Aamsanchar

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयभित्र हाडनाता करणीका आरोपित मृत फेला

Author Image
बुधवार, जेठ १७, २०८०

विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा बुधबार बिहान हाडनाता करणीका एक जना आरोपित मृत फेला परेका छन् ।

हाडनाता करणी मुद्दा चलाउन प्रहरीले नियन्त्रणमा लिएका मोरङका ३३ वर्षीय पुरुष शौचालयभित्र मृत्यु भएको अवस्थामा भेटिएका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार शौचालयको भित्रबाट ढोका बन्द गरी चुकुलको हेन्डिलमा आफैँले लगाएको हरियो कपडा (गाउन)ले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा उनलाई मृत फेला पारिएको हो ।

प्रहरीका अनुसार बिहान ५:२० बजेतिर उनी शौचालय छिरेका थिए । उनले यसअघि पनि घाँटी रेटेर आत्महत्याको प्रयास गरेको खुलेको छ । हाडनाता करणीको आरोप लागेपछि अनुसन्धानका लागि जेठ १२ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । हाडनाता जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गर्नलाई जेठ १४ गते आइतबार विराटनगरस्थित जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याइएका बेला नेपालीले आत्महत्याको प्रयास गरेका हुन् ।

प्रहरीका अनुसार पिसाब गर्न भनेर वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा गएका नेपाली निक्कै बेरसम्म बाहिर नआएपछि हेर्दा त्यहाँभित्रै अचेत अवस्थामा लडिरहेको भेटिएका थिए ।
घाँटीको अगाडिको भाग रेटेर घाइते भएको अवस्थामा शौचालयभित्र भेटिएका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि कोसी अस्पताल लगिएको थियो । रगताम्य अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको र उनीविरुद्ध म्याद थप नभएको डीएसपी दाहालले बताए । वकिल कार्यालयको शौचालयभित्र रहेका फलामको टुक्राले आँफैले घाँटी रेटेको हुनसक्ने अनुमान गरिएको छ ।

बोल्न नसक्ने अवस्थाका उनलाई थप उपचारका लागि कोसीबाट नोबेल अस्पताल लगियो । आकस्मिक कक्षमा उपचाररत थिए । जिम्मा जमानीमा लिएर आफन्तले उपचार गराइरहेका उनै नेपाली अस्पतालको शौचालयभित्र पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उपचार पश्चात निको हुँदै गएका उनले आफूलाई मर्न मन लागेकाले नबचाउन पटक–पटक आग्रह गर्ने गरेको आफन्तले बताएका छन् ।

‘खोजेका बखत उपस्थित गराउने गरी प्रहरीबाट जिम्मा जमानीमा लिएर हामीले उपचारका लागि लगेका थियौं । तर, उहाँले बाँच्न मन छैन भन्दै आफूलाई मर्न दिन पटक–पटक भनिरहनु भएको थियो,’ एक आफन्तले भने, ‘उपचार ठीक हुँदै थियो । हामीले सम्झाईबुझाई गर्ने काम गरिरहेका थियौँ ।’ तर, शौचालयभित्र गाउनको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको उनले बताए । डीएसपी दाहालका अनुसार आफूले गरेको घटना बाहिरिएपछि हिनतावोध भएर उनले आत्महत्या गरेको हुनसक्ने बताए । ‘शौचालयको ढोका भित्रबाट लगाएर झुन्डिएको अवस्थामा मृत फेला पारिएको छ । प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिँदैन,’ उनले भने, ‘शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाउने तयारी भइरहेको छ । थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर