रमा आजको दिन स्थानीय घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलन छ । यसरी मदिराको नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन पनि रहेको छ । सुस्तरी यस्ता चलनहरूमा कमी भने आउँदै गएको छ । स्मरण रहोस्, एकीकरण पछि पनि भक्तपुर, पाटन अनि काठमाडौँका बिच आजको दिन अर्थात् घोडे जात्रा दिन कुन सहरमा कसको घोडे जात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो, यस जात्राको रगंमा उपत्यकाका सहरहरू आज पनि आ आफ्नै ढगंमा रङ्गिने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 881

प्रतिक्रिया (०)

सम्बन्धित खबर