Aamsanchar

बिर्तामोडमा १०० वर्ष पुरानो नाटक प्रर्दशनी हुने

Author Image
मङ्गलवार, कार्तिक १५, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा एक सय वर्ष पुरानो नाटक ‘मालिनी’ मञ्चनको तयारी गरिएको छ ।

यही कार्तिक १८ गते देखि २४ गते सम्म बिर्तामोडको इन्द्रेणी ब्याङ्क्वेटमा मञ्चन हुने नाटकको लागि सम्पूर्ण तयारी पुरा भएको  आज आयोजित पत्रकार भेटघाट मार्फत आयोजक समितिले जानकारी दिएको हो ।

 जेनियस मिडिया द्वारा आयोजित, नाम्लो नाट्य समूहको प्रस्तुती रहने सशुल्क नाटक प्रर्दशनीबाट प्राप्त रकम क्षितिज नाट्य घर निर्माणमा सहयोग र सामुदायिक पशु चौपायाको संरक्षणको निमित्त  खर्चिने आयोजकको उदेश्य रहेको छ ।

साहित्यकार रविन्द्रनाथ टेगोरले लेखेको नाटकलाई यस अघि विभिन्न स्थानमा प्रर्दशनी गरिएको थियो । अन्तराष्ट्रिय नाटक प्रतियोगितामा दोस्रो स्थानमा पर्न सफल भएको नाटक ‘मालिनी’ कृतिलाई  बिर्तामोडमा भने सुदीप जंग कार्कीको निर्देशन रहने छ ।

बिर्तामोडको पञ्चकन्या उत्तरमा निर्माणाधीन अवस्थामा रहेको झापा नाटकघरमा हाल सम्ममा १ करोड ५० लाख रुपैयाँमा ७५ प्रतिशत निर्माणको काम भएको र अझै २५ प्रतिशत कामका लागि आर्थिक सहयोग जुटाउने अभियान अन्तरगत एक कार्यक्रम यस नाटक मञ्चन रहेको झापा नाटक घर निर्माणमा अभियन्ता माधव कल्पितले बताए । उनले भने ‘१ करोड रुपैयाँ सरकारको तर्फबाट ५० लाख रुपैयाँ एक व्यक्ति एक इँटा अभियानबाट संकलन भएको थियो ।’ नाटकघरलाई पूर्णता दिन अझै १ करोड रकम आवश्यकता रहेको उनले बताए ।

झापामा थियटर नाटकको सुरुवात गरेको क्षितिज नाट्य प्रतिष्ठानले यस अघि पर्खाल, लाटिको छोरो र वर्वरिक लाई सफलता पूर्वक प्रर्दशनी गरेको थियो । ति नाटकलाई झापाली नागरिकले धेरै रुचाएका थिए र यो नाटक ‘मालिनी’ लाई पनि दर्शकले मन पराउने अभियन्ता कल्पितको विश्वास रहेको छ ।

जेनियस मिडियाले लकडाउन को बेला सामुदायिक कुकुर लगायतका पशुहरूलाई भोकभोकै मर्न नदिन लगातार तिन महिना पशु आहारको व्यवस्थापन गरेको  मिडियाका सञ्चालक निरज पोखरेलले बताए ।  अहिले पनि सामुदायिक पशुहरू सुरक्षित छैनन् र तिनको सुरक्षाको लागि यो नाटक प्रस्तुतबाट प्राप्त रकम ति पशुहरूका लागि खर्च गरिने र झापा नाटक घरलाई पनि आर्थिक सहयोग गर्ने पोखरेलले बताए । 

प्रेम –विछोड, धार्मिक र राजनीति विषय समेटिएको नाटक मालिनीलाई एक शैक्षिक अध्ययन र सामाजिक चेतना अभिवृद्धिको रुपमा बुझ्न सकिने बताइएको छ । अझ बढी साहित्यमा रुचि राख्नेहरूका लागि नाटक मालिनी महत्वपूर्ण रहने आयोजकको दावी रहेको छ । 

७ दिनको अवधिभर दैनिक ३ देखि ४ पटक सम्म मञ्चन गरेर जम्मा २१ पटक सम्म नाटक प्रर्दशनी गरिने योजना आयोजकले बनाएको छ । नाटकका लागि करिव ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । खर्च कटाएर नाटक प्रदर्शनीबाट संकलन भएको रकमले नाटक घरमा पर्दा, लाईट लगायतका सामाग्री खरिद गर्ने उद्देश्य रहेको नाटक प्रर्दशनीका संयोजक सुजन शिवाकोटीले आमसंचारलाई बताए ।

कार्यक्रममा ताराप्रसाद भट्टराईले स्वागत गरेका थिए ।  जेनियस मिडियाका निरज पोखरेलले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए । नाटको विशेष सो कार्तिक १७ गते गरिने भएको छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 505

प्रतिक्रिया (०)

सम्बन्धित खबर