Aamsanchar

बर्खायाममा पनि रोङको आहालेडाँडा पोखरीमा कमिलाको डुडगुडी, मानिस काकाकुल झै प्यासी बन्नु पर्ने खतरा तर्फ  

Author Image
सोमवार, साउन २३, २०७९

बिर्तामोड । बर्खायाममा पनि रोङ गाउँपालिकाको १ र २ नम्बर वडाको सिमानामा रहेका आहालेडाँडा पोखरीमा पानी सञ्चय नहुदाँ स्थानीहरू चिन्तित बनेका छन् । विगत दुई दशक अघि सम्म वर्षमा बाह्रैमहिना पानी जम्ने पोखरीमा  केही वर्ष देखि पानी जम्मा हुन छोडेपछि त्यहाँका खोल्सामा रहेको पानीका मुहानहरू पनि सुक्दै गएका कारण स्थानीहरू चिन्तित बनेका हुन् ।

आहालेडाँडा पोखरीमा पानी सुक्नुको मुख्य एक कारण भने नजिकै रहेको स्कुलको जग्गामा स्कुलले मैदान बनाउने हुँदा त्यहाँको माटो पोखरीमा हालिएको कारण पोखरीमा पानी विलय भएको स्थानीय हरुको भनाई रहेको छ ।

सुख्खा याममा खोला, पोखरी सुक्नुलाई सामान्य ठानिन्छ तर बर्खायाममा पनि रोङको आहालेडाँडा पोखरीमा कमिलाको डुडगुडीले अचम्मित बनाएको छ । यसरी पोखरी पानी विहीन रहिरहने हो भने  सबै पानीको मुहान सुकेर एक दिन त्यहाँका मानिसहरू काकाकुल झैं प्यासी बन्नु पर्ने त होइन भनेर स्थानीय अगुवाहरू चिन्तित बन्न थालेका छन् ।

इलामको दक्षिणी भूभागमा रहेको शान्तिपुर नजिकै रहेको आहालेडाँडामा पहिले विभिन्न प्रजातिका चरा र जलचरहरूको बासस्थान हुने गरेको थियो । पाथीभरामा रहेको हाँस पोखरी र आहालेडाँडामा रहेको पोखरीमा चराहरू आवतजावत गर्ने गरेका थिए । आहालेडाँडामा पानी सुकेपछि चरा र जलचरहरूको बासस्थान पनि अन्त्य भएको छ । हाँस पोखरीलाई भने स्थानीय र सरकारले संरक्षण गरेकाले पानी रहिरहेको छ तर यस आहालेडाँडा पोखरीमा राजनीति र सरकारी स्तरबाट पोखरी संरक्षणमा उचित चासो नहुदाँ आहालेडाडाँको पोखरी पानी विहीन बन्न पुगेको स्थानीय हरुको भनाई रहेको छ ।

आहालेडाँडामा पानी सुकेपछि क्रमश वरपरका ६ वटा पानीको मुहानहरू सुकिसकेको छ । पानीको मुहान सुकेपछि स्थानीयबासीले पानीको अभावका कारण निकै कष्टपूर्ण जीवन जिउन बाध्य बनेको अवस्थालाई दृष्टिगत गरेर विगत वर्ष देखि आहालेडाँडा पोखरीलाई संरक्षण गरेर पानी अड्याउने अभियानमा स्थानयिहरु जुटेका छन् ।   स्थानीयले पोखरी जोगाउन पहल गरेपछि सरकारले पनि स्थानीयलाई साथ दिन थालेको छ । पोखरी संरक्षणको लागि प्रदेश सांसदकोषबाट १० लाख र रोङ गाउँपालिकाबाट १ लाख ५० हजार रुपैयाँ लगानी भएको स्थानीय प्रकाश खातीले बताए ।

समुद्री सतहबाट ११ सय ५० मिटर उचाइमा रहेको आहालेडाँडा चिसो ठाउँ हो । आहालेडाँडा पानीको श्रोतको लागि मात्र होइन पर्यटकीय स्थलको रुपमा पनि धेरै सम्भावना रहेको ठाउँमा पर्छ । स्थानीयको भनाई अनुसार पोखरीको डिलमा रहेको ठुलो बरको रूख करिव ५ सय वर्ष पुरानो रहेको छ । पर्यटकलाई आर्कसित पार्ने बरको रुखलाई ट्रि हाउसको रुपमा प्रयोग गर्ने हो भने उक्त ठाउँमा एडभेन्चर मनपराउने पर्यटकहरु पुग्ने र सो ठाउँको आर्थिक तथा भौतिक विकासमा टेवा पुग्ने खातीले बताए ।

बाटो, विजुली, टेलिफोन, फोरजी इन्टरनेटको सुविधा उपलब्ध रहेको आहालेडाँडामा पर्यटकको लागि खान र बस्नेको सुविधा अनि प्रचारप्रसार हुने हो भने पर्यटकको एक उत्कृष्ठ गन्तव्य बन्न सक्छ आहालेडाँडा । तर यसका लागि राजनीति स्वार्थ भन्दा माथी उठेर आफ्नो ठाउँको विकासका लागि स्थानीय नेताहरु लाग्नु पर्ने स्थानीय इच्छाराम राईको भनाई रहेको छ ।

आहाले डाँडाबाट झापा र भारत पस्चिमवंगालका विभिन्न सहर, बजारहरु सहजै निहान्न सकिन्छ ।

झापाको विर्तामोडबाट मोटरसाईकल तथा साना चारपाङग्रे सवारीबाट करिव १ घण्टा ३० मिनेटमा आहालेडाँडा पुग्न सकिन्छ । आहालेडाँडाको संरक्षण हुन सके पानीको श्रोत निस्चित हुने नै छ ।  पर्यटकको घुईचो पनि लाग्न सक्ने सम्भावना देखिएको छ । यस तर्फ स्थानीय नागरिकहरुले अलिबढी जुझारु बन्न आवस्य रहेको छ भने स्थानीय, प्रदेश सरकारको पर्याप्त योजना पर्न ढिलो हुनुहुदैन । आहालेडाँडाको संरक्षण गर्न किनै ढिलो भई सकेको छ । अब पनि उचित संरक्षण नहुने हो भने त्यस ठाउँमा पानीको हहाकर र नागरिकको भाग्य र भविश्यमाथी नै तुसारापात हुने छ । यस तर्फ सम्बन्धित पक्षको ध्यान जान सकोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 416

प्रतिक्रिया (०)