चारपाने । बिर्तामोडको बेलडाँगी खेल मैदानमा फागुन १४ गतेदेखि प्रथम चारपाने युनाइटेड भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदैछ। नेपाल र भारतका गरी १४ टोलीको सहभागिता रहने यस प्रतियोगिताको तयारी पूरा भएको आयोजक चारपाने युनाइटेड भेट्रान फुटबल क्लबका अध्यक्ष माधव खरेलले जानकारी गराए ।


प्रतियोगितामा आयोजक क्लबका दुई टिमसहित तुर्केनी काँकरभिट्टा, धुलाबारी, चन्द्रगढी, उर्लाबारी, दमक लखनपुर, झिलझिले, दुधे, कनकाई, पूर्वेली, मदनपुर अर्जुनधारा, कटहरडाँगी र बाह्रदशी भेट्रान क्लब सहभागी हुने क्लवका सचिव मोहन कोईरालाले बताए ।

फागुन १७ गते सम्पन्न हुने फाइनल खेलका विजेताले नगद ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछन् भने उपविजेता टिमले नगद ३१ हजार १३१ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। क्लबका सचिव मोहन कोइरालाका अनुसार, हरेक खेलमा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले १ हजार १०० रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन्। उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ता प्रत्येकले २ हजार रुपैयाँ र ट्रफी हात पार्ने व्यवस्था गरिएको छ।


खेलप्रेमीहरूबीच चासोको विषय बनेको यो प्रतियोगिता वीरअमरसिंह माविको खेल मैदानमा आयोजना हुँदैछ। प्रतियोगिता सफल बनाउन स्थानीय खेलाडी तथा संघसंस्थाहरू जुटेका छन्। चारपाने युनाइटेड भेट्रानका केशव दाहाल, रमेश उप्रेती, रामकृष्ण दाहाल, गणेश लिम्बु लगायतले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको बताए।


प्रतियोगिताको औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संगौलाले नगरले हरेक वर्ष खेलकुद विकासका लागि ८० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गर्दै आएको जानकारी दिए। सामाजिक संघसंस्था तथा व्यक्तिगत तहबाट समेत गरी वार्षिक करिब २ करोड रुपैयाँ खेल क्षेत्रमा लगानी हुने गरेको उल्लेख गर्दै उनले यस्ता प्रतियोगिताले नगरको पहिचान थप मजबुत बनाउनुका साथै खेलाडीहरूलाई हौसला प्रदान गर्ने बताए।
त्यस्तै, वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष रातो किताबमा चारपाने युनाइटेड भेट्रान फुटबल क्लबका लागि १ लाख रुपैयाँ बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न आयोजक क्लबले सम्पूर्ण तयारी तीव्र पारिएको जनाएको छ।