Aamsanchar

बंगलादेश निर्वाचन: प्रधानमन्त्री शेख हसिनाको दललाई बहुमत हासिल

Author Image
सोमवार, पौष २३, २०८०

काठमाडौं । बंगलादेशमा हिजो सम्पन्न संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगले बहुमत हासिल गरेको छ । जारी मत गणनामा प्रधानमन्त्री हसिनाको दलले १ सय ५६ सिटमा जितिसकेको छ । ४८ सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

विजयी स्वतन्त्र उम्मेदवारहरु पनि अवामी लिग निकटस्थ रहेको बताइएको छ । जातीय पार्टीले आठ सिट जितेको छ । कुल ३ सय सिटका लागि भएको निर्वाचनमा २ सय १३ सिटको नतिजा सार्वजनिक भएको छ । ८६ सिटको नतिजा आउन बाँकी छ ।

निर्वाचनमा करिव ४० प्रतिशत मत खसेको बताइएको छ । आज साँझसम्ममा निर्वाचनको पूरै नतिजा आइसक्ने बंगलादेशका समाचार संस्थाहरुले जनाएका छन् ।

निर्वाचनमा आफ्नो दलले बहुमत हासिल गरेसँगै प्रधानमन्त्री शेख हसिनाले संयम रहन सबैलाई आग्रह गर्नुभएको छ । विजय जुलुस ननिकाल्न उहाँले आफ्नो दलका नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

कुनैपनि उम्मेदवारको पक्ष(विपक्षमा नलागी शान्त रहन उहाँले आग्रह गर्नुभएको हो । यसैबीच बंगलादेशको विपक्षी दल बीएनपीले निर्वाचन जनताप्रति धोका भएको आरोप लगाएको छ ।

हजारौं विपक्षी नेता कार्यकर्तालाई जेलमा राखेर गरिएको निर्वाचनले लोकतन्त्रको उपहास गरेको विपक्षी मोर्चाको ठहर छ । विपक्षीहरुको बहिष्कारसँगै भएको निर्वाचनले देशमा थप राजनीतिक द्वन्द्व बढ्ने विपक्षीहरुले चेतावनी दिएका छन् । तर राजनीतिक स्थिरता र राष्ट्रिय समृद्धिमा शेख हसिनाका कार्यकाल सुखद रहँदै आएको समर्थकहरुको दाबी छ ।

को हुन त शेख हसिना ?

शेख हसिना दक्षिण एसियाली राष्ट्र बङ्गलादेशकी वर्तमान प्रधानमन्त्री हुन्। उनको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन पूर्वी बङ्गालको टुङ्गिपाडा भन्ने ठाउँमा भएको थियो। उनी बङ्गलादेशकी १०औँ प्रधानमन्त्री हुन् र उनले यो पद सन् २००९ जनवरीबाट सम्हाल्दै आएकी छन्। साथै उनी बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने व्यक्ति समेत हुन्।

शेख हसिना बङ्गलादेशका प्रथम राष्ट्रिय शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको राजनितिज्ञ जीवन करिब ४ दशक भन्दा लामो रहेको छ। उनी सन् १९८६ देखि १९९० र सन् १९९१ देखि १९९५ सम्म प्रतिपक्ष दलको नेत्रिको रूपमा रहेकी थिइन् भने उनी सन् १९९६ देखि सन् २००१ सम्म बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा कार्यरत थिइन् भने उनले सन् १९८१ देखि अवामी लिगको सभापतिको दायित्व पालन गरेकी थिइन्।

सन् २०१६ मा फोर्ब्स पत्रिकाद्वारा सार्वजनिक एक प्रतिवेदनका अनुसार विश्वका १०० क्षमताशाली महिलाहरूको सूचीमा हसिना शीर्ष २६ मा पर्न सफल भएकी थिइन् भने सोही पत्रिकाद्वारा सन् २०१७ मा सार्वजनिक सोही शीर्षकको सूचीमा उनी ३०औँ स्थानमा रहेकी थिइन्। यस बाहेक शेख हसिनालाई अमेरिका स्थित पत्रिकाले विदेश नीतिको आधारमा विश्वका शीर्ष १०० विश्वव्यापी विचारकहरूको सूचीमा सामेल गरिएको थियो। उनी विश्व महिला नेत्री परिषद्की एक सदस्य पनि हुन् जो वर्तमान र पूर्व महिला अध्यक्षहरू तथा प्रधानमन्त्रीहरूको एक अन्तर्राष्ट्रिय सञ्जाल हो।

प्रधानमन्त्रीको रूपमा उनको कार्यकालमा धेरै घोटालाहरू र अधिनायकवादी घटनाहरू घटेका थिए। पद्मा सेतु काण्ड, हलमार्क स‍नालि बेङ्क काण्ड, शेयर बजार काण्ड, रानम प्लाज ध्वस र बङ्गलादेश सडक सुरक्षा आन्दोलन आदि उनको शासनकालका केही प्रख्यात काण्डहरू रहेका थिए। उनको शासनकालमा उनले आर्थिक विकासको लागि प्रशंसित प्राप्त गरेकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर