Aamsanchar

एन्फाले मुख्य प्रशिक्षक अल्मुताइरीलाई हटाउन औपचारिक प्रक्रिया थाल्यो

Author Image
शुक्रवार, साउन २०, २०७९

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई हटाउन औपचारिक प्रक्रिया सुरु गरेको छ । एन्फाले त्यसका लागि कतार एफए र अल्मुताइरीलाई पत्र काटेको महासचिव किरण राईले जानकारी दिए ।

“हामीले कतार फुटबल संघ र अल्मुताइरी स्वम्लाई पनि पत्र काटेका छौं,” महासचिव राईले भने । पटक पटक विवादमा आइरहने अल्मुताइरीको भविष्यलाई लिएर पछिल्लो समय नेपाली फुटबलप्रेमीले चासोका साथ हेरेका छन् । अल्मुताइरीले साउन १८ गतेमात्रै नेपाली युवा टोलीसँग चाँडो भन्दा चाँडो काम गर्न इच्छुक रहेको बताएका थिए ।

“साफ यु–२० को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भविष्यमा नेपाली फुटबलमा उत्कृष्ट प्रदर्शन गर्नसक्ने युवा प्रतिभाहरू जन्मिएका छन्,” अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेका थिए, “चाँडोभन्दा चाँडो तपाईंहरुसँग काम गर्न उत्साहित छु । अब साफ च्याम्पियनसिपका नराम्रो भावना बिर्सनुपर्छ र गल्तीबाट सिक्ने र त्यसलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।”

उनको त्यो स्ट्याटसले अल्मुताइरीले चाँडै नेपाल फर्किने संकेत गरेका छन् । तर, एन्फाले भने खेलाडी र अल्मुताइरीबीचको विवाद समाधान गर्न बनाइएको समस्या पहिचान र सिफारिस कार्यदलको सिफारिसअनुसारको व्यहोरा राखेर कतार फुटबल संघ र अल्मुताइरीलाई पत्र पठाएको जनाएको छ ।

“कार्यदलले एन्फालाई दिएको सुझावमा यस्तो भनिएको छ भनेर हामीले उहाँहरुलाई पत्र पठाएको छौं,” महासचिव राईले बाह्रखरीसँग भने । तथापि, राईले कुन मितिमा पत्र काटिएको हो भनेर खुलाएनन् । उनले भने, “म अहिले बाहिर भएका कारण ठ्याक्कै यही दिन भन्ने याद भएन ।”

समस्या पहिचान र सिफारिस कार्यदलले जेठ ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एसियन कप छनोट पछि अल्मुताइरीको विकल्प खोज्न सिफारिस गरेको थियो । एएफसी एसिया कप छनोट प्रतियोगिता अघि अल्मुताइरी र राष्ट्रिय टोलीका सिनियर खेलाडीसँग खटपट परेको थियो । उनले राष्ट्रिय टोलीका १२ खेलाडीलाई टिमबाट बाहिर राख्दै छनोट प्रतियोगिताका लागि टिम बनाएका थिए ।

यसबीचमा एन्फामा नेतृत्व परिवर्तन भइसकेको छ । जोसँग सुरुमा अल्मुताइरीको ‘टसल’ भएको थियो, उनै पंकजबिक्रम नेम्वाङ अहिले एन्फा नेतृत्वमा छन् । निर्वाचित भएपछि असार ८ गते बसेको पहिलो कार्यसमिति बैठकमा अल्मुताइरीबारे निर्णय लिन सचिवालयलाई जिम्मेवारी दिइएको थियो । एन्फालाई खेलाडी संघले पनि अल्मुताइरीको विकल्प खोज्न दबाब दिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 332

प्रतिक्रिया (०)

सम्बन्धित खबर