Aamsanchar

थप ४५ मेगावाट विद्युत् भारत निर्यात गर्न प्राधिकरणलाई स्वीकृति

Author Image
सोमवार, कार्तिक २८, २०७९

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले थप ४५ मेगावाट विद्युत् भारत निर्यातका लागि स्वीकृति पाएको छ। भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले थप विद्युत् निर्यातका लागि प्राधिकरणलाई स्वीकृति दिएको प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। सोलु जलविद्युत्को २३.५ मेगावाट र चिलिमे जलविद्युत्को २२.१ मेगावाट बिजुली भारत निर्यात सुरु भएको छ। सोलु जलविद्युत्को बिजुली बेच्न भारतले गत शुक्रबार स्वीकृति दिएको थियो। यी दुई आयोजना थपिएपछि प्राधिकरणले करिब ४१० मेगावाट विद्युत् भारत निर्यात गर्न सक्नेछ। निर्यात भएको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड –आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री हुँदै आएको छ। प्रतियुनिट ४ देखि साढे ५ भारतीय रुपैयाँ (६.४ देखि ८.८ नेपाली रुपैयाँ) सम्म डे–अहेड बजारमा बिक्री भइरहेको प्राधिकरणले जानकारी दिएको छ। आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक बल्कको मूल्य फरक–फरक हुने गरेको छ।

तर, अहिले करिब ३ सय मेगावाटको हाराहारीमा मात्र विद्युत् निर्यात गर्न सकिएको प्रवक्ता भट्टराईले जानकारी दिए। वर्षा सकिएसँगै विशेषत निजी प्रवद्र्धकको उत्पादन घट्न थालेकोले स्वीकृति पाए जति निर्यात गर्न नसकिने उनले बताए।

निजी प्रवद्र्धकका आयोजना नदी प्रवाहमा आधारित भएकोले हिउँदयाममा खोलामा पानीको सतह घट्नेबित्तिकै उत्पादन पनि घट्छ। भट्टराईका अनुसार खोलामा पानीको मात्रा घट्न थालेसँगै करिब २० प्रतिशतले उत्पादनमा कटौती हुन सुरु गरिसकेको छ। प्रायः पूर्वी नेपालका आयोजनाहरूको विद्युत् उत्पादन क्षमतामा ह्रास आउन थालेको छ। हाल विद्युत्को आन्तरिक उच्च माग १५६९ मेगावाट छ भने जडित क्षमता २२ मेगावाटभन्दा बढी छ।

जाडो सुरु भएसँगै उत्पादन घट्न थालेको र आन्तरिक माग बढ्न थालेकाले अहिले ३ सय मेगावाटको हाराहारीमा मात्र विद्युत् निर्यात भइरहेको प्रवक्ता भट्टराईले बताए। ‘अहिलेको अवस्थामा दिनको ७२ सय मेगावाट आवरसम्म निर्यात गर्न सक्छौं,’ उनले भने।

प्राधिकरणले गत भदौमा नै अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत् डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको थियो। ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव भारतीय प्राधिकरणमा पेस गरिएको थियो। जसमध्ये दुई आयोजनाले मात्र कात्तिकमा आएर स्वीकृति पाएका हुन्। प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव पनि गरेको थियो। गत वर्षको कात्तिकमा पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री सुरु भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
मङ्गलवार, जेठ १, २०८१